स्वर्ण जयन्ती समारोहको तयारीबारे जानकारी दिन बिहीबार आयोजित पत्रकार सम्मेलनमा आयोजकहरू ।
विराटनगर । विराटनगरस्थित आदर्श निर्माण मन्दिरले आफ्नो स्थापनाको ५०औँ वार्षिकोत्सव (स्वर्ण जयन्ती) विविध सामाजिक, सांस्कृतिक तथा प्रेरणामूलक कार्यक्रमका साथ मनाउने भएको छ।
स्वर्ण जयन्ती समारोहको तयारीबारे जानकारी दिन बिहीबार आयोजित पत्रकार सम्मेलनमा संस्थाका अध्यक्ष शिवरतन जोशीले साउन २३ गते शनिबार विराटनगरको आरोहण गुरुकुल, हाटखोलामा विशेष समारोह आयोजना गरिने जानकारी दिए। कार्यक्रममा नेपाली हास्यव्यंग्य क्षेत्रका सुप्रसिद्ध कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह-जोडी) प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन्।
अध्यक्ष जोशीका अनुसार मह-जोडीसँग संस्थाको लामो भावनात्मक सम्बन्ध रहेको छ। विगतमा उनीहरूले आदर्श निर्माण मन्दिरसँगको सहकार्यमा विराटनगरमा एक महिनासम्म ‘विज्ञापन’ नाटक मञ्चन गरेका थिए। सोही आत्मीय सम्बन्धका कारण उनीहरू स्वर्ण जयन्ती समारोहमा सहभागी हुन लागेको जोशीले बताए ।
वि.सं. २०३२ सालमा स्थापित आदर्श निर्माण मन्दिरले पाँच दशकदेखि चरित्र निर्माण, सामाजिक उत्थान र राष्ट्र विकासको भावनालाई आत्मसात् गर्दै विभिन्न सामाजिक तथा सेवामूलक कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ। संस्थाले बाल संस्कार, नशामुक्ति अभियान, करिब ३० वर्षसम्म पोलियो क्लिनिक सञ्चालन, कृत्रिम खुट्टा वितरण, हृदयसम्बन्धी परियोजनाको सहसंस्थापकको भूमिका, काठमाडौंको पशुपति क्षेत्रमा शीतल जल प्लान्ट स्थापना, करिब ३ हजार ५ सय बेवारिसे शवको दाहसंस्कार, रक्तदानलगायतका सेवा गतिविधि सञ्चालन गर्दै आएको जानकारी दिएको छ।
स्वर्ण जयन्तीको अवसरमा संस्थाले सोही दिन विराटनगर-३ स्थित लक्ष्मीनारायण मन्दिर, बरगाछीमा खानेपानीका लागि वाटर फिल्टर प्लान्टसमेत जडान गर्ने कार्यक्रम रहेको छ।
पत्रकार सम्मेलनमा संस्थाका उपाध्यक्ष तथा कार्यक्रम संयोजक राजेश अग्रवालले समारोहको तयारी र कार्यक्रमबारे जानकारी गराएका थिए भने पूर्वअध्यक्ष सुरेश अग्रवालले धन्यवाद ज्ञापन गरेका थिए।
आयोजकले स्वर्ण जयन्ती समारोहलाई भव्य र सफल बनाउन सम्पूर्ण शुभेच्छुक, समाजसेवी तथा सर्वसाधारणमा सहभागी हुन आग्रह गरेको छ। संस्थाले स्वर्ण महोत्सवले विगत पाँच दशकको गौरवपूर्ण यात्राको स्मरण गर्दै भावी पुस्तामा सामाजिक उत्तरदायित्व, नैतिक चेतना र सेवाभावको सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गरेको छ।
View : 124
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved