Biratnagar, Morang, Nepal
२८ पुष २०८१, आइतवार
+977 21 450305, 515728, 578305
समाज

अझै हटेन रात्रीकालीन व्यवसायको अवरोध

ठूला होटल र प्रहरीलाई सजिलो हुने कार्यविधि बनाइयो, हामीलाई बेवास्ता गरियो : साना होटल व्यवसायी
उद्‌घोष सम्वाददाता
८ असोज २०८१, मङ्गलवार

विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगरको रात्रीकालीन व्यवसाय निर्वाध चलाउन दिने पूर्वसहमति विपरीत प्रहरीले पसल तथा होटलहरुमा कडाई जारी राखेको छ । प्रहरी दबाबकै कारण अहिले पनि विराटनगरका होटल व्यवसाय सम्साँझै ठप्प हुने गरेका छन् । 

गएको फागुन १५ मा विराटनगर महानगर, स्थानीय प्रशासन तथा होटल व्यवसायीहरुबीच रात्रीकालीन व्यवसाय चलाउनेबारे सहमति भएको थियो । विराटनगर महानगरले रात्रीकालीन व्यवसाय सञ्चालनबारे कार्यविधि बनाउने र सोही अनुसार राति पनि व्यवसाय सञ्चालन गर्न दिने सहमति त्यसबेला भएको थियो । महानगरले त्यसको झण्डै दुई महिनापछि रात्रीकालीन व्यवसायबारे कार्यविधि बनाएर प्रहरी र जिल्ला प्रशासन कार्यालयलाई दिएको थियो । 

फागुनमा भएको छलफलमा होटल व्यवसायीहरु र अन्य व्यवसायीहरु सामेल भए पनि महानगरले कार्यविधि बनाउँदा भने प्रहरीसँग मात्रै सहकार्य गरेको भन्दै होटल व्यवसायीहरुले असन्तोष प्रकट गरेका छन् । ‘होटल एशोसिएसनले हामीलाई भने अनुसार कार्यविधि बनेर लागु भइसकेको छ’, विराटनगरका एक होटल व्यवसायीले भने तर, अहिले पनि साढे नौ बजेपछि प्रहरी आएर होटल बन्द गर्नु भन्न थाल्छ ।’ ती होटल व्यवसायीले दिएको जानकारी अनुसार महानगरले बनाएको कार्यविधिले शहरका ठूला होटल र प्रहरीलाई मात्रै सजिलो बनाएको छ । 

ठूला होटल र प्रहरीलाई मात्रै सजिलो हुने गरी महानगरले कार्यविधि ल्याएको गुनासो साना होटल सञ्चालकहरुको छ । मोरङका प्रहरी प्रमुख एसपी नवराज कार्कीले दिएको जानकारी अनुसार होटलहरु राति सञ्चालन गर्नका लागि महानगरले केही निश्चित मापदण्डहरु तोकिदिएको छ । ‘पहिलो कुरा होटलको आवाजले बाहिर कसैलाई डिस्टर्ब गर्नुभएन’, कार्कीले भने ‘अर्को कुरा,  होटलहरुले आफ्नै सुरक्षा गार्ड अनिवार्य राख्नुपर्‍यो । कर्मचारीलाई राति घर पुर्‍याउने प्रबन्ध होटलले गर्नुपर्‍यो । न्यूनतम रुपमा यी मापदण्डहरु  पालना गर्ने होटलहरुलाई राति १२ बजेसम्म सञ्चालन गर्ने अनुमति दिने कुरा महानगरको कार्यविधिमा उल्लेख छ । हामीले सोही अनुसार कार्यान्वयन गरिरहेका छौं ।’ 

विराटनगरका रेष्टुरेण्ट तथा साना होटल सञ्चालकहरु भने महानगरले बनाएको कार्यविधि ठूला होटलमैत्री  मात्र भएको र प्रहरीको सजिलोका लागि आफूहरुको व्यवसायमा भाँजो हालिएको गुनासो गर्छन् । ‘मेरो होटलमा काम गर्ने कर्मचारीहरु सबै आफ्नै बाइकमा आउने जाने गर्छन्, मैले पुर्‍याउने व्यवस्था कसरी गर्नु ?’, अर्का होटल व्यवसायीले भने ‘म आफै जतिबेलै पनि होटलको सुरक्षा पहरा दिइरहेको हुन्छु, सुरक्षागार्ड किन राख्नु ? यदि कुनै अप्रिय अवस्था आइहाले तत्कालै प्रहरीमा खबर गर्छु तर कम्तीमा राति १२ बजेसम्म सञ्चालन गर्न दिनुभन्दा पनि प्रहरी मान्दैन । यसले हाम्रो व्यवसायमा राज्यले वक्रदृष्टि राखेको देखिन्छ ।’

उनका अनुसार हरेक नागरिकलाई सुरक्षाको प्रत्याभूति दिने दायित्व प्रहरी प्रशासनको हो । तर, सुरक्षाको मनचिन्ते कारण देखाएर प्रशासनले व्यवसाय चलाउन नदिइरहेको उनको भनाइ छ । चाडपर्वहरु मुखैमा आइरहेका बेला साँझ अबेरसम्म होटल चलाउन पाउनुपर्ने माग होटल सञ्चालकहरुको छ । सुरक्षा गार्ड, कर्मचारी पुर्‍याउने लगायतका प्रबन्ध गर्दा लागत अझै बढ्ने उनीहरुको भनाइ छ । 

एकातिर कमजोर कारोबारका कारण व्यवसायमा गरेको लगानी डुबिरहेको बताउने होटल सञ्चालकहरु प्रहरी दबाबले पनि साँझ बेलैमा होटल बन्द गर्न बाध्य छन् । ‘बेलुकीको ९ बज्दा नबज्दै होटल तथा रेष्टुरेन्ट अगाडि साइरन बजाउँदै प्रहरीको गाडी दौडिन थाल्छ । होटल बन्द गर्नु भन्ने प्रहरीको यो संकेत हामीले बुझ्नुपर्छ’,  होटल सञ्चालकहरु भन्छन् ‘अन्यथा प्रहरीको खप्की खानेदेखि थुनामा पुग्नु पर्नेसम्मको समस्या आइलाग्न सक्छ ।

त्यो बेला कुनै नयाँ ग्राहक आइपुगे तिनले केही खान नपाइ फिर्ता हुनुपर्छ । केही होटलले सटर बन्द गरेर भित्र लुकाएर खुवाउन सक्छन् । त्यस क्रममा प्रहरी भित्रै आइपुगेमा होटलवालाको ‘रेकर्ड’  बिग्रन्छ ।’ होटल सञ्चालकहरू हम्मेसी आफ्नो रेकर्ड प्रहरी नजरमा बिगार्न चाहँदैनन् ।  प्रहरीको टार्गेटमा परिने भयकै कारण खुलेर बोल्न पनि साना व्यवसायीहरु हच्किने गरेका छन् । 

साना होटल सञ्चालकहरुले यस्तो गुनासो गरिरहँदा ठूला होटल सञ्चालकहरु भने पछिल्लो समयमा आफूहरुलाई समस्या नभएको बताउँछन् । ‘ होटल एसोशिएसन कोशीका अध्यक्ष होटल व्यवसायी राजन श्रेष्ठका अनुसार  महानगरले कार्यविधि बनाएर कार्यान्वयन गरेपछि अहिले पहिले जस्तो समस्या छैन । 

‘शान्ति सुरक्षा’ को कारण देखाउँदै प्रहरीले बेलैमा बजार तथा पसल  बन्द गर्न लगाएकै कारण कोशीको राजधानी शहर साँझ बेलैमा निष्क्रिय बन्दै आएको छ । भारतसित साँध जोडिएको सीमावर्ती शहरमा कुनैबेला ‘ग्याङ फाइट’का केन्द्र नै होटलहरू बन्ने गरेका थिए । झैझगडाको थलो यसरी होटलहरू बनेका कारण प्रहरीले कडाइ गर्दै आएको थियो । सशस्त्र द्वन्द्वका बेला बेलुका छिट्टै बन्द हुने बानी परेपछि शान्ति प्रक्रियापछिको लामो समयसम्म पनि सोही क्रमले निरन्तरता पाउँदै आयो । 

गएको फागुन १५ मा विराटनगर महानगर, जिल्ला प्रशासन मोरङ, होटल व्यवसायी, उद्योग वाणिज्य संघका प्रतिनिधिहरू तथा नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका अधिकारीहरू सहभागी भएर बजार १० बजेसम्म र होटलहरू राति १२ बजेसम्म खुलाउने निर्णय गरेका थिए । तर त्यो निर्णय बजारका हकमा कार्यान्वयन भएको छैन भने होटल पनि ठूलाका हकमा मात्रै लागु भएको व्यवसायीहरु बताउँछन् । 

भारतीय राज्य बिहारसँग साँध जोडिएका कारण त्यताबाट आइपुग्ने घुमन्तेहरूको बाक्लो जमघट हुने शहर पनि हो विराटनगर । अझ बिहारमा मदिरामा प्रतिबन्ध लागेपछि त त्यताका मदिराप्रेमीहरू साँझलाई लक्षित गरेर विराटनगरतिर आउने गर्छन् ।

हरदम व्यस्त रहने मुलुककै ठूलोमध्येको एक विमानस्थल भएको, देशका ठूला शहरसित सोझै यातायात सम्बन्ध भएको विराटनगरमा आउजाउ गरिरहनेहरूको कमी हुँदैन । यति व्यस्त शहरको बजार र होटलहरू भने बेलैमा ठप्प हुनु ठीक नभएको  व्यवसायीहरु बताउँछन् । 

‘होटल व्यवसाय क्षेत्रमा ठूलो लगानी भएको छ, त्यसलाई प्रोत्साहित गर्दै प्रहरी र प्रशासनले हामी छौं, ढुक्कले व्यवसाय चलाउनुस् भन्नुपर्नेमा प्रशासनले हतोत्साहित पारिरहेको छ’, व्यवसायीहरुको भनाइ छ । होटल व्यवसायी संघका अनुसार विराटनगर क्षेत्रमा पर्यटकस्तरका २५ वटा होटल छन् ।  पर्यटकस्तरकै रेष्टुरेन्टहरू ३० देखि ४० को हाराहारीमा छन् ।  होटल तथा लजहरू २५० तथा साना रेष्टुरेन्टहरूको संख्या ३ सयभन्दा बढी छ । 

होटल व्यवसायी भवेशकुमार श्रेष्ठ पछिल्लो समयमा प्रहरीले चाँडो होटल बन्द गर्न दबाब दिएको गुनासो नआएको बताउँछन् ।  साना होटल सञ्चालकहरु भने आफूहरुको हकमा यो अवस्था नभएको बताउँछन् । रात्रीकालीन व्यवसायमा कुनै पनि अवरोध नगर्न न्यायालयले नै आदेश गरिसकेको छ ।

गत वर्षको  कात्तिकमा पोखरा लेकसाइडकी व्यवसायी देवीकुमारी बरालले दिएको रिट निवदेनको सुनुवाइ गर्दै उच्च अदालत पोखराले कात्तिक २२ मा रात्रीकालीन व्यवसायमा अंकुश नलगाउन  प्रशासनलाई आदेश दिएको थियो । सोही नजिर अनुसार पनि देशैभरी रात्रीकालीन व्यवसाय खुला गर्नुपर्ने र सुरक्षा प्रबन्ध राज्यले दिनुपर्ने व्यवसायीहरुको मत छ । विराटनगर महानगरले भने सुरक्षा व्यवस्था लगायतका चुनौतीहरुको अध्ययन गरेरै कार्यविधि बनेको दाबी गरेको छ । 

‘रात्रीकालीन व्यवसाय सञ्चालन गर्न दिने विषयमा महानगर आफैले अग्रसरता लिएको हो’, केही समयअघि मात्रै मेयर नागेश कोइरालाले उद्घोषसँग भनेका थिए ‘तर, केही सुरक्षा मापदण्डहरु व्यवसायीहरुले पनि पालना नगरी हुँदैन । महानगरले सोही अनुसारको कार्यविधि बनाएको हो ।’

View : 130

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved