– अर्जुन निरौला
आखिर महाभारतको युद्ध हुने नै भयो। नहोस् पनि कसरी, पुत्रमोहमा जेलिएका हस्तिनापुरका महाराज धृतराष्ट्र, अनि युवराज हुँदै राजा बन्ने सपना पालेका हठी र घमण्डी दुर्योधन, बल्दो आगोमा घ्यू थप्न पछि नपर्ने मामा शकुनी थिए।
त्यसैगरी आफ्नो मान, मर्यादा, पहिचान र सम्मान प्रदान गर्ने दुर्योधनका लागि सदैव काँध थाप्ने महारथी कर्ण, साथै दाजुको मान, सम्मान र ओहदाका लागि नैतिक–अनैतिक जुनसुकै कार्य गर्न पनि तम्तयार आज्ञाकारी भाइ दुशासन यसका मुख्य पात्र थिए।
यी सबै पात्रहरू आ–आफ्ना ठाउँमा कति ठीक र कति गलत थिए भन्ने छुट्याउने जिम्मेवारी पाठकवर्गमै सर्वाधिकार सुरक्षित छ।
तर, गाँठी कुरा— एकै परिवारभित्रको आपसोको फुटका कारण हस्तिनापुर राज्यले जनधनलगायत भौतिक संरचनाको क्षतिसहित ठूलो विनाश बेहोर्नु पर्यो। कत्रो विडम्बना! युद्धमा जित्यो कसले? भाइ (पाण्डु) का सन्तानले। अनि हार्यो कसले? दाजु (धृतराष्ट्र) का सन्तानले। सुनाउनेलाई दिक्क अनि सुन्नेलाई अचम्म— ‘भाइ फुटे गवार लुटे’, कतै नभएको जात्रा कुरुक्षेत्रमा!
साँच्चै, एकपटक एकान्तमा घोत्लिएर, आँखा चिम्लिएर गम्भीर भएर सोचौं त— जम्मा १८ दिनको महाभारत युद्धमा कौरव पक्षका बडेबडे वीरहरू (इच्छा मृत्यु पाएका पितामह भीष्म, पुत्रशोकबिना मर्दै नमर्ने गुरु द्रोणाचार्य, कुलगुरु महारथी कृपाचार्य र जन्मदै कवच-कुण्डल धारण गरेका दानवीर कर्ण जस्ता) अनेकौं अग्रज योद्धाहरू समय र परिस्थितिका कारण भटाभट मृत्युवरण गर्न बाध्य भए।
यदि हस्तिनापुर राज्यका दुवै दाजुभाइका सन्तानहरू एक भएर विश्वविजयी अभियानमा निस्किएको भए, विश्वका सबै राज्यहरू उनीहरूका पाउमा पर्दैनथे र?
यहाँ दर्शाउन खोजिएको, झन्डै मिल्दोजुल्दो त्यस्तै खाले जात्रा नेपालमा ७ दशकभन्दा लामो इतिहास बोकेको पार्टी नेपाली कांग्रेसभित्र देखिन खोज्दैछ। नेपालमा २००७ सालमा प्रजातन्त्र बहाली गर्ने नेतृत्वदेखि लिएर वि.सं. २०३६ सालमा जनमत संग्रहको घोषणा गराउने, वि.सं. २०४६ सालमा बहुदलीय व्यवस्थाको बहाली गराउने र पछिल्लो २०६२–६३ को जनआन्दोलनको नेतृत्व गर्दै लोकतान्त्रिक गणतन्त्रको घोषणा गराउन अग्रणी भूमिका निर्वाह गर्ने नेपाली कांग्रेस नै हो।
तर, परिस्थितिले सिर्जना गरेको २०८२ पुसको विशेष महाधिवेशनपश्चात पार्टीका अग्रज नेताहरू कतै अल्मलिएजस्तै, बाटो बिराउन खोजेजस्तै अनि कतै कसैको बहकाउमा पर्न खोजेजस्तै भान पर्न गएको छ।
निःसन्देह, हजुरबुवा–हजुरआमाले रोपेको बिरुवा आमाबुबाले गोडमेल र सिँचाइ गरी हुर्काएपछिको रुखबाट फलेका फलफूलमा पहिलो अधिकार नाति–नातिनाको हुँदोरहेछ। किनभने, रुख चढेर टिप्न सक्ने अनि खाएर पचाउन सक्ने सामथ्र्य उनीहरूमै हुँदोरहेछ। तर पनि, इतिहासमा त बिरुवा रोप्ने हजुरबुवा–हजुरआमाको नाम नै अङ्कित हुँदोरहेछ नि!
नेपाली कांग्रेस स्थापना गर्न, यसको पार्टी सङ्गठन मजबुत र विचारवान् बनाउन धेरै अग्रज नेता–कार्यकर्ताहरू वलिवेदीमा होमिए, अङ्गभङ्ग भए, सर्वस्वहरण गराए, जेलनेल खेपे अनि बल्ल देशलाई नेतृत्व गर्ने पार्टी बनाए। तर, खोइ त त्यसबेला पार्टी निर्माण गर्ने नेताहरू— बीपी, सुवर्णशम्शेर, गणेशमान, किसुनजी, मातृकाप्रसाद, सूर्यप्रसादलगायत अनगिन्ति नेताहरू! कोही पार्टी छाडेर हिँडे भने धेरै रगत–पसिना बगाउने नेताहरू कहिल्यै पद र पैसामा लुप्त भएनन् र सत्ताभोग गरेनन्।
धेरै नेता–कार्यकर्ताहरूको जीवन जेलनेल र निर्वासनमै बित्यो। कारण— २०१७ साल पुस १ गतेदेखि राजाले पार्टी र नेताहरूलाई लखेटे, तोडमोड गरे भने २०८२ भदौ २३–२४ मा भएको जनविद्रोहले पुराना पार्टीका नेताहरूलाई लखेट्यो। यी तमाम घटनाहरू समय, काल र परिस्थितिबाट सिर्जिएका हुन्।
फरक यति मात्र हो कि, त्यसबेला बीपी नेतृत्वको नेका सरकारले विकासको गति र जनताको काम द्रुत गतिमा अगाडि बढाउँदा राजाले आफ्नो अधिकार कटौती भएको महसुस गरी नेताहरूलाई धरपकडका साथ पार्टीमा प्रतिबन्ध लगाए भने, यतिबेला वर्तमान पार्टीका नेता र नेतृत्वले जनताको काम र विकास निर्माण सुस्त गतिमा गरेका कारण जनताले लखेटे। त्यसकारण, यी घटना–दुर्घटनाहरूलाई आत्मसात् गर्दै ‘समय’ लाई पछार्छु भन्नुको सट्टा समयको गतिसँगै अगाडि बढ्ने कार्य द्रुत गतिमा सुरु गर्नुपर्छ।
सम्झौं कि, महाभारत कालमा पनि समय र जनताको मागलाई पहिचान गर्न नसक्दा ठूलो क्षति भयो। अब पनि नेपाली कांग्रेसले समयको गति र जनअपेक्षालाई पहिचान गरेर वर्तमान विशेष महाधिवेशनको नेतृत्वलाई स्वीकार गर्दै सम्पूर्ण कर्मठ, योग्य र अनुशासित मिश्रित उमेरका नेता–कार्यकर्ताहरूलाई पार्टी सञ्चालन गर्न कार्यकारीको भूमिका दिई अगाडि बढ्न सकेन भने भयंकर ठूलो दुर्घटना हुन सक्छ।
त्यसकारण, सानातिना झिनामसिना कुराहरूमा नअल्मलिई अग्रज सम्पूर्ण नेताहरूको मान–सम्मानसहित केन्द्रीय समितिभन्दा माथि ‘वैचारिक सल्लाहकार सभा’ गठन गरी सम्पूर्ण अग्रज नेताहरूको सरसल्लाह र सुझावमा नेपाली कांग्रेसलाई तीव्र गतिमा अगाडि बढाउन आवश्यक छ।
साथै, हालसालै देशमा उब्जिएका द्वन्द्वका आयामहरूको निराकरण गर्नु महत्त्वपूर्ण देखिन्छ। यसपछि निराश जनताहरूमा आशाको किरणस्वरूप रोजगारीको व्यवस्थातिर ध्यान दिँदै गास, बास र कपासको जोहो गर्ने क्रममा नेपाली कांग्रेसको अग्रणी भूमिका नेपाली जनताले चाहेका छन्।
View : 13
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved