विराटनगर । घर जग्गा कारोबारमा आएको मन्दीका कारण हाउजिङ क्षेत्रमा हाउजिङ कम्पनी सीई कोलोनीले विराटनगरको घर निर्माण कार्यलाई एक वर्षदेखि स्थगित गरेको छ ।
सो कम्पनीले विराटनगर–७ अन्तर्गत शनिहाट पूर्वतर्फ एक बिघा दुई कट्ठामा आधुनिक आवास योजना शुरू गरेको थियो । तर घर बिक्री नभएका कारण निर्माण कार्यलाई एक वर्षदेखि रोकेको सो कम्पनीले जनाएको छ ।
विराटनगरमा सीई कोलोनीको योजना थालनी गर्ने कम्पनीका इञ्जिनियर विमल भट्टराईका अनुसार कम्पनीले भित्री बाटो, उद्यान, सुरक्षा गार्ड क्वाटरसहित २६ वटा घर बनाएर बिक्री गर्ने योजना बनाएको थियो ।
नौ धुरदेखि १३ धुरसम्मको क्षेत्रफलमा बनाइएका सुविधायुक्त अढाई तले घर जग्गाको क्षेत्रफल र ठाउँ हेरेर २ करोड २० लाखदेखि तीन करोडसम्ममा बिक्री गर्ने योजनासहित घर निर्माणको थालनी गरेको थियो ।
अहिलेसम्ममा तीनवटा घरको बुकिङ आए पनि पूरा पैसा कसैले पनि दिन नसकेको बताइएको छ ।
सो कम्पनीले काठमाडौंबाहेक धरान, लुम्बिनी, पोखरा र विराटनगरसम्म कार्यक्षेत्र विस्तार गरिसकेको छ । तर, अहिलेको आर्थिक मन्दीले गर्दा कम्पनीले ठूलो घाटा खानु परिरहेको जनाएको छ ।
घर जग्गाको कारोबार नभएपछि मूल्य घटाएर भए पनि घरहरू बेच्न कम्पनी तयार रहे पनि पनि ग्राहक आएका छैनन् ।
घर मात्र होइन, अहिले घडेरी किन्ने पनि छैनन् । विराटनगर–२ कमलपोखरीमा रहेको जग्गालाई टुक्राएर विराटनगरको ठूला घरानाका व्यवसायीहरूले बिक्री गर्न खोजिरहेका छन् ।
पानी, बिजुली, पक्की बाटो, सुरक्षा गार्डको व्यवस्थासहित बिक्री गर्न लागेको कोशी राजमार्ग नजिकैको सो जग्गा किन्न कोही तयार देखिएका छैनन् । सो जग्गा विशाल ग्रुप, मुन्दडा ग्रुप र राठी ग्रुपको साझा स्वामित्वको हो ।
विराटनगरको बसपार्क दक्षिण कोशी राजमार्गसँग टाँसिएको जग्गा काठमाडौंका व्यवसायी दीपक मलहोत्राले विराटनगरका मेयर नागेश कोइरालासँग किनेर प्लटिङ गरी बेच्न खोजे ।
सो जग्गा पनि बिक्री नभएको बताइएको छ । घडेरीमा बिक्री नभएपछि त्यहाँ पाँचतारे होटल खोल्ने मनस्थितिमा मलहोत्रा पुगेका छन् ।
जग्गा किनबेच नहुँदा त्यसको मार वाणिज्य बैंकहरूलाई पनि परेको छ । जग्गामा गरेको लगानी उठ्न सकेको छैन । भूमि व्यवस्था तथा मालपोत कार्यालय विराटनगरबाट प्राप्त तथ्यांक अनुसार जग्गा किनबेचको अनुपात बर्सेनि घट्दो छ ।
आर्थिक वर्ष २०७८–७९ मा सो कार्यालयबाट २६ हजार २ सय ७७ वटा लिखत पास भएकोमा ०७९–८० मा आएर १८ हजार ६ सय ५७ वटा मात्र पास भए ।
त्यसैगरी आर्थिक वर्ष ०८०–८१ मा १९ हजार ३ सय ९ वटा लिखत पास भए भने चालु आर्थिक वर्षको चार महिनामा ५ हजार ४ सय ६६ वटा लिखत पास भएका छन् ।
भूमि व्यवस्था तथा मालापोत कार्यालय विराटनगर, बेलबारी र रंगेलीमा गरी मोरङमा तीनवटा छन् । विराटनगर कार्यालय अन्तर्गत विराटनगर महानगरपालिका, बुढीगंगा, ग्रामथान, कटहरी र जहदा गाउँपालिका पर्दछन् । सो कार्यालय अन्तर्गत धनपालथानको पनि केही भाग पर्दछ ।
जग्गाको कारोबार नहुँदा संघीय सरकार, प्रदेश सरकार र स्थानीय पालिकाहरूको पनि आम्दानी घटेको छ । मोरङमा दक्षिणी भेगको तुलनामा उत्तरी भेगको राजमार्ग आसपासमा जग्गाको कारोबार केही बढी छ । तर समग्रमा भने कारोबार राम्रो नरहेको भूमि व्यवस्था तथा मालपोत कार्यालय विराटनगरका प्रमुख मालपोत अधिकृत भानुभक्त नेउपाने बताउँछन् ।
भूमि व्यवस्था तथा मालपोत कार्यालय विराटनगरबाट भएको जग्गाको कारोबारको तीन आर्थिक वर्षको विवरण–
आर्थिक वर्ष ०७९–८० मा १८ हजार ६ सय ५७ वटा लिखत पास, राजिष्ट्रेशन शुल्कबाट प्राप्त राजस्व ४६ करोड ६६ लाख ५० हजार ८०३ रूपैयाँ, लाभकरबाट प्राप्त राजस्व ४२ करोड ८९ लाख ७६२ रूपैयाँ, जम्मा प्राप्त राजस्व ८९ करोड ५५ लाख ५१ हजार ५६५ रूपैयाँ ।
आर्थिक वर्ष ०८०–८१ मा १९ हजार ३०९ वटा लिखत पास, रजिष्टे«शनबाट प्राप्त ५२ करोड १३ लाख ८१ हजार ७४५ रूपैयाँ, लाभकरबाट ३५ करोड ३५ लाख ६९ हजार ३३८ रूपैयाँ, जम्मा प्राप्त राजस्व ८७ करोड ४९ लाख ५१ हजार ८३ रूपैयाँ ।
चालु आर्थिक वर्षको कात्तिकसम्ममा ५ हजार ४ सय ६६ वटा लिखत पास, रजिष्टे«शनबाट १३ करोड ४३ लाख ७४ हजार ९६१ रूपैयाँ, लाभकरवापत ९ करोड ५० लाख ९० हजार ५३२ रूपैयाँ, जम्मा प्राप्त राजस्व २२ करोड ९४ लाख ६५ हजार ४९३ रूपैयाँ ।
View : 197
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved