विराटनगर–४ वडा कार्यालय अगाडि ट्याक्टरले झार्दै गरेको माटोको सीसीटीभी रेकर्डबाट लिइएको तस्वीर ।
विराटनगर । कृषि प्रयोजनका लागि नेपालमा दर्ता भएका धेरै जसो ट्याक्टरले ढुवानीको काम गर्छन् । माटो, बालुवा र भरौट डाला भन्दा माथि बोकेर कालोपत्रे सडकमा गुड्ने ट्याक्टरका कारण जनस्वास्थ्यमा गम्भीर असर पर्नुका साथै दुर्घटनाको जोखिम बढेको छ ।
ट्याक्टरबाट झर्ने माटोले सडकयात्रीलाई सबैभन्दा बढी असर गर्ने गरेको छ । ट्याक्टर गुडेको अवस्थामा हिंड्दै गरेका मानिस धुलोबाट जोगिन रोकिनु पर्ने अवस्था छ ।
कोशी प्रदेशको राजधानी विराटनगरमा पनि ट्याक्टरले माटो उडाएर यात्रीलाई पार्ने समस्या कम छैन । विराटनगर–४ स्थित वडा समितिको कार्यालय अगाडि बुधबार ट्याक्टरबाट झरेको माटो सीसीटीभी क्यामेराले रेकर्ड गर्यो । वडा कार्यालय अगाडि नै ५० मिटरसम्म कालोपत्रे नदेखिने गरी माटो झरेकाले बढी चासो लिइयो ।
इक्राहीदेखि कञ्चनबारीसम्मको सडक मंगलबार यता माटोमय भयो । ट्याक्टरका लाइन अटुट थिए । सिंघिया खोला किनारको माटो निकालेर विराटनगरका बासिन्दाका घरसम्म ल्याउने ट्याक्टर चालकले धेरै मेहनत गरेको देखिन्छ ।
धुलो माटो लोड गरिएपछि कानुनले निर्देशन गरे अनुसार त्यसलाई छोप्ने वा माटो खाँदेर झर्न नसक्ने बनाउन उनीहरूलाई भ्याई नभ्याई हुने गरेको छ । ‘बढी पटक बोक्दा बढी भत्ता पाइने भएकाले हतार हुन्छ, साहूको पनि छिटो लैजान दवाब हुन्छ’ एक चालकले भने ।
वडा कार्यालयले सम्बन्धित निकायले यस खाले समस्या नरोके माटो बोकेर सफा सडकमा गुड्ने ट्याक्टरलाई प्रतिबन्ध लगाउने तयारी गरेको छ । सामान्यतया सडकमा गुड्ने यातायातका साधनलाई निगरानी र कारवाही गर्दै आएको ट्राफिक प्रहरी यस्ता समस्यामा निगरानी गर्नुपर्ने पहिलो दायित्व हो । तर, सडकमा माटो झार्दै गुड्ने ट्याक्टरलाई ट्राफिक प्रहरीले बिना बिल मासिक एक हजार रूपैंयाँका दरले कारवाही बापत जरिवाना गराउँदै आएको जानकारहरूले बताएका छन् ।
यस्तो अबैध राजश्व सुरक्षा निकायका कार्यालयहरूमै पुग्ने गरेको बताइन्छ । ‘महिनाको एक हजारका दरले एक ट्याक्टरबाट पैसा लिएपछि ट्राफिक प्रहरीले गुड्न दिन्छ’ विराटनगर–४ का वडा सदस्य रञ्जीत गिरीले भने– ‘ट्राफिकको एउटा पोष्टले ट्याक्टरबाट मात्रै मासिक डेढ लाख रूपैंयाँसम्म उठाउँछ ।’ यसरी सवारी साधनको निगरानी र कारवाही गर्न बसेको ट्राफिक प्रहरीले विराटनगर प्रवेश गर्ने सबै नाकाबाट राजश्वमा दाखिला नहुने गरी रकम लिने गरेको जनप्रतिनिधि दाबी गर्छन् ।
विराटनगर–४ का वडाध्यक्ष जितन थापा सडक धुलाम्मे हुनुमा ट्याक्टरबाट खस्ने माटो पहिलो समस्या भएको बताउँछन् । वडा कार्यालयले सूचना निकालेरै सुरक्षा निकायको पनि ध्यान आकर्षित गर्ने गरी सचेत गराउनु आवश्वक भएको उनले बताए ।
घाम झुल्किएपछि बेलुकासम्म ट्याक्टरले सडकमा गर्ने फोहरको समस्या विराटनगरमा नियमित छ । प्रदेश सरकारका प्रमुख, मुख्यमन्त्री, मन्त्रीहरूले दैनिक गाडीमा हिड्ने सडकमा भरेको माटो नियन्त्रणमा चासो लिएका छैनन् ।
मोरङ ट्राफिकका प्रहरी निरीक्षक सुमन न्यौपाने भनें दिनमा नभएर राति अरूले नदेख्ने गरी ट्याक्टरले माटो खसाल्दै ढुवानी गर्ने गरेको बताउँछन् । उनले राति आँखा छलेर भने पनि दिनको उज्यालोमा माटो खसाल्दै ट्याक्टर गुड्ने गरेको भेटिने गरेको छ ।
माटो खसालेर सडक फोहर पारेको पाइए रोड पखाल्न लगाइने गरिएको उनले जानकारी दिए । उनका अनुसार कोशी अस्पताल छेउको सडकमा खसालीएको माटो पखाल्न लगाइएको थियो ।
कोशी प्रदेश ट्राफिक प्रहरीका सूचना अधिकारी तथा नायव उपरीक्षक मोहनबिक्रम दाहाल कुनै पनि साधनले सडकमा माटो खसालेर हिड्न नपाउंने कानुन रहेको बताउँछन् । फेला पर्ने बित्तिकै कारवाही गर्ने गरिएको उनले जानकारी दिए ।
दाहालका अनुसार कृषि प्रयोजनका लागि दर्ता हुने भएकाले ट्याक्टरका चालकले लिखित नभई प्रयोगात्मक परीक्षा मात्रै दिएर चालक अनुमतिपत्र लिने गरेकाले यस्ता समस्या देखिने गरेको छ ।
स्थानीय सरकारहरू क्षमतावान भएका ठाउँमा भने यस्ता समस्या केही कम देखिने गरेको बताइन्छ । कोशी प्रदेश प्रहरी प्रमुख तथा नायव महानिरीक्षक चन्द्रकुवेर खापुङको भने ट्याक्टर वा ट्रिपरले माटो डाला भन्दा माथि बोकेको अवस्थामा निगरानी गर्ने दायित्व प्रहरीको मात्रै नभएर अन्य निकाय वा नागरिकको पनि हुनु पर्ने बताउँछन् । यस्ता समस्या बढेर गए स्थानीय सरकारले निर्णय गरेर निषेध गर्नुपर्ने र प्रहरीले कार्यान्वयन गराउने उनले बताए ।
View : 206
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved