विराटनगर । पछिल्लो डेढ वर्ष यता प्रहरीमा बैंकिङ कसुरका मुद्दाको चाप बर्सेनि बढिरहेको छ । तीन वर्षअघि पुग नपुग बैंकिङ कसुरका एक सय मुद्दा हुने गरेकोमा अहिले एक हजार पुग्न थालेको छ ।
बैंकिङ कसुरको मुद्दा अघिल्लो आर्थिक वर्ष २०७९/८० भन्दा यता बढ्ने अवस्था देखिएको छ । चालु आर्थिक वर्ष २०८०/०८१ को सात महिनामा बैंकिङ कसुरका मुद्दा चार सय तीन पुगेको छ । अघिल्लो वर्ष आठ सय १२ जनाले बैंकिङ कसुरसम्बन्धी मुद्दा दर्ता गरेका थिए ।
कोशी प्रदेश प्रहरी कार्यालयको तथ्यांकअनुसार पछिल्लो ७ महिना(साउन–माघ)सम्मको अवधिमा बैंकिङ कसुर सम्बन्धी ४ सय ३ मुद्दा दर्ता भएका छन् । अघिल्लो आर्थिक वर्षमा ८ सय १२ मुद्दा दर्ता भएका थिए ।
आर्थिक वर्ष २०७८/०७९ मा एक वर्षको अवधिमा बैंकिङ कसुरसम्बन्धी २ सय ८२ मुद्दा दर्ता भएका थिए । त्यस्तै आर्थिक वर्ष २०७७/०७८ मा ८० वटा मात्रै मुद्दा दर्ता भएका थिए । पछिल्लो तीन वर्ष यता भने बैंकिङ कसुरसम्बन्धी मुद्दा ह्वात्तै बढेको छ ।
पछिल्लो आर्थिक मन्दीले चेक बाउन्सका घटनासँगै बैंकिङ कसुरका मुद्दा बढेको प्रहरी अधिकारी बताउँछन् । प्रहरी अधिकारीका अनुसार बैंकिङ कसुरका मुद्दामध्ये ९५ प्रतिशत चेक बाउन्ससम्बन्धी छन् ।
बैंकिङ कसुरका करिब ७० प्रतिशत भन्दा माथि जाहेरी झापा, मोरङ र सुनसरी जिल्ला प्रहरीमा दर्ता भएका छन् ।
कोशी प्रदेश प्रहरीका कार्यालयका अनुसार गत आर्थिक वर्षमा ८ सय १२ बैंकिङ कसुरका मुद्दा दर्ता भएका छन् । आर्थिक मन्दीको असरले पनि पछिल्लो समय चेक बाउन्सका मुद्दा बढेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी नायव उपरीक्षक सुनिल दाहाल बताउँछन् ।
‘३० लाख नतिरेको भनेर हालै एक ठेकेदारलाई पक्राउ गरेका थियौं,’ उनी भन्छन्, ‘उनले सरकारसँग १ करोड भुक्तानी लिनुपर्ने रहेछ, अहिले देखिएको भुक्तानी समस्याको ‘चेन इफेक्ट’ रहेको छ । कतिपय चेक बाउन्सका मुद्दा आर्थिक अपराधसँग जोडिने गरेका छन् ।’
विदेश पठाइदिने, जग्गा मिलाइदिने लगायत नाममा ठगी गरेका घटनासँग सम्बन्धित चेक बाउन्सका मुद्दा पनि पर्ने गरेका छन् । आर्थिक अपराधका घटनासँग जोडिएका घटनाको उजुरीलाई हेर्दा वैदेशिक रोजगार ठगीसँगै चेक बाउन्स बढेको प्रनाउ दाहाल बताउँछन् ।
कतिपयलाई चेक बाउन्ससम्बन्धी मुद्दामा हुने सजाय थाहा नपाएर थोरै पैसा लिएर खाली चेक दिने र त्यसमा वास्तविकभन्दा धेरै भरेर पनि प्रहरीमा पुग्ने गर्छन् ।
आर्थिक कारोबार अनिवार्य रूपमा बैंकिङ माध्यमबाट हुने प्रावधान लागू नहुँदा यस्ता घटनामा अनुसन्धान गर्न कठिन भएको प्रहरी अधिकारी बताउँछन् । कतिपयले त चेक चोरी गरेर आफै त्यसमा पैसा लेखेरसमेत आउने गरेको प्रनाउ दाहाल सुनाउँछन् ।
सामान तथा सेवाको भुक्तानी नदिने, व्यावसायिक साझेदारीका नाममा धोका दिनेजस्ता घटनासँग सम्बन्धित चेक बाउन्सका मुद्दा पनि प्रहरीमा छन् । फिल्म बनाउन पैसा हाल्न लगाएर निर्माताले नै ठगी गरी खातामा पैसा नभई दिएका चेकसम्बन्धी घटना समेत सुनसरी प्रहरीमा दर्ता भएका छन् ।
विगतमा चेक बाउन्सका घटनामा सिधै सर्वसाधारण चेक अनादर मुद्दा दायर लिएर अदालत जान्थे । अदालत जाँदा अदालतको शुल्क तथा कानुन व्यवसायीमा खर्च हुने भएकाले अहिले सिधै प्रहरीमा जाने प्रवृत्ति बढेको छ । अर्कोतर्फ आरोपीलाई थुनामा राखेर पैसा तिराउने प्रवृत्ति पनि छ ।
घटनाको अनुसन्धानमा संलग्न प्रहरी अधिकारी भन्छन्, ‘आर्थिक अपराधसँग जोडिएको बैंकिङ कसुरमा उजुरी परेका मध्ये ९० प्रतिशत चेक बाउन्स सम्बन्धी हुने गरेका छन् ।’ देशमा आर्थिक मन्दी बढ्नु, ठगीका घटना बढ्नु र चेकको महत्वका बारेमा जानकारी नहुनुले यस्ता मुद्दा बढेका छन् ।
बैंकिङ कसुरका मुद्दा उच्च दरमा बढेपछि हालै सरकारले जिल्ला अदालतबाटै यस्ता मुद्दा छिन्ने अधिकार दिएको छ । यसअघि उच्च अदालतले मात्र त्यस्तो मुद्दा हेर्ने गरेको थियो । उच्चमा मुद्दाको अत्यधिक चाप भएपछि जिल्ला अदालतलाई अधिकार क्षेत्र तोकिएको हो ।
चेक बाउन्सका अपराध धेरैजसो लेनदेनसँग सम्बन्धित भए पनि प्रहरीको ठूलो जनशक्ति यसमा खर्च हुने गरेको छ । यस्ता मुद्दामा प्रहरी, सरकारी वकिल तथा अदालतमा मिलापत्र गर्न मिल्ने प्रावधान पनि छ ।
आर्थिक अपराधसँग जोडिएको बैंकिङ कसुरसँगै अन्य घटना पनि पछिल्लो समय बढोत्तरी भएको प्रहरीको तथ्यांकले देखाउँछ । चालु आर्थिक वर्षको पछिल्लो ६ महिनामा मात्र मुद्दा सम्बन्धी कसुरका ५ सय ४ वटा आर्थिक अपराधसँग जोडिएका उजुरी प्रहरीमा दर्ता भएका छन् ।
जसमा सबै भन्दा बढी बैंकिङ कसुरका ४ सय ४, ठगी सम्बन्धी ४, आपराधिक विश्वासघात (एक्सटर्सन) सम्बन्धी कसुरका ९७ र अनुचित लेनदेन(मिटर ब्याजी) ९ वटा उजुरी प्रहरीमा दर्ता भएका छन् ।
आर्थिक वर्ष २०७९/०८० मा आर्थिक अपराध सम्बन्धी कुल ९ सय ९१ उजुरी प्रहरीमा दर्ता भएका थिए । जसमा बैंकिङ कसुरका सबै भन्दा बढी ८ सय १२, मुद्रा सम्बन्धी कसुरमा ८, ठगी, आपराधिक विश्वासघात (एक्सटर्सन) सम्बन्धी कसुरका १६९, सहकारी ऐन सम्बन्धी कसुरका २ छन् ।
View : 205
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved