Biratnagar, Morang, Nepal
२० कार्तिक २०८१, मङ्गलवार
+977 21 450305, 515728, 578305
स्वास्थ्य

निसन्तानपनको पीडामा कृत्रिम गर्भधारण

कृत्रिम गर्भधारण प्रविधिको विकास सन् १९७८ मा पहिलो सफल टेष्ट ट्युब बेबी जन्मिएपछि सुरू भयो आईभीएफ विधि सबैभन्दा प्रसिद्ध प्रविधि हो र यसले निसन्तानपनबाट पीडित धेरै जोडीहरूलाई सन्तान प्राप्त गर्ने मौका दिएको छ । तर, प्राकृतिक रूपमा सन्तान जन्माउन नसकेका सबै दम्पतीहरूमा आईभीएफ सफल हुन्छ भन्ने ग्यारेन्टी नभएको डा. दाहाल बताउँछिन् ।
जुनु भट्टराई
१९ कार्तिक २०८१, सोमवार

Advertisement

सुनसरीका रिता र सुशान्त (नाम परिवर्तन गरिएको) दम्पति बिवाहबन्धनमा बाँधिएको १२ बर्ष भइसक्यो । तर अहिलेसम्म उनिहरूको सन्तान भएको छ्रैन  । बिवाह बन्धनमा बाँधिएको केही बर्षसम्म उनीहरू आफ्नो करियरमा केन्द्रित थिए । जव उनीहरूमा सन्तानको आवश्यकता महसुुस गरे, त्यसको लामो समयसम्म पनि सन्तानको चाहना पूरा हुन सकेन ।

सन्तानको चाहना पूरा नभएपछि उनीहरूले बिभिन्न ठाउँमा स्त्री तथा प्रसूति रोग बिशेषज्ञसँग परामर्श लिए । रिताको स्वास्थ्य कारणले गर्भधारण गर्न नसक्ने देखियो । चिकित्सककै सल्लाह अनुसार उनीहरूले पटकपट कृत्रिम गर्भधारण ‘आईभीएफ’ प्रविधिको प्रयोग पनि गरे तर सफल भएन ।

बिवाह गरेको बर्षौसम्म बच्चा नभएपछि रितालाई मनिसहरूसँग भेटघाट गर्न नै मन लाग्न छाड्यो, कारण सन्तान नभएको बारे समाजले उनीमाथि हरेकदिन तेस्र्याउने प्रश्न थियो । कतिपयले त थाहा नपाउने तरिकाबाट ‘बाँझी’ भनेर मानसिक यातनासमेत दिन थाले । यता सुशान्तलाई पनि परिवार र आफन्तले दोस्रो बिहेको लागि बारम्बार दवाव दिइरहे । जसका कारण रिता मात्र होइन सुशान्तले पनि परिवार र समाजबाट एक प्रकारको नमिठो दवाबसहितको मानसिक हिंसा भोग्नुपरेको बताउँछन् ।

सन्तान प्राप्तीको लागि उपचारका क्रममा बिभिन्न ठाउँमा नधाएका होइनन् । चिकित्सकहरूले अव उनीहरूको अन्तिम बिकल्पको रूपमा ‘सरोगेसी’ सेवा मात्र हुनसक्ने बताए । तर नेपालमा कानुनी रूपमा यो मान्य नभएकाले उनीहरूको आशा केवल आशामै सीमित रह्यो ।

‘हामी सन्तान चाहन्छौं, तर हामीले गर्ने सबै प्रयास असफल भइदिदा अव सरोगेसी नै हाम्रँे अन्तिम बिकल्प देखियो’, सुशान्त भन्छन्, ‘तर सरोगेसीलाई नेपालको कानुनले मान्यता दिएको भए, हामीजस्ता निसन्तानको पीडा भएका दाम्पतीलाई ठुलो राहत मिल्ने थियो, यसरी कहिलेसम्म मानसिक यातना भोग्दै बाच्नुपर्ने होला ?’

रिता र सुशान्त जस्तै रमेश र उन्नती (नाम परिवर्तन गरिएको) पनि यस्तै समस्या सामना गरिहनु परेको अर्का दम्पती हुन् । विवाह गरेकै वर्ष रमेश बैदेशिक रोजगारीका लागि कतार पुगे । ३ बर्ष बैदेशिक रोजगारीमा रहेकै कारण सन्तानको चाहना भए पनि पूरा हुन सकेन । जव उनी नेपाल फर्किएर सन्तानको योजना बनाए, ३ बर्षसम्म पनि उनीहरूको चाहना पूरा हुन सकेन ।

रमेश जागिरे भएका कारण उनको अधिकांशं समय बाहिरै बित्ने गर्दछ । तर उन्नतीले भने निसन्तानपनको बारेमा मानिसहरूबाट दिनदिनै केही केही सुन्नुपरेको नमिठो अनुभव रमेशसँग छ । उनी केही भन्दिनन्, तर म महसुस गर्छु, रमेश भन्छन्, ‘३ पटकसम्म आईभीएफ पद्धति पनि अपनाइयो, सफल भएन, पलपलमा बाँझी भनेर हेप्ने, सन्तान छैनन् कस्को लागि काम गर्छौ भनेर दिनरात पीडा बल्झाइदिरहने गर्नाले उनी मानसिक रूपमा निकै कमजोर भएकी छन् ।’

रमेश दम्पती तथा रिता दम्पती दुई निसन्तानपनको समस्याले पिल्सिरहेका दुई उदाहरणीय पात्र मात्र हुन् । पछिल्लो समयमा नेपाली समाजमा निसन्तानको समस्या निकै बढ्दै गएको बिशेषज्ञहरू बताउँछन् ।

निसन्तानपन भनेको एक जोडीले गर्भधारणको प्रयास गर्दा पनि १२ महिनासम्म सफलतापूर्वक गर्भधारण गर्न नसक्नु हो । यसमा महिला र पुरूष दुवैमा समस्या हुन सक्छ । महिलामा अण्डाणु नबन्नु, पाठेघरको समस्या, हर्मोन सम्बन्धी असन्तुलन आदि समस्याका कारण निसन्तानपनको समस्या देखिन्छ भने पुरूषकहरूमा  वीर्यको गुणस्तरमा समस्या, शुक्राणुको कमी, यौनसम्बन्धी समस्याका कारण सो समस्या देखिन सक्छ । तर पछिल्लो समयमा स्वास्थ्य सम्बन्धी प्रगति भए तापनि विश्वभर धेरै जोडीहरूले निसन्तानपनको समस्या भोगिरहेका छन ्। आधुनिक जीवनशैली, ढिलो विवाह, शारीरिक र मानसिक तनाव, र वातावरणीय प्रदूषण यसका मानिसहरूको मानसिक स्वास्थ्य र पारीवारिक जीवनमा गहिरो प्रभाव पारिरहेको सम्बन्धित बिज्ञहरूको धारणा छ ।

निसन्तानपन भनेको प्राकृतिक रूपमा गर्भधारण गर्न नसक्नु हो । चिकित्सा विज्ञानको अनुसन्धानहरूले देखाए अनुसार विश्वव्यापी रूपमा लगभग १०–१५ प्रतिशत दाम्पतीहरू कुनै न कुनै रूपमा यो समस्याबाट ग्रसित छन् । नेपालमा पनि यो समस्या सामान्य हुँदै गएको विराट नर्सिड होमकी स्त्री तथा प्रसूती रोग बिशेषज्ञ तथा आईभीएफ बिशेषज्ञ डा. प्रेरणा दाहाल बताउँछिन्  । पछिल्लो समयमा विभिन्न कारणहरूले गर्दा, जस्तै शारीरिक समस्या, हर्मोनको असन्तुलन वा अन्य स्वास्थ्यसम्बन्धी चुनौतीहरूका कारण धेरै दम्पतीहरू गर्भधारण गर्न असमर्थ देखिएको समेत उनी बताउँछिन् ।

प्राकृतिक तरिकाले सन्तान प्राप्त गर्न नसकेमा विभिन्न उपचार विधिहरूको प्रयोगमा आइसकेको छ । इन भिट्रो फर्टिलाइजेशन (आईभीएफ) एक प्रमुख प्रजनन उपचार हो, जसले धेरै जोडीहरूलाई सन्तान प्राप्तिमा सहयोग पु¥याउँछ । कृत्रिम गर्भधारण प्रविधि भनेको प्राकृतिक गर्भधारण गर्न नसक्ने जोडीहरूको लागि वैज्ञानिक प्रविधिहरूको प्रयोग गरेर गर्भधारणमा सहयोग पु¥याउने प्रक्रिया हो । यसमा प्रमुखत  इन्ट्रा युटेरिन इनसेमिनेसन जुन पुरूषको शुक्राणुलाई महिलाको पाठेघरमा प्रत्यक्ष रूपमा राखिन्छ, इन विट्रो फर्टिलाइजेशन महिलाको अण्डाणु र पुरूषको शुक्राणुलाई शरीरबाहिर मिलाएर भ्रुण तयार गरिन्छ र पाठेघरमा राखिन्छ ।

कृत्रिम गर्भधारण प्रविधिको विकास सन् १९७८ मा पहिलो सफल टेष्ट ट्युब बेबी जन्मिएपछि सुरू भयो आईभीएफ विधि सबैभन्दा प्रसिद्ध प्रविधि हो र यसले निसन्तानपनबाट पीडित धेरै जोडीहरूलाई सन्तान प्राप्त गर्ने मौका दिएको छ ।
तर, प्राकृतिक रूपमा सन्तान जन्माउन नसकेका सबै दम्पतीहरूमा आईभीएफ सफल हुन्छ भन्ने ग्यारेन्टी नभएको डा. दाहाल बताउँछिन् ।

आईभीएफको सफलता दर ठ्याक्कै यति प्रतिशत छ भन्ने भन्दा पनि धेरै कुरा जस्तै महिला र पुरूषको उमेर, स्वास्थ्य अवस्था, प्रयोग गरिएको उपचार पद्धति, र क्लिनिकको अनुभवमा निर्भर गर्ने उनको धारणा छ । सामान्यतया, आईभीएफको सफलता दर दम्पतीको उमेर, अस्पताल र महिला र पुरूषको प्रजनन स्वास्थ्य, हर्मोनको सन्तुलन, अण्डकोषको गुणस्तर र जीवनशैलीजस्ता कुराले पनि प्रभाव पार्न सक्ने डा.दाहालको भनाई छ ।

निसन्तानपनको अवस्था कस्तो छ ?

नेपालमा निसन्तानपन एक गम्भीर स्वास्थ्य समस्या बन्दै गएको छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का अनुसार, यो विश्वव्यापी समस्या हो, जसले करिब १५ प्रतिशत  दम्पतीलाई प्रभावित गर्दछ । नेपालमा यो संख्या १० प्रतिशतदेखि १५ प्रतिशतको बीचमा रहेको अनुमान गरिएको छ ।

स्त्रीरोग विशेषज्ञ डा. दाहालका अनुसार, महिलामा प्रजनन् अंगसँग सम्बन्धित समस्याहरू, महिनावारीको  अनियमितता, हर्मोनको असन्तुलन, अण्ड उत्पादनमा कमी वा अण्डाशयसम्बन्धी रोगहरू प्रमुख कारण हुन्, साथै, पुरूषहरूमा शुक्राणु उत्पादनमा समस्या, शुक्राणुको गति र गुणस्तरमा कमी पनि बाँझोपनको कारण हुन सक्छ ।

निसन्तानपनको उपचारका विविध तरिकामध्ये सरोगेसी सेवा पछिल्लो समय महत्वपूर्ण विकल्पको रूपमा अघि आएको छ । सरोगेसी एक यस्तो प्रक्रिया हो जहाँ अर्को महिला (सरोगेट आमा) निसन्तानपनको समस्या भएका दम्पतीको बच्चालाई गर्भमा धारण गर्छिन् र बच्चा जन्माएपछि बच्चालाई तिनै दम्पतीलाई सुम्पिन्छिन्। यो विधि विशेष गरी ती दम्पतीका लागि उपयोगी छ, जसले गर्भधारण गर्न नसक्ने शारीरिक अवस्था वा चिकित्सकीय समस्याको सामना गरिरहेका हुन्छन् ।

सरोगेसी सेवा अन्तराष्ट्रिय देशहरूमा कानुनी मान्यता प्राप्त गरी प्रयोगमा आइसकेका छन् । तर नेपालमा भने यसले कानुनी मान्यता नपाएको कारण लामो समयदेखि  सन्तानको चाहना बोकेर बसेका दम्पतीहरूले उक्त सेवा प्रयोग गर्न सकेका छैनन् ।

सरोगेसी : निसन्तानपनको चुनौतीमा सन्तान प्राप्तिको एक उपाय

सरोगेसी भनेको अर्को महिलाले कुनै दम्पतीको लागि गर्भधारण गरी सन्तान जन्माइदिने प्रक्रिया हो । यसमा सरोगेट आमा (गर्भ वहन गर्ने महिला) ले बच्चाको जन्म दिन्छिन्, तर बच्चाको कानूनी र जैविक अभिभावक भने ती दम्पती नै हुन्छन् । यो प्रक्रिया प्रायः निसन्तानपनाको समस्या भएका जोडीहरूका लागि उपयोगी हुन्छ, विशेष गरी जब महिलाको गर्भधारण गर्ने क्षमतामा कठिनाई हुन्छ वा गर्भधारण गर्दा ठूलो जोखिम हुन्छ ।

ती महिला जसको प्रजनन प्रणालीमा समस्या जस्तै गर्भाशयको समस्याहरू, अण्डाशयको कमजोरी वा असामान्यताहरूले महिलाले गर्भधारण गर्न नसक्न सक्छिन् साथै पुरूषहरूमा शुक्राणु उत्पादनको समस्या देखिएमा, शुक्राणुको संख्या कम हुनु, तिनीहरूको गति वा गुणस्तर कमजोर हुनुु जस्ता कारणले निम्त्याएको बाँझोपनको समस्याले गर्दा निसन्तान दम्पतीहरू वैकल्पिक उपाय खोज्न चाहन्छन उनीहरूका लागि सरोगेसी एक बरदानको रूपमा रहेको बिज्ञहरू बताउँछन् ।

गर्भधारणमा शारीरिक समस्या भएका महिला, प्रजनन् समस्यामा पुरूष या स्त्री दम्पती, दम्पतीलाई बच्चा जन्माउने प्राकृतिक प्रक्रियामा कठिनाइ भएको खण्डमा, समलिंगी दम्पती, एकल पुरूष या महिलाहरूको लागि सरोगेसी सेवा बरदान जस्तै बन्ने सरोकारवालाहरू बताउँछन् ।

के भन्छन् सरोकारवालाहरू ?

संविधानले महिलाको यौन तथा प्रजनन् अधिकार सुनिश्चित गरेसँगै चर्किएको अर्को विषय हो– सरोगेसी सेवा कानुनीरूपले मान्य हुने वा नहुने ? एकातिर संविधान प्रदत्त  महिलाको प्रजनन स्वास्थ्यको हकलाई कार्यान्वयन गराउन अधिकारकर्मीहरू आवाज उठाइरहेका छन् भने अर्कोतिर नेपाल सरकार यौन तथा प्रजनन स्वास्थ्यमा निसन्तानपनको उपचारका लागि नीति नियम तथा प्रभावकारी कार्यक्रमहरूको ब्यवस्था गर्न सकेको छैन ।

कोशी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयकी सचिव डा. राधिका थपलियाले समुदाय स्तरमा निसन्तानपनको समस्याहरू बढ्दै गएको प्रति नेपाल सरकार पनि संवेदनशील रहेको बताउँछिन् । उनले निसन्तानपनको समस्या सम्बोधनका लागि स्थानीयतहमा रहेका स्वास्थ्य संस्थाहरूमा नै निसन्तानपन सम्बन्धी परामर्शको व्यवस्था गर्ने तथा तथा प्रादेशिक अस्पतालबाट यसको उपचारको शुरूवात गर्न कर्मचारीहरूको क्षमता अभिबृद्धिको तयारी भइरहेको जानकारी दिइन् ।

उनी भन्छिन्, ‘नेपालमा सरोगेसीको कानुनी र नैतिक पक्ष अझै स्पष्ट छैन, सरोगेसी निसन्तानपन समस्याको समाधानको राम्रो बिकल्प त हुन्छ, तर यसका लागि  कानुनी तथा नैतिक पक्षमा ध्यानदिनु अत्यावश्यक छ ।’

नेपालमा निसन्तानपनको समस्या स्वास्थ्य र सामाजिक दुवै दृष्टिले चुनौतीपूर्ण रहेको बताउँछिन्, कोशी प्रदेशकी उपसभामुख र्सिजना दनुवार ।

सरोगेसी सेवा निसन्तानपनको सावाधानका लागि प्रभावकारी माध्यम देखिए पनि कानुनी र नैतिक व्यवस्थाका लागि थप बहस र नीति निर्माण आवश्यक रहेको उनको भनाइ छ ।

निसन्तानपनले थुप्रै दाम्पतिहरूलाई गहिरो भावनात्मक पीडामा बसेका दम्पतिहरूलाई सरोगेसीले नयाँ आशा दिने नेपाल परिवार नियोजन संघ कोशी प्रदेशकी निर्देशक डा रितु चौधरी बताउँछिन् । तर यस प्रक्रियालाई सुरक्षित, पारदर्शी, र मानवीय बनाउनका लागि स्पष्ट कानुनी संरचनाको आवश्यकता अनिवार्य रहेको उनकोे धारणा छ ।

यता महेन्द्र मोरड क्याम्पस, समाजशास्त्र बिभागका प्रमुख तथा समाजशास्त्री डा.चन्द्र उपाध्याय तिम्सिना निसन्तानपन व्यक्तिगत मात्र नभएर सामाजिक रूपमा प्रभाव पार्ने रूपमा ठूलो समस्याको रूपमा देखिएको बताउँछन् ।

‘नेपालको ग्रामीण क्षेत्रमा अझै पनि महिलाहरूमाथि मात्र यो समस्या थोपर्ने गलत मानसिकता छ,’ उनी भन्छन्, ‘धेरै महिलाहरूले निसन्तानपनको कारणले घरेलु हिंसा र सामाजिक अपमान सहनु परेको अवस्थामा सरोगेसी प्रविधि  प्रजनन समस्याबाट पीडित जोडीहरूका लागि धेरै नै सकारात्मक समाधान हो । तर यो सेवाले कानुनी र नैतिक चुनौती पनि उत्पन्न गरेको छ ।’

सरोगेसी एक महत्वपूर्ण चिकित्सा विधि हो । आजको युगमा, सरोगेसी प्रजनन उपचारमा महत्वपूर्ण विकल्प बनेको छ, जसले बच्चा जन्माउन असमर्थ दम्पतीहरूलाई सन्तान प्राप्तिको अवसर दिएको छ ।

यद्यपि, यसको कानूनी, नैतिक, र सामाजिक पक्षमा गहिरो बहस र विचार आवश्यक रहेको सरोकारवालाहरूको भनाई छ । यसबारे स्पष्ट कानूनी ढाँचाहरू, सरोगेट आमाको अधिकारको संरक्षण र प्रक्रियामा सामेल सबै व्यक्तिहरूको सम्मान सुनिश्चित गर्नु अत्यन्त महत्वपूर्ण छ ।

सरोगेसीले लाखौं दाम्पति एकल महिला या पुरूष, सामलिड्गी जोडीको  जीवनमा खुशी ल्याउन सक्छ, तर सरोगेट महिलाको आफ्नो शरिर माथिको अधिकार बिपरित अर्थात महिलाको सुसूचित स्वनिर्णय बिपरित यसको प्रयोग भएमा यसले गम्भीर सामाजिक र नैतिक समस्या निम्त्याउन सक्छ । 

यस्तो हुन नदिनका लागि कानुनी ब्यबस्था अपरिहार्य देिखन्छ । सरोगेसीको सही व्यवस्थापनले दाम्पतिहरूलाई सन्तान जन्माउने अवसर दिनुका साथै सरोगेट आमा र भु्रण तथा बच्चाका् रक्षाको ग्यारेन्टी पनि दिन्छ, जसले गर्दा समाजमा यो प्रक्रिया सकारात्मक रूपमा अंगाल्न सकिन्छ । सरकार र सम्बद्ध निकायले सरोगेसीलाई व्यवस्थित गर्न र सबै पक्षहरूको हितको रक्षा गर्ने कानुनी ढाँचा निर्माणमा ध्यान दिन जरूरी छ ।

hellowjunu@gmail.com

View : 58

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved