Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
शिक्षा

विचार :

शिक्षक दरबन्दी मिलान कठिन कार्य

डीपी ढुंगेल
११ वैशाख २०८३, शुक्रवार

कुनै विद्यालयमा शिक्षक धेरै छन् तर विद्यार्थी संख्या भने कम छन् अनि फेरि अर्को विद्यालयमा विद्यार्थी धेरै छन् तर शिक्षक कम छन् । त्यस्तो अवस्थामा असन्तुलन हटाएर गुणस्तरीय शिक्षाका लागि शिक्षक आवश्यक विद्यालयमा पठाउने कार्यलाई नै दरबन्दी मिलान भनिन्छ । दरबन्दी मिलान शैक्षिक सत्रको सुरुमै गर्नुपर्ने हुन्छ ।

शैक्षिक सत्रको अन्तिम तथा बीचमा दरबन्दी मिलान अवैज्ञानिक र अव्यवहारिक देखिन्छ । प्रत्येक शैक्षिक सत्रको सुरुमै दरबन्दी मिलान आवश्यक छ । विद्यार्थी संख्या र विषयगत शिक्षक नै मुख्य विषय हो दरबन्दी मिलानको । दरबन्दी मिलानको विषय नगरपालिका, गाउँपालिका तथा शिक्षा विकास र समन्वय इकाइले निर्णय गर्नेछ ।

दरबन्दी मिलानको विषयलाई हेर्दा द्वन्द्वकाल २०५८–६० तिर तीव्र रुपमा दरबन्दी मिलान गरिएको थियो । द्वन्द्वकालमा धेरै शिक्षकहरू पहाडतिरबाट दरबन्दीसहित काजमा सहर केन्द्रित विद्यालयहरूमा कार्यरत थिए । पछि केही दरबन्दीहरू काज फिर्ता भए भने केही दरबन्दीहरू काज फिर्ता भएनन् । 

द्वन्द्वकालमै शिक्षक अभाव देखिएकाले नयाँ दरबन्दी सिर्जना गर्न नसकेकाले राहत अनुदान कोटा नामले देशैभरि सार्वजनिक विद्यालयहरूमा राहत दरबन्दी वितरण गरिएको थियो । लगभग ४० हजार राहत अनुदान कोटाका शिक्षकहरू दुई दशकभन्दा बढी समयदेखि सार्वजनिक विद्यालयहरूमा कार्यरत छन् । 

दरबन्दी मिलान कठिन विषय हो । वास्तविक दरबन्दी मिलान गर्ने हो भने शिक्षकहरु असन्तुष्ट हुँदैनन् तर आफन्तवाद नातावाद राजनीतिको प्रभावमा दरबन्दी मिलान गर्दै सहर र सुविधा सम्पन्न ठाउँहरूमा आफन्त नातागोता का शिक्षकहरुलाई सरुवा गर्ने कार्य भने बेठिक हो । हाल पनि दुर्गम तथा ग्रामीण स्थानमा रहेका विद्यालयहरूमा दरबन्दी अभाव कायमै छन् । स्थानीय तहले समेत दरबन्दी मिलान कार्य गर्न सकिरहेको छैन ।

नेपालको एकमात्र भरतपुर महानगरपालिकाले दरबन्दी मिलानको कार्यलाई सफलताका साथ सम्पन्न गरिसकेको छ । सार्वजनिक शिक्षाको गुणस्तर सुधारका लागि दरबन्दी मिलान अपरिहार्य हो । तर शिक्षकहरूमा देखिएको असन्तुष्टि राजनीतिको दबाब र शिक्षकलाई जानकारी नदिई दरबन्दी मिलान विगतमा गरेकाले अदालतमा समेत मुद्दा परेको थियो । मुद्दाको फैसला शिक्षकको पक्षमा गरेका थुप्रै प्रमाणहरु छन् ।

विद्यालय क्षेत्र सुधार योजना २०६८ को मुख्य विषय नै दरबन्दी मिलान रहेको सर्वविदितै छ । संघीयता लागू भइसकेपछि स्थानीय तहलाई माध्यमिक तहसम्मको शिक्षाको जिम्मेवारी दिएकाले अबका दिनमा दरबन्दी मिलान स्थानीय तहले नै गर्नेछ । तर स्थानीय तहमा बढी राजनीति हुने भएकाले राजनीतिको प्रभाव दरबन्दी मिलानमा पक्कै देखिएका छन् । 

दरबन्दी मिलान कार्य जहिले पनि पटक–पटक हुने काम भने होइन । शैक्षिक सत्रको सुरुमै दरबन्दी मिलान आवश्यक हो । स्थानीय सरकार ऐन २०७४ अनुसार केन्द्रीय सरकारभन्दा स्थानीय सरकार माध्यमिक तहसम्मको शिक्षामा बढी बलियो र जिम्मेवार हो ।

देशैभरि सबै स्थानीय तहमा शिक्षकको समान वितरण र गुणस्तरीय शिक्षा सुनिश्चित गर्न दरबन्दी मिलान जरुरी छ । तर दरबन्दी मिलान गर्दा सार्वजनिक रुपमा गरिनुपर्ने विषय हो । गोप्य रुपमा दरबन्दी मिलान अप्रजातान्त्रिक विधि हो ।

राजनीतिको प्रभावमा प्रशासनिक आन्तरिक निर्णय सार्वजनिक नगरिकन दरबन्दी मिलान गरिएको विषयलाई शिक्षकहरुले असन्तुष्टि जनाउँदछन् ।

केही वर्षअघि विराटनगर महानगरपालिकाले दरबन्दी मिलानको नाममा एकजना माध्यमिक तह अंग्रेजी विषयका शिक्षकलाई सरुवा गरेको थियो । सरुवा भएका ती शिक्षक असन्तुष्ट हुँदै अदालतसम्म जाँदा अदालतले उनै शिक्षकको पक्षमा फैसला गरेको थियो । यसैगरी कटहरी गाउँपालिकाले पनि केही वर्ष अगाडि प्राथमिक तहका तीनजना शिक्षकलाई दरबन्दी मिलानको नाममा सरुवा गरेको र पछि अदालतबाट सरुवा रद्द गरिदिएको थियो ।

२०५४ सालमा एसएलसी परीक्षामा सहभागी विद्यालयलाई कम्तिमा चारवटा मावि तह दरबन्दी हुनुपर्ने निर्णय तथा मापदण्ड बनाइयो तर सो कार्यान्वयन भने भएन । अझै पनि प्राथमिक तहमा शिक्षक दरबन्दी आवश्यक भन्दा बढी छन् भने निम्न माध्यमिक तह र माध्यमिक तहमा विषयगत शिक्षक दरबन्दी कम देखिएका छन् ।

वास्तवमा नेपालभरि कति शिक्षक दरबन्दी छन् भन्ने तथ्य पाउन निकै कठिन भएको छ । १८ प्रकारका शिक्षक दरबन्दी छन् । स्थायी शिक्षक करिब १ लाख १० हजार छन् भने ४० हजार राहत अनुदान कोटाका शिक्षकहरु कार्यरत छन् । त्यसैगरी साविक उच्च मावि शिक्षकको संख्या भने ६ हजारको हाराहारीमा छन् । 

संघीय अनुदान कोटा, प्रदेश अनुदान कोटा, स्थानीय तह अनुदान कोटा लगायतमा शिक्षक कार्यरत अवस्थामा छन् । बालविकास शिक्षकको सङ्ख्या लगभग ३५ हजारको हाराहारीमा देखिन्छन् ।
दरबन्दी मिलानको नाममा आयोग तथा समितिहरू पटक–पटक बने तर कार्यान्वयन भने फितलो पक्ष देखिएको छ । राजनीतिको प्रभाव व्यवस्थापकीय प्रभावले गर्दा शिक्षक सरुवा प्रक्रियामा समस्या देखिएको सर्वविदितै छ । विषयगत शिक्षक कमी पूर्णरूपमा समाधान भएको छैन ।  

समस्या समाधान गर्न सरोकारवाला सबैसित छलफल पश्चात शिक्षक दरबन्दी मिलान गर्नु उपयुक्त हुन्छ । दरबन्दी मिलानको नाममा शिक्षकलाई दुःख र तनाव दिने कार्य नगरौं । हचुवाको भरमा दरबन्दी मिलान गरियो भने शिक्षकहरु असन्तुष्ट हुन्छन् र उनीहरु अदालतको ढोका ढकढक्याउन पुग्नेछन् ।

मै हुँ राज्य, मै हुँ शक्ति, मै हुँ सर्वेसर्वाको भावना अबको दिनमा त्याग गर्नु आवश्यक देखिएको छ । हिजोको दिनमा दरबन्दी मिलानको नाममा विसंगति र विकृतिहरूलाई बिर्सिंदै नयाँ सरकार आएकाले नयाँ परिवेशमा वैज्ञानिक र व्यावहारिक तथा खुलमखुला दरबन्दी मिलानको कार्य गरियो भने शिक्षकहरुले विरोध गर्ने छैनन् ।

राष्ट्रियस्तरमा डाक्टर महाश्रम शर्माको संयोजकमा दरबन्दी मिलान समिति २०७७ सालमा बनेको थियो । समितिको प्रतिवेदन सरकारलाई बुझाइयो । तर सरकारले प्रतिवेदन कार्यान्वयन भने गर्न सकेन । 

स्थानीय पालिकाहरूले प्रत्येक विद्यालयको विवरण इमिसमार्फत अध्ययन गरेर राजनीतिको प्रभावबाट मुक्त भएर दरबन्दी मिलान शैक्षिक सत्रको सुरुमै शिक्षा शाखाले गर्नुपर्ने विषय हो । दरबन्दी मिलान विषयलाई स्थानीय तहहरूले ‘ल–ल  हुन्छ–हुन्छ’ भन्ने कथनलाई अबका दिनमा त्याग गर्नुपर्ने हुन्छ । 

दरबन्दी मिलानकै सन्दर्भमा विगतमा जे जति कमी कमजोरीहरु भए आगामी दिनमा सच्याएर वास्तविक तरबन्दी मिलान गरिएमा गुणस्तरीय शिक्षा वृद्धिका लागि कोसेढुङ्गा सावित हुनेछ ।

View : 224

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved