Biratnagar, Morang, Nepal
२६ पुष २०८१, शुक्रवार
+977 21 450305, 515728, 578305
राजनीति

ग्रामथानमा अन्तिम कसरतमा उम्मेदवारहरु

कांग्रेस ‘ढुक्क’, एमाले माओवादीसँग ‘आशावादी’

कांग्रेस र एमालेले आफूहरुबीच नै मुख्य प्रतिष्पर्धा हुने दाबी गरिरहदा माओवादी त्रिपक्षीय प्रतिष्पर्धा हुने निश्चित रहेको बताइरहेको छ ।
उद्‌घोष सम्वाददाता
१३ मंसिर २०८१, बिहिवार

ग्रामथानमा चुनावी माहौत तातिएको बेला दलहरुले झोराहाट चोकमा निर्वाचन आचारसंहिता विपरित राखेका झण्डा । तस्वीर : उद्घोष

विराटनगर । उपनिर्वाचनको माहोलले गर्माएको मोरङको ग्रामथान गाउँपालिकामा दल तथा स्वतन्त्र उम्मेदवारहरु चुनाव प्रचारको अन्तिम चरणमा छन् । सबैजसो उम्मेदवार अन्तिम चरणको प्रचारमा व्यस्त रहदा विभिन्न दलका नेताहरु पनि आफ्ना उम्मेदवारलाई सघाउने दौडमा सामेल भइरहेका छन् । 

मंसिर १६ को उपनिर्वाचनको मौन अवधि सुरु हुनै लाग्दा उम्मेदवारहरु मतदाता आकर्षित गर्ने अन्तिम कसरतमा जुटेका छन् ।

प्रमुख पदका लागि प्रदेशभरीमै एक ठाउँ मात्रै हुन लागेको उपनिर्वाचनमा जीत हासिल भए त्यसले आफ्नो दलको लोकप्रियता बढेको वा कायमै रहेको सन्देश दिन सकिने लोभ सबै दलमा देखिन्छ । त्यस्तै ठूला र पुराना दलहरुप्रति मतदाताको भरोसा टुटेको भन्दै मैदानमा रहेका रास्वपा र स्वतन्त्रहरु पनि त्यस्तो प्रतिक्रियात्मक मत आफूतिर आकर्षित गर्ने होडमा छन् । यो होडमा रहेका सबैजसो उम्मेदवारहरु आफ्नो जीत हुने दाबी सार्वजनिक रुपमा गरिरहेका भेटिन्छन् । अझ प्रचारप्रसारको अन्तिम घडीमा आइपुग्दा त सबैले यस्तो दाबीको स्वर ठूलो पारिरहेका छन् । 

घरदैलो र प्रचार अभियानको अन्तिम प्रहरमा रहेका दल र तिनका उम्मेद्वारहरु आफ्नो जीत हुने कारण केलाई बताइरहेका छन् ? के आधारमा उनीहरु मतदातालाई यही कुरा बुझाउन खोजिरहेका छन् ? यसबारे कुराकानी गर्दा कांग्रेस, एमाले र माओवादी जस्ता यसअघिको चुनावमा पहिलो, दोस्रो र तेस्रो बनेका दलहरुले आ–आफ्नै कारण र तर्क अघि सारेका छन् ।

बुधबार पार्टी महामन्त्री गगन थापालाई निम्त्याएर ग्रामथानमा चुनावी सभा आयोजना गरेको कांग्रेसका नेताहरु ग्रामथानमा आफ्नो परम्परागत मतकै कारण बलियो अवस्थामा रहेको दाबीमा छन् । ग्रामथान कांग्रेसका एक नेताले भने ‘हामीले पहिले पनि राम्रै अन्तरले चुनाव जितेका हौं । यसपटक अरु दलहरु पनि एक्लाएक्लै चुनावी मैदानमा छन् । यसैले हामी विगतमा जस्तै जीत निकाल्न सक्षम हुनेछौं ।’ 

कांग्रेसका ती नेताका अनुसार मोरङ, सुनसरी तथा आसपास जिल्लाका धेरैजसो नेताहरु अहिले ग्रामथान केन्द्रित भएर लागेका छन् । ती नेताले एउटा चिन्ता भने जाहेर गरे । धेरैजसो उम्मेदवारको विगतको पृष्ठभूमि कांग्रेस नै भएकाले मत काटिने सम्भावना हुनसक्छ । ‘तर, परिणाम नै बद्लिने गरी मत काटिने अवस्था छैन’, ती नेताको दाबी छ । 

२०७९ को स्थानीय निर्वाचनमा ग्रामथानमा दोस्रो बनेको एमाले भने यसपटक माओवादीले कांग्रेसको मत काट्ने र त्यसको फाइदा आफूलाई हुने विश्वासमा छ । ‘धेरैजसो उम्मेदवार कांग्रेस पृष्ठभूमिका छन्’, एमालेका नेताहरुको आशा छ ‘अहिले माओवादीबाट उम्मेदवार बनेका नमोनारायण माझी त केही समय अघिसम्म कांग्रेसमै थिए । त्यसैले उनको लिगेसी कांग्रेस नै हो । माओवादीले कांग्रेसकै मत धेरै काट्ने अवस्था छ । यसको फाइदा हामीलाई हुने अनुमान छ ।’

माओवादी नेताहरु भने अनौपचारिक कुराकानी गर्न तयार देखिन्नन् । ग्रामथान–२ को पिडारबनी चोकको चिया पसलमा बुधबार दिउसो भेटिएका सोही क्षेत्रका संघीय सांसद अमनलाल मोदीलाई उद्घोषले सोधेको थियो ‘ग्रामथानमा माओवादीको अहिलेको वास्तविक अवस्था के हो ? के छ अहिलेसम्मको अनुमान ?’ 

चुनावी अभियानमा व्यस्त सांसद मोदी यसबारे खुल्नै चाहेनन् । ‘हामीलाई भन्दा तपाईंहरुलाई बढी थाहा हुन्छ । भन्नु न बरु के छ ?’ यसो भनेर मोदीले टारे । तीन दिनदेखि मोदीसँगै हिडिरहेको बताउने माओवादी विराटनगरका एक कार्यकर्ता बुधबार पनि उनीसँगै थिए । उनलाई यही प्रश्न गर्दा उनको दाबी थियो ‘मेरो अहिलेसम्मको रिडिङमा यहाँ कांग्रेस र माओवादीबीच मुख्य प्रतिष्पर्धा हुने देखिन्छ ।’

त्यसो त केही समयअघि देखि नै कांग्रेस र एमाले मुख्य प्रतिष्पर्धा आफूहरुबीच हुने दाबी गरिरहेका छन् भने माओवादी स्वयम् भने त्रिपक्षीय प्रतिष्पर्धा हुने बताइरहेको छ ।

केही मतदाताले भने दलहरुले भने जस्तो मात्रै अवस्था नभएको बताउँछन् । यसअघिका निर्वाचनमा दलहरुलाई मत दिएको बताउने ग्रामथान २ का एक युवा मतदाताले यसपटक आफूले परिवर्तनका लागि घन्टीमा मत दिने बताए । घन्टी रास्वपाको चुनाव चिन्ह हो । ती मतदाताले रास्वपाको अवस्था ग्रामथानमा राम्रो रहेको दाबी गरे । यद्यपि सोही ठाउँको चिया पसलमा गफिइरहेका केही स्थानीयबासीले भने ग्रामथानमा प्रमुख तीन दलबीच नै प्रतिष्पर्धा हुने अनुमान प्रकट गरे । 

२०७९ मा अध्यक्षमा निर्वाचित भएका कांग्रेसका जयप्रकाश गच्छदारको गएको असार ३ मा निधन भएपछि मंसिर १६ मा उपनिर्वाचन हुन लागेको ग्रामथानमा एक स्वतन्त्रसहित १६ जना अध्यक्षको उम्मेद्वार छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले प्रकाशित गरेको उम्मेदवारको नामावली अनुसार नेकपा (एमाले) बाट तुलसीराम विश्वास, राष्ट्रिय प्रजातन्त्र पार्टी  (राप्रपा) बाट दिनेशकुमार थन्दार, नेकपा (एकीकृत समाजवादी) पार्टीबाट दिलबहादुर विश्वकर्मा, जनता समाजवादी पार्टी (जसपा) बाट धर्मेन्द्रकुमार चौधरी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट नवीनकुमार विश्वास खवास उम्मेदवार छन् ।

त्यसैगरी नमनारायण चौधरी थारू–स्वतन्त्र, नेकपा (माओवादी केन्द्र) बाट नमोनारायण माझी, नेपाल मजदुर किसान पार्टी (नेमकिपा) बाट पर्शुराम विश्वास थारू, नेपाली कांग्रेसबाट बलराम सरदार थारू, मंगोल नेशनल अर्गनाइजेसनबाट भरत राई, नेपाल समाजवादी पार्टीबाट रामकुमार चौधरी थारू, राप्रपा नेपालबाट राजु मुसहर, जनमत पार्टीबाट विनोदकुमार माझी, नागरिक उन्मुक्ति पार्टीबाट बुद्धिचन विश्वास थारू, समावेशी समाजवादी पार्टी नेपालबाट बोधनारायण माझी र जनता समाजवादी पार्टी नेपालबाट सुरेशकुमार राजवंशी अध्यक्ष पदका उम्मेदवार छन् ।

२०७९ को स्थानीय तह निर्वाचनमा २५ हजार ९४२ मतदाता रहेको ग्रामथानमा अहिले २६ हजार ४४ जना मतदाता छन् । निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो मतदाता नामावलीअनुसार २०७९ को तुलनामा यो उपनिर्वाचनसम्ममा  १०२ जना नयाँ मतदाता थपिएका छन् ।

नया मतदाता संख्या अनुसार १३ हजार ३ जना पुरुष र १३ हजार ४१ जना महिला मतदाता छन् । ग्रामथानका १२ मतदान स्थलमा २९ मतदान केन्द्र तोकिएको छ ।

२०७९ को स्थानीय चुनावमा कांग्रेसबाट विजेता बनेका जयप्रकाश गच्छदारले ७ हजार ६०५ मत पाएका थिए भने एमालेका शिवनारायण माझीले ६ हजार ९३ मत प्राप्त गरेका थिए । त्यसबेला तेस्रो बनेको माओवादी केन्द्रका विजयकुमार सरदारले २ हजार ७२७, राप्रपाका पखुलाल विश्वासले ४४७, नेकपा एकीकृत समाजवादीका राकेश चौधरीले १३९, जनमत पार्टीका पञ्चनारायण चौधरी थारुले ९४ र नेपाल मजदुर किसान पार्टीका मनोजकुमार चौधरीले ४ मत प्राप्त गरेका थिए । 

कोशी प्रदेशका ६ जिल्लाका ७ वटा वडामा वडाध्यक्षका लागि पनि उपनिर्वाचन हुँदैछ । झापाको कन्काई नगरपालिका वडा नम्बर–६, तेह्रथुमको लालिगुरास नगरपालिका वडा नम्बर–८, सुनसरीको गढी गाउँपालिका वडा नम्बर–६, ओखलढुंगाको मोलुङ गाउँपालिका वडा नम्बर ५ मा वडाध्यक्षको चुनाव हुँदैछ । 

त्यस्तै उदयपुरको त्रियुगा नगरपालिकाको वडा नम्बर १२, उदयपुरकै वेलका नगरपालिका वडा नम्बर ९ र ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका वडा नम्बर ३ मा पनि वडाध्यक्षका लागि उपनिर्वाचन हुँदैछ ।

View : 99

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved