Biratnagar, Morang, Nepal
१९ असार २०८१, बुधवार
+977 21 450305, 515728, 578305
समाज

मलेशियामा थुनामा रहेका चौधरीको रिहाइको माग

उद्घोष सम्वाददाता
१६ असार २०८१, आइतवार

विराटनगर । वैदेशिक रोजगारीको क्रममा मलेशियाको कारागारमा बन्दी बनाइएका विराटनगरका युवा अशोककुमार चौधरीको रिहाइका लागि पहल गरिदिन परिवारले गुहार मागेको  छ ।

विराटनगर–१३ का चौधरी २०७९ साल साउन १९ गते सेक्युरिटी गार्डको रोजगारीका निम्ति मलेशिया गएका थिए । नेपाल प्रहरीका पूर्व असईसमेत रहेका चौधरीलाई भिसा नवीकरण नगरी अवैधरूपमा काम गरेको आरोपमा त्यहाँको अध्यागमन विभागले २०८१ बैशाख ५ गते पक्राउ गरेको चौधरीकी श्रीमती चन्द्रकुमारी राईले जानकारी दिइन् ।

आइतबार पत्रकार सम्मेलन गर्दै राईले इटहरीको अञ्जली म्यानपावर कम्पनीमार्फत आफ्नो श्रीमान् दुई वर्षका लागि रोजगारीमा गए पनि काम गर्दागर्दैको अवस्थामा त्यहाँको प्रहरीले कोठामा छापा मारेर पक्राउ गरेको बताइन् ।

आफ्नो श्रीमान् अञ्जली म्यानपावरमार्फत १ लाख ८० हजार खर्चिएर मलेशिया जाने प्रक्रिया अघि बढाए पनि सो म्यानपावरले काठमाडौंको म्यानपावर गुडविलमार्फत मलेशिया पठाएको हाल आएर आफूले थाहा पाएको उनको भनाइ छ ।

गुडबिलले मलेशियाको ई–क्लास कम्पनीमा आफ्नो श्रीमानलाई पठाएकोमा सो कम्पनीले पासपोर्ट भिसा सबै नियन्त्रणमा राखेर न्यून पारिश्रमिकमा काममा खटाएको तथा वर्ष दिनमा नवीकरण गर्नुपर्ने भिसा नवीकरण नगरेका कारण श्रीमान् पक्राउ परेको बताइन् ।

श्रीमान् अनाहकमा पक्राउ परेको कुरा आफूले सम्बन्धित कम्पनीहरूका साथै जिल्ला प्रहरी कार्यालय सुनसरी, श्रम तथा रोजगार विभाग र सम्बद्ध देशमा रहेको नेपालको दुतावासमा समेत जानकारी गराए पनि कसैले श्रीमान्को रिहाईका निम्ति पहल नगरेको उनले गुनासो गरिन् । 

आफ्ना श्रीमान्सँगै पक्राउ परेका अन्य ३ जना छुटि सके पनि आफ्ना श्रीमानले जरिवाना तिर्न नसकेर जेलमैं बस्नुपरेको राईले बताइन् । आफ्ना श्रीमानको कुनै गल्ती नभई रोजगारमा पठाउने म्यानपावरहरूको बदमासी रहेकाले सो बिषयको छानबिन गरी दोषिलाई कारवाही गर्नुका साथै श्रीमान्को रिहाईका निम्ति पहल गरिदिन उनले आग्रह गरेकी छन् ।

उनलाई बैदेशिक रोजगारमा पठाउने अञ्जली म्यानपावर कम्पनी इटहरीका शाखा व्यवस्थापक गणेश ओलीले रोजगार दिने ई–क्लास कम्पनीले समयमा भिसा नवीकरण नगरेका कारण कारण चौधरी पक्राउ परेको जानकारी दिए ।

उनले आफूहरूले पहल गरेपछि रोजगारदाता कम्पनीले जरिवाना वापतको ९ हजार ६ सय रिङ्गिट (करिव २ लाख ७२ हजार रूपैयाँ) तिरिसकेको भए पनि यो मुद्दा त्यहाँको अदालती प्रक्रियामा रहेकाले रिहाइमा केही समय लाग्ने दाबी गरे ।

आफूहरूले कम्पनीले जरिवाना तिरेको रसिदसमेत पीडित राईलाई उपलब्ध गराएको कम्पनीले जनाएको छ । उता पीडित राईले भने जरिवाना तिरेको भनेर आफूलाई उपलब्ध गराइएको रसिद नक्कली रहेको दाबी गरेकी छन् ।

View : 54

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved