विराटनगर । गृहमन्त्री रमेश लेखकले कोशी प्रदेशका सीमावर्ती क्षेत्रबाट तस्करी भइरहेको अभिव्यक्ति दिएपछि सशस्त्र प्रहरीले एक नायव उपरीक्षक र दुई निरीक्षकलाई जिम्मेवारीबाट हटाएको छ ।
यसैसाता विराटनगरमा भएको कोशी प्रदेशस्तरीय सुरक्षा बैठकमा सहभागी भएका बेला उनलाई मोरङ उद्योग ब्यापार संघका पदाधिकारीले तस्करीका कारण स्थानीय उत्पादनलाई समस्या परेको बताएका थिए ।
सो विषयलाई गृहमन्त्री लेखकले औपचारिक मन्तव्य दिएपछि सुरक्षा निकाय सक्रिय भएको छ ।
सशस्त्र प्रहरीले मोरङबाट एक डीएस्पी र एक इन्सपेक्टर तथा सुनसरीबाट एक इन्सपेक्टर परिवर्तन गरेको छ ।
सशस्त्र प्रहरीले प्रस्तावित सीमा सुरक्षा गुल्म रानीका नायव उपरीक्षक ऋषिकेश राउतलाई हटाएर उनका ठाउ“मा अमनबहादुर खत्रीलाई पठाएको छ ।
मोरङकै बोर्डर आउट पोष्ट सिक्टीका निरीक्षक बिराज कटुवाललाई हटाएर पदम दाहाललाई पठाइएको छ । यस्तै सुनसरीको लौकही पोष्टका निरीक्षक नारायण गौतमलाई हटाएर निगम राईलाई पठाइएको सशस्त्र प्रहरीले जनाएको छ ।
सशस्त्र प्रहरीको बराह बाहिनी पकली सुनसरीले एक उपरीक्षकको नेतृत्वमा सीमावर्ती क्षेत्रमा अनुगमन टोली पठाएको छ । टोलीले झापाका सीमावर्ती क्षेत्रमा सुरक्षामा कमजोरी गर्ने निरीक्षक र नायव उपरीक्षकहरूलाई चेतावनी दिएको बताइएको छ ।
झापामा पनि सीमामा परिचालित अधिकृतहरू परिवर्तन हुनसक्ने देखिएको छ ।
यस्तै गृहमन्त्रीको आदेशपछि नेपाल प्रहरीले पनि सीमावर्ती क्षेत्रमा कडाइ गरेको पाइएको छ ।
गृहमन्त्रीले तस्करी नरोकिए आफै एक्सनमा उत्रने चेतावनी दिएसँगै नेपाल प्रहरी र सशस्त्र प्रहरीका महानिरीक्षकलाई कोशी प्रदेशको सीमावर्ती क्षेत्रमा सुरक्षा कडाइ गर्न निर्देशन दिएका थिए ।
गृहमन्त्रीको आदेशपछि सशस्त्र प्रहरीले सीमामा कडाइ गर्न थालेको छ । भारतबाट दैनिक उपभोग्य वस्तु ल्याउनेहरूलाई पनि कडाइका साथ चेकजाँच गर्न थालिएको सशस्त्रको भनाइ छ ।
सशस्त्रले जोगवनी नाकामा दैनिक उपभोग्य वस्तु लिएर भारतबाट आउने उपभोक्ता चढेका रिक्सा दशगजाबाट त्यसतर्फ नै फर्काउने गरेको छ ।
‘उपभोक्ताले चामलका बोरा लैजान्थे, उनीहरू ब्यापारी पनि हुन सक्छन् भनेर खुल्ला बोरा मात्रै ल्याउन दिइएको छ’ सशस्त्रका एक उच्च अधिकृतले भने ।
View : 104
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved