विराटनगर । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको समेत नाम मुछिएको घटनाले विपक्षी दलहरुलाई उद्वेलित तुल्याएको छ । प्रतिनिधिसभामा लगातार अवरोध छ ।
यहीबेला गृहमन्त्रीले पत्रकार सम्मेलनमार्फत आफूमाथि षड्यन्त्र भइरहेको बताएका छन् ।
संघीय राजधानीमा यो विषय पेचिलो बन्दै गर्दा कोशी प्रदेशको प्रदेशसभा बैठकमा पनि यो विषयले प्रवेश पाएको छ । बुधबारको प्रदेशसभा बैठकमा यो विषयले रमाइलो शैलीमा प्रवेश पायो ।
बुधबारको बैठक सुरु हुनासाथ सभामुख अम्बरबहादुर विष्टले शून्य समयम्ँ बोल्नका लागि माओवादी सांसद गोम्बु शेर्पालाई अनुमति दिए । उनले ‘अहिले नेपाल सरकारको चालामाला देखेपछि एउटा गीत याद आएको’ भन्दै गीत गाए–
‘भिजिट भिसामा हजुर, भिजिट भिसामा,
भुइँ छाडेर उड्ने हजुर, पश्चिम दिशामा’
महसञ्चारले निर्माण गरेको चलचित्र ‘दालभात तरकारी’ का लागि निशान भट्टराई र अञ्जु पन्तले गाएको यो गीत प्रदेशसभामा गाएरै सुनाउँदै उनले गृहमन्त्रीविरुद्ध निशाना साँधेका थिए ।
नेकपा माओवादी केन्द्रबाट सोलुखुम्बु प्रदेश निर्वाचन क्षेत्र १ का प्रदेश सांसद शेर्पाले यो गीत गाएर गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरेका थिए ।
उनले लय हालेर गीत गाउँदा संसद् बैठकमा उपस्थित अरू सांसद भने मुसुमुसु हाँसेका थिए ।
‘विदेश जाने बेरोजगार युवाबाट रकम असुल्ने लुट धन्दाको मुख्य संरक्षक गृहमन्त्री देखिएको छ,’ उनले भने, ‘बद्नाम पात्रहरू गृहमन्त्रीको सचिवालयमा देखिएको छ । यसको संरक्षण गृहमन्त्रीबाटै भएको छ ।’ यो घटनाको अनुसन्धानमा सहयोग गर्न पनि गृहमन्त्रीले राजीनामा दिनुपर्ने उनको भनाइ थियो ।
गृहमन्त्रीको राजीनामा माग्ने सांसद शेर्पाको मागको कांग्रेस सांसद प्रदीपकुमार सुनुवारले भने प्रतिवाद गरेका थिए ।
केन्द्र सरकारसँग जोडिएको भिजिट भिसा प्रकरण प्रदेश सभामा उठाउँदा संघीय संसद्को अपमान हुने दाबी गर्दै उनले मिडियाले लेखेकै भरमा कसैलाई दोषी करार गर्न नमिल्ने उल्लेख गरे ।
‘संसद्को आफ्नो मर्यादा हुन्छ । विषयलाई अतिरञ्जित गर्ने काम भएको छ,’ उनले भने, ‘अनुसन्धान र कारबाहीको एउटा प्रक्रिया हुन्छ । तर, यहाँ कुनै मिडियाले लेख्यो भनेर अतिरञ्जित गरिएको छ । यो गलत छ ।’
View : 58
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved