विराटनगर । नेपाल खानेपानी संस्थान विराटनगरले महानगरको वडा नम्बर ६ क्षेत्रमा खानेपानी फिल्टर ट्रिटमेन्ट प्लान्ट राख्ने तयारी गरेपछि विवाद उत्पन्न भएको छ । स्थानीयबासीले ट्रिटमेन्ट प्लान्ट नराख्न भन्दै अवरोध गरेका छन् ।
स्थानीयको मागमा वडा कार्यालयले पनि सहमति जनाएपछि प्लान्ट राख्न समस्या भएको छ ।
विराटनगरस्थित खानेपानी संस्थानका प्रमुख सन्तोषकुमार रौनियारका अनुसार उपभोक्ताले उपभोग गर्दै आएको खानेपानीमा शुद्धता बढाउन प्लान्ट राख्न लागिएको हो ।
प्लान्ट स्थापनापछि वडा नम्बर–६ स्थित सरोचिया क्षेत्रमा खानेपानीको गुणस्तरमा बृद्धि हुने रौनियारले जानकारी दिए । सो क्षेत्रमा खानेपानीमा ठूलो मात्रामा आइरन रहेको उनको भनाइ छ ।
सोही समस्या निराकरणका लागि संस्थानले आइरन फिल्टर प्लान्ट ट्याङक राख्न लागेको उनको भनाइ छ ।
विराटनगर महानगरपालिकाको बोर्ड बैठकले जग्गा उपलब्ध गराएसँगै संस्थानले प्लान्ट स्थापना कार्यलाई अघि बढाएको हो । तर, हाल सो स्थानमा प्लान्ट राख्ने कि नराख्ने विषयलाई लिएर विवाद उत्पन्न भएको छ ।
संस्थानका प्रमुख रौनियारले वडा कार्यालयबाट केही समस्या आएको भएपनि छलफल गरी अघि बढ्ने जानकारी दिए । उनले भने, ‘हामीलाई महानगरको बोर्ड बैठकले निर्धारित जमिनमा प्लान्ट स्थापनाका लागि स्थान दिएको छ ।
हामी सोही स्थानमा प्लान्ट राख्न चाहन्छौ । तर प्राविधिक कारणले केही समस्या भने उत्पन्न भइरहेको छ ।
छलफल र संवादबाट हामी निक्र्यौलमा पुग्नेछौ ।’ संस्थानका अनुसार ट्यांकबाट समान ३० लिटर प्रतिसेकेण्डको तीव्रतामा खानेपानी शुद्ध हुनेछ ।
वडाका अध्यक्ष अक्षय सहनीले सर्वसाधारणले प्लान्ट राख्न नदिने जनाएपछि आफूले काम रोक्न भनेको बताए । उनले भने, ‘आज प्लान्टका आवश्यक संरचना राख्ने कुरा भएको थियो । हामीले नराख्न भनेका छौं । सरकारी जग्गा भए पनि सो जग्गामा मुद्दा परेको छ ।’
विराटनगर महानगरपालिकाले गत वर्ष असोज २२ गतेकै नगर कार्यपालिकाको बैठकले खानेपानी फिल्टर ट्रिटमेन्ट प्लान्ट निर्माणका लागि संस्थानलाई सहमति दिएको हो ।
संस्थानका अनुसार महानगरले दिएको सहमति अनुसार प्लान्ट रहने स्थान करिब १५ धुर जग्गा उपभोग गर्न सकिने जनाएको छ । सो क्षेत्रमा खानेपानीका करिब ७ सय घरधुरी उपभोक्ता छन् ।
स्थानीय जनार्दन निरौलाले खानेपानीमा धमिलोपन, लेदोसँगै कपडा धुँदासमेत पहेंलो हुने गरेको जानकारी दिए ।
निरौलाले खानेपानीको संरचना निर्माणले उपभोक्तामा सहजता आउने बताए । यसमा विवाद गर्न नहुने उनको भनाइ छ ।
View : 158
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved