प्रतिमा खतिवडा निरौलाको संस्मरणात्मक कृतिमाथि एक समीक्षा
स्वीकृति रेग्मी ‘मुना’
विसं २०७९ सालमा पूर्वाञ्चल साहित्य प्रतिष्ठान विराटनगरबाट प्रकाशित प्रतिमा खतिवडा निरौलाको ‘जीवन र जीवनी’ एउटा मर्मस्पर्शी संस्मरणात्मक कृति हो । वरिष्ठ साहित्यकार स्व दधिराज सुवेदीको भूमिका तथा स्वयम् निरौलाको सम्पादन रहेको यस कृतिमा विभिन्न शीर्षकमा ३० जना व्यक्तित्वहरूको जीवनी संस्मरणका रूपमा समेटिएको छ । यो कृति व्यक्तिगत अनुभव र सामाजिक यथार्थको एक जीवन्त दस्तावेज बनेको छ ।
प्रेरणादायी जीवनगाथा : शिक्षा, संघर्ष र सफलता
कृतिमा गुरु पुरुषोत्तम भट्टराईले आफ्नै कलमबाट मावली सिक्तेलबाट सुरु भएको शिक्षाको यात्रा, दुःख भोग्दै, भिक्षा मागेर र पाटीमा सुतेर पनि कसरी आफ्नो अठोट पूरा गरे भन्ने कुरा प्रस्तुत गर्नुभएको छ । उहाँको यो जीवनीले आत्मविश्वास भएमा जस्तोसुकै समस्यासँग पनि पौडन सकिन्छ भन्ने राम्रो प्रेरणा दिन्छ र यसलाई विद्यालयस्तरका पाठ्यपुस्तकमा समावेश गर्न अति उत्तम हुने सुझाव दिइएको छ । गुरुको संक्षिप्त जीवनबाट आफू विचलित नभई अघि बढ्दाको सफलता प्रस्ट हुन्छ ।
प्राडा टङ्कप्रसाद न्यौपानेले आफ्नो जीवन संस्मरणलाई ‘म त बूढो भएछु’ भन्ने शीर्षक दिनुभएको छ । उहाँको जीवनीले युवा अवस्थामै सार्वजनिक सेवाको काम गर्न प्रेरित गर्नुका साथै समाजमा नारीको इज्जतका लागि गरेको विद्रोह सराहनीय छ । संस्कृत विद्यालयका विद्यार्थीलाई भोजन वृत्तिका लागि गरेको कार्यले आफ्नो हक र अधिकारका लागि लड्नु पर्छ भन्ने सन्देश प्रवाह गर्छ र पाठकमा आँट, साहस र जोश भरिदिन्छ ।
पूर्व प्रदेश प्रमुख डा गोविन्दबहादुर तुम्बाहाङको संक्षिप्त जीवनबाट सङ्गतले कसरी असर गर्छ भन्ने कुरा थाहा पाउन सकिन्छ । सुरुमा आर्थिक अवस्था ठीकठीकै भएर पढ्न गाह्रो भए पनि उहाँले यसलाई पार गर्नुभयो । लिम्बू जाति भएर पनि सबै संस्कार ब्राह्मणको अपनाएको पाइनु, बाँसको कलमले मसी चोबेर लेख्नुपर्ने अवस्था र पढाइको सुरुवातमै गीता पाठ गर्नाले कर्मयोगी बन्ने संस्कारले उहाँको जीवनलाई आदर्श बनाएको देखिन्छ । उहा“का पिताको आदर्श वाक्य ‘बरु एक छाक खानू तर तिर्न नसक्ने ऋण नलिनू’ भन्ने उत्तम शिक्षा मानव समुदायले ग्रहण गर्ने हो भने ऋण तिर्न नसकेर आत्महत्या गर्ने संख्यामा कमी आउने कुरा औंल्याइएको छ । धेरै कर्महरू वैज्ञानिक तरिकाले गरिंदा सभ्य समाजको निर्माण गर्न सकिन्छ भन्ने पाठ उहाँको जीवनबाट थाहा हुन्छ ।
गोपाल भण्डारीले आफ्नो जीवनको निरीक्षण आफैं गर्दै २०३६ सालको जनमत संग्रहको आन्दोलनमा साहित्यमार्फत सक्रिय रहेको कुरा खुलासा गर्नुभएको छ । उहाँको साहित्यिक यात्रा निकै लामो र अनुभवहरू समाजमा आदर्शका रूपमा छन् ।
प्राडा चन्द्रमणि नेपाल आफ्नो जीवनका तीन भाग्य विधाता लिएर उदाउनुभएको छ । उहाँले ‘मलाई असल आमा देऊ म तिमीलाई असल राष्ट्र दिनेछु’ भन्ने नेपोलियनको भनाइ स्मरण गर्नुभएको छ । उहाँको समयमा सबै कक्षा उत्तीर्ण नगरी आफूले पढ्न चाहेको कक्षामा अन्तर्वार्तामा राम्रो भए चाहेको पढ्न पाइने नियम रोचक थियो । दुःख कष्ट सहेर पनि नेपालमा न्याय दर्शनमा विद्यावारिधि गर्ने उहाँ पहिलो व्यक्तित्व हुनुहुन्छ । प्रा नारायणप्रसाद शर्मा कट्टेलको संस्मरणमा विसं २००२ सालतिर नेपालको पहाडी भेगमा प्राथमिक उपचार समेत नभएको र घरायसी उपचारको प्रचलन रहेको उल्लेख छ । उहाँले आफ्नो जीवनका उकाली ओरालीमा अध्ययन र अध्यापन क्षेत्रको संघर्षको कथा प्रस्तुत गर्नुभएको छ ।
विराटनगरको साहित्यमा दधिराज सुवेदीको नाम अविस्मरणीय छ । सामाजिक र धार्मिक क्षेत्रमा पनि उहाँको योगदान महत्वपूर्ण छ । उहाँलाई केराको पातमा सुताएर उपचार गरेको प्रसङ्गले पाठकलाई मर्माहत बनाउँछ । षडानन्दको आशीर्वादले प्राइवेटबाट स्नातकोत्तर गर्न सफल भएको मान्ने सुवेदीकै पहलमा ‘बरगाछी’ पत्रिका आज पनि प्रकाशित भइरहेको छ । विराटनगरले नागरिक अभिनन्दन गरेका सुवेदी एक सकारात्मक सोच र अत्यधिक परोपकारी भाव भएका व्यक्तित्व हुनुहुन्थ्यो, जसले कठिन यात्रा पार गर्नुभएको थियो ।
ज्ञान, निष्ठा र सामाजिक चेतना
प्राडा चक्रपाणि खनाल, लेखिकाका गुरु, को अध्ययनशीलताको उदाहरण असाध्यै राम्रो छ— एउटा पुस्तकालयका सबै पुस्तक पढिसक्नु चानचुने कुरा थिएन । उहाँले जीवनको सार्थकता र उद्देश्यमा धर्मको विस्तृत व्याख्या गर्नुका साथै जीवन र जीवनीभित्र धर्मको गुरुत्व बलको शून्यताको प्रयोग गरेर अरूभन्दा फरक धारमा आफ्नो परिचय स्थापित गर्नुभएको छ ।
प्राडा सोमप्रसाद खतिवडाको एक्लो चप्पलको प्रसङ्ग अत्यन्त मार्मिक छ । उहाँले पुराना पुस्तकहरू पढेको र वर्षामा स्कुल जान नसक्दा नेपालको विकासले गति लिन नसकेको यथार्थलाई स्मरण गर्नुभएको छ । धेरै संघर्ष र अभावमा, वर्षमा ६ महिना मात्र खुल्ने स्कुलमा पेज फाटेका पुस्तकबाट ज्ञान लिएर उहाँ प्राध्यापन क्षेत्रमा निकै माथिल्लो ओहदामा कार्यरत हुनुभएको कुरा उहाँको यथार्थपरक जीवनगाथाबाट थाहा हुन्छ ।
हाल काठमाडौं निवासी प्रा कोषराज न्यौपानेले आफ्नो जीवनीमा ‘नीति मेरो एकल संसदबाट पास गरें ’ भन्ने हरफ लेख्नुभएको छ । जीवनमा कतिपय कुराहरू आफैंले निर्णय गर्नुपर्ने सन्देश यसले दिन्छ । महाकाली घुम्दाको यात्रा कठिनाइले आँङ नै सिरिङ्ग पार्छ भने नेपालमा सरकारी कर्मचारीले गाडी अन्य व्यक्तिगत काममा प्रयोग गर्ने परम्परा पुरानै रहेको जानकारी पनि पाइन्छ ।
कविराज न्यौपानेले तीनपुस्तेको तमसुकसहित आफ्नो उपस्थिति जनाउनुभएको छ । सुरुमै आफ्ना कमजोरीहरू स्वीकार गर्नु उहाँको असल व्यक्तित्व र चिन्तक हुनुको सूचक हो । क्रान्तिकारीसमेत रहेका उहा“ प्रहरी फन्दामा पर्नु भएको थियो । उहाँले झन्डै ६५ वटा संस्थामा कार्य गर्नुभएको कुरा यहाँ उल्लेख छ । उहाँले दीर्घसेवा पदक र शिक्षा पुरस्कार नपाउनुमा अरूलाई दोष नदिएर आफ्नो कमजोरी पहिल्याउनुले उहाँको उदात्त चरित्र झल्किन्छ । पिता खगेश्वर न्यौपानेका पदचापमा हिंड्दाको सुखद् अनुभूति अद्यापि गरिरहनुभएको छ ।
बलराम पोखरेल, जसलाई लेखिकाले सानैमा माइली पोखरेलनी हजुरआमाको छोरा भनेर चिनेकी थिइन्, को जीवनीबाट सहिद मैदान कसरी नाम रह्यो भन्ने रहस्य खुल्छ । शैक्षिक इतिहासमा उहाँको अमूल्य योगदान रहेको छ । हलो जोतेर पनि संघर्ष गर्नुहुने बलराम पोखरेलले नेपाली साहित्यको भण्डार पनि भर्दै हुनुहुन्छ ।
राजेन्द्रप्रसाद निरौलाको जीवन संस्मरणमा गुरु ईश्वरभन्दा ठूलो हुन्छन् र सबै शिक्षक गुरु बन्न सक्नुपर्छ भन्ने प्रेरणा दिइएको छ । लामो शिक्षण गरेको भए पनि आफू असल गुरु बन्न सकिएन कि भन्ने उहाँको शङ्काले असल गुरुको परिचय दिन्छ ।
राजेंद्र विरही, लेखिकाका साना बुबा, आफ्नो समयमा कांग्रेसका सक्रिय युवा थिए र ३९ पटक कारागार पर्दा झण्डै ६ वर्ष बढी कारागारमा रहनुभएको थियो । पछि बहुदल ल्याउन उहाँको अतुलनीय योगदान रहेको कुरा उहाँको सूक्ष्म सङ्घर्षको टिपोटबाट थाहा पाउन सकिन्छ ।
विश्वराज ढुङ्गानाको पालामा एसएलसी. दिन १६ वर्ष पूरा हुनुपर्ने नियमले उहाँलाई निकै उमेर बढाउनुपरेको थियो । उहा“ले विद्यालयले शिक्षा मात्र नभई दीक्षा पनि दिनुपर्छ भन्नुभएको कुरा अत्यन्त सह्रानीय छ ।
दिदी गंगा सुवेदी विराटनगरमा प्रसिद्धि पाएको नाम हो । चेतना संरक्षणमार्फत पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म स्वयम्मा ब्रह्म देख्नुले उहाँ अध्यात्मको उच्च बिन्दुमा पुगेको देखिन्छ । उहाँको जीवनीले समभाव देखाउँछ र भेदभाव पटक्कै नरुचाउने बानी छ । साहित्यकार मात्र नभएर उहाँ एक चित्रकार पनि हुनुहुन्छ र उहा“भित्र अथाह ज्ञानको कोश छ ।
भीमेन्द्रबहादुर कार्कीको जीवन पनि यस कृतिमा समावेश छ । पहिलाको उमेर नखुलेको नागरिकताले उहाँलाई पारेको असरले चिना च्यातेको प्रसङ्गले पाठकलाई घत पार्छ । उहाँको परिचय काव्यात्मक शैलीमा लेखिएको र गीताबाट प्रभावित रहेको छ ः
जन्मेपछि मर्नै पर्छ, नित्य चिन्तन गर्छु
मर्छु भन्ने डर लिन्न सकेजति गर्छु
जीवन मैले भोगिसकेँ बाँकी छैन केही
पर्खी बसेको कहिले जाला देहबाट देही ।
ईश्वरप्रसाद निरौला, लेखिकाका फुपाजु, आफूले प्रजातान्त्रिक विषयको पर्चा छरेको तर सजाय अर्कोले पाएकोमा खेद व्यक्त गर्नुहुन्छ । विभिन्न संघसंस्थामा आवद्ध उहाँ बैंक र बाकसमा पैसा जम्मा गर्नुभन्दा शिक्षण पेसामा कमाएको इज्जतलाई सर्वोपरि ठान्नुहुन्छ । शिक्षक अन्य पेसाभन्दा निकै माथि र प्रतिष्ठित भएको उहाँको ठम्याइ ‘विद्वान् सर्वत्र पूज्यते’ भन्ने भनाइसँग मिल्छ ।
खिलनाथ खतिवडाको जीवनीबाट जुनसुकै देशको भए पनि पढेका मानिसलाई सम्मान गरिंदो रहेछ भन्ने कुरा प्रस्ट हुन्छ । बालापनमा भलाद्मी हुँदा पनि कसैका कुरामा छिटो विश्वास गर्दा धेरै दुःख भएका विभिन्न घटनाबाट विचलित नभई संयमित जीवन जीउनुपर्छ भन्ने नैतिक सन्देश उहाँले आफ्नो कवितात्मक संस्मरणबाट दिनुभएको छ ।
पण्डित भीमप्रसाद अधिकारीले सुरुमै जुन कविता प्रस्तुत गर्नुभएको छ त्यो सिङ्गो सनातन धर्मको सार हो । अँगेनामा पर्दाको प्रसङ्गले शतप्रतिशत हाम्रो जीवन ईश्वरले चलाउ“छ भन्ने प्रमाण पाइन्छ, त्यस्तै रुखको हाँगोको प्रसङ्ग पनि । मकै रुङ्न पठाउँदाको हास्य प्रसङ्गले भागवत्को जड भरतको सम्झना गराउँछ । उहाँको जीवनी पढेर भगवान्को कृपा उहाँमा कति छ भन्ने कुरा लेखेर साध्य छैन, उहाँ साक्षात् भगवान् जस्तै हुनुहुन्छ । उहाँले सम्पूर्ण भागवत महापुराणलाई नेपालीमा पद्यमा अनुवाद गर्नुभएको छ र उहाँ सबैका गुरु हुनुहुन्छ ।
अन्याय कसैको पनि नसहने, धरानको महेन्द्र कलेजमा बीएको पठनपाठन गराउने, भूत भेट्न खोज्ने र मृत्युको सत्यतालाई सहज स्वीकार गर्ने लक्ष्मीप्रसाद रिजालले वैदिक सनातन धर्ममा मृत्यु संस्कारमा गीताको पाठ र प्रवचन गर्ने महान् कार्यको नजिर राख्नुभएको छ । शताब्दी पुरुष बनिसक्नुभएका उहा“मा कर्मशीलता, जागरिलो स्वभावस“गै साहित्यिक अभिरुचि र साहसिकता पाइन्छ ।
सानैदेखि निडर, प्रस्ट बोल्ने, मनमा लागेको भनिहाल्ने, आँटिलो, र उपभोक्तालाई जागरण गराउन लागि परेका व्यक्तित्व हुन् – कृष्णप्रसाद भण्डारी ‘मार्सेली’ । उहाँले समाजमा धार्मिक तथा सामाजिक कामहरू थुप्रै गर्नुभएको छ । शिक्षकको तलब तीन महिनामा पाइने कुरा वि.सं. २०२५ सालमा पनि कायमै रहेको जानकारी पाइयो । उहा“ खोटाङ सामाजिक सेवा मञ्चको अध्यक्षका साथै विभिन्न सङ्घसंस्थामा उच्च पद तथा सल्लाहकारका रूपमा सक्रिय हुनुहुन्छ ।
बुद्धपूर्णिमाको दिन धर्तीमा आउनुभएका शालीन, मृदुभाषी, समाजसेवी बाबुराम न्यौपानेले आफ्नो जीवनीमा घरमा पुरुष नभए समाजमा आफूले पाउने आर्थिक अधिकारमाथि थिचोमिचो हुने यथार्थ देखाउनुभएको छ । सच्चिदानन्दको सुन्दर व्याख्या गर्नुका साथै देशलाई नै धोका दिएर आफ्नो पेट भर्ने काम गरेमा मातृभूमिको श्राप लाग्छ भन्ने अत्यन्त प्रेरणादायी भाव प्रकट गर्नुभएको छ । अप्ठ्यारो रोग लागे पनि हिम्मत नहारी आजको वयसम्म सक्रिय जीवन बिताइरहनुभएको छ ।
वसुश्री पाण्डे तथा सरला चापागाईं नेपाली साहित्यमा उज्याला ताराहरू हुन् । दुवैजना थुप्रै संघसंस्थामा आबद्ध छन् र दुवैको कार्यक्षेत्र विराटनगर नै रहेको छ । वसुश्री पाण्डेका कृतिमा शोधकार्य पनि भएको छ । सरला चापागाईंले डा नरेन्द्र चापागाईं स्मृति प्रतिष्ठानको संरक्षक बनेर चलाइरहनुभएको छ । उनीहरूले आ–आफ्ना सङ्घर्षका दिनहरूलाई सम्झिएर संस्मरण तयार गरेका छन् ।
छ सन्तानकी कान्छी छोरी भएर लाडप्यारमा हुर्किएकी निर्मला कोइरालाको जीवनमा पनि विवाहपछि केही अप्ठ्याराहरू आएको देखिन्छ, तर पनि हिम्मत र साहसले जीवनमा निकै अगाडि बढेको देखिन्छ । विद्यालयको इतिहास रच्ने विद्यार्थी निर्मला कोइराला निरौला परिवारकी चेली हुन् । पढाउने क्रममा तथा साहित्यिक क्षेत्रमा उहाँसँगको सान्निध्यतामा उहाँ शालीन र भद्र व्यवहारकी भएको महसुस गरिएको छ । उहाँले लेखेको एउटा हरफले मन छोएको छ – ‘आखिर मान्छेको खुसी कति सानो प्राप्तिभित्र पनि महासागर जस्तै विशाल हुँदोरहेछ’ । बाल्यकालको वातावरण, प्रभाव र प्रेरणाले भविष्यको रूपरेखा निर्धारण गर्ने रहेछ भन्ने मूल प्रेरणा उहाँको जीवन संस्मरणबाट थाहा पाइन्छ ।
सर्लाहीकी लक्ष्मी पोखरेलले आफ्नो जीवनका केही समय समाजका तीखा वचन सहनुपरेको छ । यसमा नेपाली समाजको यथार्थ रहेको छ, तर आत्मबल, विश्वास र ईश्वरीय कृपाले वर्तमानमा उहाँ खुसी र सुखी हुनुहुन्छ ।
नेपाली साहित्य र विराटनगरको शैक्षिक इतिहासमा चिरपरिचित नाम हो दिनेशराज सुवेदी (दिङ्लाली कान्छो) । सानै उमेरदेखि आफ्नो अध्ययनसँगै विभिन्न गोष्ठीहरूमा नियमित उपस्थिति जनाउँदा धेरै अग्रजसँगको बसउठ र घनिष्ठताले गर्दा धेरै किसिमका कर्ममा अघि बढ्न सहज भएको प्रत्यक्ष अनुभव उहा“ले गर्नुभएको छ । आफ्ना अग्रज दाजु दधिराज सुवेदीका पदचापले आफूलाई समाजमा प्रतिष्ठित गराएको अनुभूतिसँगै दर्जनौं संस्थालाई चलायमान गराउनुहुने उहाँले असफलता नै सफलताको सिंढी भन्ने कुरालाई अध्ययनमा लागू गर्नुभएको छ । परोपकार अभियानको नामकरण दर्ता गर्ने र त्यसमा सफल हुने दिनेशराज सुवेदीले विभिन्न संस्थामा रहेर समाजका विभिन्न क्षेत्रमा काम गरिरहनुभएको छ ।
एजेलिया स्कुलकी संस्थापक शारदा दाहाल एक अदम्य साहस भएकी महिलाका रूपमा उभिनुभएको छ । उहाँले हजारौं विद्यार्थीलाई शिक्षित गर्नुका साथै धेरैलाई रोजगारी पनि दिएकी छन् ।
त्यसैगरी, सुश्री सीता शर्मा संघर्षशील नारीका रूपमा अप्ठ्यारा र चुनौतीहरूसँगै अगाडि बढी नारी विकास संघ नेपालकी अध्यक्ष मात्र नभएर सामाजिक क्षेत्रकी अभियन्ता पनि हुनुहुन्छ भन्ने परिचय उहा“को संक्षिप्त जीवनकथाबाट थाहा पाइन्छ ।
समग्र प्रभाव र भावी पुस्ताका लागि सन्देश
समग्रमा, ‘जीवन र जीवनी’ संस्मरण विधाको यो कृतिले समाजमा गहिरो छाप पारेको छ । सर्वप्रथम त, यहाँका अधिकांश व्यक्ति जसले शिक्षामा इतिहास रचेका छन्, उनीहरूले कति कष्टले शिक्षा आर्जन गरे भन्ने कुराले नयाँ पुस्तालाई पढ्न प्रेरणा दिन्छ । आफूभन्दा ठूला मातापिता र गुरुको आज्ञा नमाने जीवनमा दुःख पाइन्छ भन्ने कुराले अहिलेको पुस्तालाई मार्गनिर्देशन गर्दछ ।
शिक्षामा धार्मिक नीतिनियमका पुस्तकहरू राख्नाले विद्यार्थीहरूमा राम्रो अनुशासन हुने, सभ्य र सुसंस्कृत भएर निस्कने कुराको टड्कारो उदाहरण यस कृतिमा भेटिन्छ । शिक्षकको कडा अनुशासनले विद्यार्थीको भविष्य उज्ज्वल हुने कुरा निश्चित छ ।
पहिले सबैका घरमा धार्मिक कृति र धार्मिक नाटकहरू नै मनोरञ्जनका साधन भएकाले गर्भदेखि नै राम्रा संस्कार भरिन्थे । तर हिजोआज बच्चामा नकारात्मक असर पर्न गएको निश्चित भइसकेको छ । विभिन्न व्यक्तिका जीवनका संघर्षहरूलाई केही समय प्रतीक्षा गर्दा भविष्य सुन्दर र सुनौलो हुने कुराको निश्चितता गर्न सकिन्छ ।
आधुनिक शिक्षाबाट कहिलेकाहीं विचलित भएर समाजमा घटेका नराम्रा घटना हुन नदिन यो पुस्तकको अध्ययन र अध्यापन अपरिहार्य छ । मृत्यु संस्कारमा पनि गरुड पुराण साथै भगवद्गीताको पाठ र प्रवचन गर्न सकिने कुराको नजिर समाजमा रहेको पाइन्छ, जसबाट सनातन धर्मको रक्षा गरी हाम्रा संस्कारहरू बचाएर राखेमा भावी पुस्ताले अनुसरण गर्न सक्ने कुरा सिकाएका छन् ।
अन्त्यमा, यस कृतिमा २३.३३ प्रतिशत महिलाको जीवनी छ, २६.६६ प्रतिशत भोजपुरका र अन्य धनकुटा, खोटाङलगायत अन्यत्रका छन् । यस्ता व्यक्तित्वको जीवनी विद्यालयस्तरको पाठ्यक्रममा भए उनीहरूले राम्रो प्रेरणा पाउन सक्ने थिए । यति राम्रो कृतिका लागि विदुषी प्रतिमा खतिवडा निरौलालाई हार्दिक बधाई तथा भविष्यमा यस्तै अन्य कृति लेखन र सम्पादनका लागि हार्दिक शुभकामना ।
View : 188
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved