Biratnagar, Morang, Nepal
५ जेठ २०८२, सोमवार
+977 21 450305, 515728, 578305
समाज

मोरङका एसपीलाई प्रहरी प्रधान कार्यालयले माग्यो स्पष्टिकरण

विभिन्न प्लेटफर्महरूमा भिडियो पुनः अपलोड हुँदै भाइरल बनेपछि  जिम्मेवार प्रहरी अधिकारीबाट अमर्यादित व्यवहार भएको प्रश्न उठेको थियो ।  नेपालको कानूनअनुसार, सार्वजनिक स्थलमा सुर्तीजन्य पदार्थ सेवन गर्न निषेध गरिएको छ ।
उद्‌घोष सम्वाददाता
५ जेठ २०८२, सोमवार

विराटनगर । मोरङ जिल्लाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) नारायण चिमरियाले सार्वजनिक स्थानमा गुट्खा खाएको भिडियो भाइरल भएपछि प्रहरी प्रधान कार्यालयले स्पष्टीकरण माग्दै सचेत गराएको छ ।

स्रोतका अनुसार, सार्वजनिक स्थानमा सुर्तीजन्य पदार्थ सेवन गर्नु सामाजिक तथा कानूनी दृष्टिले अनुचित भएकाले प्रधान कार्यालयले चिमरियालाई स्पष्टीकरण सोधेको हो । 
केही दिनअघि विराटनगरमा आयोजित कार्यक्रममा चिमिरियाले सुर्तीजन्य पदार्थ गुट्खा(पान मसला) खाएका थिए । 

उक्त कार्यक्रममा गृहमन्त्री रमेश लेखक मुख्य वक्ताका रूपमा अगाडि बोल्दै थिए । सोही कार्यक्रममा पछाडि बसेका एसपी चिमरियाले कसैसँग मागेर गुट्खा सेवन गरेका थिए । उनले त्यसरी गुट्खा सेवन गरेको भिडियो सामाजिक सञ्जालमा पोस्ट भएको थियो । 

सुरुमा उक्त भिडियोलाई उपरीक्षक चिमरियाले अनुनयविनय गरेर हटाउन लगाएका थिए । तर, पछि फेरि एकाएक त्यो भिडियो भाइरल हुने गरी सामाजिक सञ्जालमा छ्यास्छ्यास्ती भयो । 

५० सेकेण्ड जतिको उक्त भिडियो ‘गृहमन्त्री अगाडि बोल्दै गर्दा पछाडि गुट्खा च्याप्दै मोरङका एसपी’ भनेर धेरैले शेयर गरेका थिए । 

विभिन्न प्लेटफर्महरूमा भिडियो पुनः अपलोड हुँदै भाइरल बनेपछि  जिम्मेवार प्रहरी अधिकारीबाट अमर्यादित व्यवहार भएको प्रश्न उठेको थियो । 

नेपालको कानूनअनुसार, सार्वजनिक स्थलमा सुर्तीजन्य पदार्थ सेवन गर्न निषेध गरिएको छ । ‘सार्वजनिक स्थानमा धूमपान तथा सुर्तीजन्य पदार्थ सेवन (नियन्त्रण तथा नियमन) ऐन, २०६८’ अनुसार कुनै पनि सार्वजनिक स्थान, कार्यालय, सार्वजनिक सवारी वा बन्द स्थानमा धूमपान वा सुर्तीजन्य पदार्थ सेवन गर्न पाइँदैन ।

कानूनमा भएको यो व्यवस्था उल्लंघन गरेमा पहिलोपटक १०० रूपैयाँ, दोहोर्‍याएर उल्लंघन गरेमा ५०० रूपैयाँसम्म जरिवाना र धेरैपटक उल्लंघन गरेमा ७ दिनसम्म कैद वा १००० रूपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्छ ।

सार्वजनिक स्थानमा सुर्तीजन्य पदार्थ सेवन गर्नु कानुनी अपराध पनि भएकाले चिमरियालाई स्पष्टीकरण सोधिएको एक उच्च प्रहरी अधिकारीले बताए । 

प्रहरी अधिकारीहरू नै कानुन उल्लंघनमा संलग्न हुँदा त्यसले नागरिकमा गलत सन्देश पुर्‍याउने भएकाले एसपी चिमरियाको घटनालाई प्रहरी प्रधान कार्यालयले गम्भीर रूपमा लिएको र सचेत गराएको ती उच्च अधिकारीले बताए ।

View : 260

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved