विराटनगर । मोरङको ग्रामथान गाउँपालिकाका अध्यक्ष नमोनारायण माझीको गैरकानुनी र विवादित क्रियाकलापको श्रृंखला रोकिएको छैन ।
पछिल्लो पटक उनी वडाध्यक्षहरूमाथि गालीगलौचमा मात्रै उत्रिएनन्, आफू निकटका व्यक्ति परिचालन गरेर ज्यान मार्ने धम्कीसमेत दिएका छन् ।
उपनिर्वाचनमा माओवादी केन्द्रबाट ग्रामथानको अध्यक्षमा निर्वाचित भएका माझीको विवादित श्रृंखला नरोकिंदा उनको असक्षमता पुष्टि हुँदै गएको टीकाटिप्पणी हुन थालेको छ ।
गाउँपालिका अध्यक्ष माझीले केहिदिन अघि मात्रै वडा नम्बर २ का वडाध्यक्ष यादव खतिवडालाई निकट व्यक्ति परिचालन गरेर ज्यान मार्ने धम्की दिएका छन् । उनले वडाध्यक्ष खतिवडालाई सार्वजनिक स्थलमै अपशब्द प्रयोग गरी गालीगलौच नै गरेका छन् ।
अध्यक्ष माझीले वडा कार्यालयमा निकासा हुनुपर्ने रकम रोकिदिएको भन्दै वडाध्यक्ष खतिवडाले आवाज उठाउँदा उनीमाथि माझी निकट रहेका गयानन्द माझीलाई प्रयोग गरेर ज्यान मार्ने धम्की दिएका हुन् ।
वडा कार्यालयमा आउनु पर्ने रकमको निकासा रोकिएपछि एमाले र कांग्रेसबाट निर्वाचित भएका वडाध्यक्षहरूले गाउँपालिकामा गत वैशाख ३० मा पालिकाको लेखा शाखामा जानकारी मागेका थिए ।
त्यसपछि वडाध्यक्षहरू फर्कने क्रममा अध्यक्ष माझीको निकट रहेका गयानन्द माझीले ज्यान मार्ने धम्की दिएको वडाध्यक्ष खतिवडाले बताए ।
उनले आफ्नै वडाको पिडारबनी स्वास्थ्य चौकीमा भएको कार्यक्रममा समेत अध्यक्ष माझीसहितको समुहले आफुमाथि गालीगलौच गरेको बताए ।
अध्यक्ष माझीले राजनीतिक प्रतिसोध साँधेर कानुन विपरित वडा कार्यालयमा जानुपर्ने रकमको निकासा रोकेको वडाध्यक्ष खतिवडाले बताए ।
वडाध्यक्ष खतिवडाका अनुसार अध्यक्ष माझीले ‘मलाई मुद्दा लगाउने तथा लेखा शाखाको काम अवरुद्ध गर्ने, गाउँपालिकामा भएका सम्पूर्ण गतिविधिको प्रमुख योजनाकार हो भनि गलत आरोप लगाई म ठेगान लगाइदिन्छु’ भन्दै धम्की दिएका थिए । माझी सँगै रहेका अन्य व्यक्तिहरूले आफूमाथि हातपातको समेत प्रयास गरेको वडाध्यक्ष खतिवडाले बताए ।
वडाध्यक्ष खतिवडालाई अध्यक्ष माझी संलग्न भएर ज्यान मार्ने धम्की दिएको भन्दै नेकपा एमाले मोरङले उनीमाथि कारवाहीको माग गरेको छ ।
एमाले मोरङका अध्यक्ष अजम्बर राईले विज्ञप्तिमार्फत वडाध्यक्ष खतिवडामाथि ज्यान मार्ने दिएको घटनामा पालिका अध्यक्षकै संलग्नता देखिएका कारण पदीय मर्यादाको समेत दुरुपयोग गरेको भत्र्सना गरेका छन् । घटनाप्रति एमालेले आपत्ति जनाएको अध्यक्ष राईले उल्लेख गरेका छन् ।
‘यस प्रकारको अमर्यादित र अपमानजनक कार्यप्रति हाम्रो पार्टी गम्भीर आपत्ति जनाउँदछ, यस प्रकारका अराजक गतिविधि र वडाध्यक्ष खतिवडालाई गाली वेइज्जती र धाकधम्की समेत दिएको हुनाले उहाँको जिउधनको सुरक्षा गर्दै अध्यक्ष नमोनारायण माझीलाई कानूनी कारवाही गर्न सम्वन्धित निकायसँग जोडदार माग गर्दछौं’ विज्ञप्तिमा भनिएको छ ।
एमालेले अध्यक्ष माझीले राजनीतिक आचरणविपरीत गैरकानुनी गतिविधिमा संलग्न भएको र जनप्रतिनिधिमाथि मानमर्दन र आक्रमण गर्नु लोकतान्त्रिक मूल्यविपरीत रहेको जनाएको छ ।
‘गाउँपालिकाका अध्यक्ष स्वयंले धम्की दिनु, गैरकानुनी समूह परिचालन गर्नु र राज्यसञ्चालनको पदको दुरुपयोग गर्नु गम्भीर आपराधिक क्रियाकलाप हो’ एमालेले भनेको छ ।
पालिका अध्यक्षमा निर्वाचित भए लगत्तै माझीले अशोभनीय र अराजक गतिविधी प्रस्तुत गरिरहेको एमालेले जनाएको छ ।
माझीले आफू सरह निर्वाचित भएका अन्य जनप्रतिनिधीहरूलाई होच्याउने र अमर्यादित व्यवहार गर्ने गरेको एमालेले आरोप लगाएको छ ।
अध्यक्ष माझी निरन्तर नयाँ–नयाँ विवाद झिकेर बखेडा निम्त्याइरहने पात्र बनेका छन् ।
उनले कार्यकाल सुरु भएलगत्तै आफ्नै पालिकाभित्रका नहरमा गैरकानुनी रुपमा हुने गरेको माटो उत्खनन् रोक्न खोज्ने तत्कालिक प्रमुख प्रशासकीय अधिकृतलाई स्पष्टीकरण सोध्नेदेखि कानुनविपरित कार्यपालिका बैठक बोलाउने, राजनीतिक पूर्वाग्रह राखेर अन्य जनप्रतिनिधिले प्रयोग गर्ने सवारी साधन खोस्ने र उपाध्यक्ष हुँदाहुँदै वडाध्यक्षलाई कार्यवाहक जिम्मेवारी तोक्ने जस्ता कानुन विपरितका गतिविधि गरेर आलोचित बन्दै आएका छन् ।
View : 94
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved