विराटनगर । मानवअधिकार तथा शान्ति समाज मोरङ शाखाले १८औं गणतन्त्र दिवसको अवसरमा बिहीबार विराटनगरमा नागरिक संवाद चियापान कार्यक्रम आयोजना गरेको छ। गणतन्त्रका उपलब्धि, चुनौती र नागरिक समाजको भूमिकाबारे छलफल गर्न आयोजित सो कार्यक्रममा मानवअधिकारकर्मी तथा बुद्धिजीवीहरूको सहभागिता थियो ।
कार्यक्रम गणतन्त्र तथा यसका उपलब्धि, खबरदारी र गणतन्त्रलाई संस्थागत गर्न खेल्नुपर्ने भूमिकाबारे नागरिक संवाद अगाडि बढाइएको थियो । संवादमा भूपाल मिश्रले गणतन्त्रको विकल्प गणतन्त्र नै रहेको र यसलाई संस्थागत गर्न नागरिक समाज तथा सरकारको भूमिका प्रभावकारी हुनुपर्नेमा जोड दिए ।
केन्द्रीय सदस्य सुदिप रिजालले भ्रष्ट चरित्र भएका दलका नेता, कार्यकर्ता, सरकारी कर्मचारी तथा अस्थिर राजनीतिको कारण गणतन्त्रको नाममा धमिलो पानीमा माछा मार्ने काम भएको भन्दै खबरदारीमा कहाँ चुक्यौं भनी प्रश्न गरे ।
नागरिक संवादकै क्रममा हिमाल दर्शन कलेजका क्याम्पस प्रमुख भरत सापकोटाले साधारण तथा आजीवन सदस्यहरू बढाएर मोरङमा शान्ति समाजको कार्यक्रमलाई थप प्रभावकारी बनाउन सुझाव दिए ।
कार्यक्रममा समाजकी केन्द्रीय उपाध्यक्ष धन थापाले शान्ति समाजले गर्ने हरेक कार्यक्रम मानवअधिकारसँग जोडिएको हुनाले कहीं कतैबाट मानवअधिकार हनन हुन नदिन शान्ति समाजका मानवअधिकारकर्मीहरूलाई ध्यानाकर्षण गराइन् ।
कार्यक्रमको समापन गर्दै सभापति प्राडा जीवन कुमार ढकालले नागरिक हितका लागि शासन सञ्चालन गर्ने उपयुक्त विधि गणतन्त्र नै भएको बताए । उनले मानवअधिकार, अहिंसा, लोकतन्त्र र शान्ति मानवअधिकार तथा शान्ति समाजका चार आधारभूत स्तम्भ भएकोले यसको भावनामा ठेस लाग्ने गरी काम नगर्न सबै सदस्यहरूलाई अनुरोध गरे । हाल देशमा देखिएका भ्रष्टाचार तथा राजनीतिक विचलनहरू सुशासन कायम गर्न नसकेर नै भएको बताउँदै प्राडा ढकालले गणतन्त्रको उपलब्धिमाथि कहीं कतैबाट खतरा आएमा नागरिक खबरदारीका लागि शान्ति समाज अग्रमोर्चामा रहने प्रतिबद्धता व्यक्त गरे ।
शान्ति समाज मोरङका सभापति प्राडा जीवनकुमार ढकालको सभापतित्वमा सम्पन्न कार्यक्रमको संयोजन शान्ति समाजका केन्द्रीय कार्यसमिति उपाध्यक्ष धन थापाले गरेकी थिइन् । कार्यक्रममा पूर्व केन्द्रीय सदस्य सुदिप रिजाल र निर्मला सुवेदी कोइराला, आजीवन सदस्यहरू ओम प्रसाईं, राजेश कार्की, विनोद राजा रजक, भूपाल मिश्र, सीताराम चौलागाईं, केदार पौडेल, लक्ष्मी पोखरेल, अशोक लामा, मनोहर कोइराला लगायतका मानवअधिकारकर्मीहरूको उपस्थिति थियो । हिमालय दर्शन कलेजका क्याम्पस प्रमुख भरत सापकोटा र स्वास्थ्यकर्मी अजयकुमार साहको पनि उपस्थिति रहेको कार्यक्रममा शान्ति समाजका उपाध्यक्ष अशोक लामाले सबैलाई स्वागत गरेका थिए ।
View : 164
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved