विराटनगर । हुलाकी राजमार्ग अन्तर्गत मोरङको रंगेलीमा केही दिनअघि एउटा बसको ठक्करले बालिकाको ज्यान गयो । कारण थियो सडकमा सुकाएको बिस्कुल (मकै) । चालकले बालिकालाई जोगाउन ब्रेक लगाए, कालोपत्रे सडकमा सुकाइएको मकै माथि टायर चिप्लियो । चालकको केही लागेन, बस चिप्लिएर बालिका भएको ठाउँमा पुग्यो ।
स्थानीयले बससँग क्षतिपूर्ति मागे भनें बसधनीले मकै सुकाउने किसानले दिनुपर्ने तर्क राखे । अन्तिममा बसधनीको हार भयो ।
मोरङकै जहदा गाउँपालिकाका तत्कालिन प्रधानाध्यापक अजय सिंह मोटरसाइकलमा यात्रा गर्दै थिए । उनले गाडीलाई साइड दिने क्रममा सडकमा सुकाएको मकैतर्फ मोटरसाइकल मोडे । तत्काल लडेर उनको हात भाँच्चियो ।
सिंहले गाउँपालिकामा एउटा निवेदन दर्ता गराए । उनको माग थियो– किसानलाई मकै सुकाउने मेसिनमा अनुदान दिनु पर्ने ।
केही दिनअघि मात्रै मोरङकै सुनवर्षी नगरमा पर्ने हुलाकी राजमार्गमा सुकाइएको मकैमा मोटरसाइकल चिप्लिएर दुर्घटना हुँदा दुई युवा घाइते भए ।
मकै सुकाउने किसानसँग उनीहरुको बिवाद भयो । त्यहाँ हातपातको अवस्थासम्म बन्यो । त्यही बेला सीमापारि भारततर्फ भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले सडकमा सुकाएको मकै आफै उठाएको थियो ।
सुनवर्षी र बिहारतर्फका दुई भिडियो अहिले सामाजिक सञ्चालमा चर्चामा छन् । यता विराटनगर नजिकैको कटहरीका बासिन्दा हुलाकी सडकमा कालोपत्रे नभएको भनेर दवाबस्वरुप आन्दोलनमा छन् ।
केही पूर्व रंगेली र सुनवर्षी क्षेत्रको सडक बिस्कुनले ढाकेकाले सवारी साधनलाई सडकमा गुड्न हम्मे हम्मे पर्ने गरेको थियो ।
सुनौलो पूर्व नेपाल यातायातका उपाध्यक्ष तथा मोरङ इञ्चार्ज प्रकाश कार्की कतै कालोपत्रे भएकाले कतै सडक नबनेकाले हुलाकी मार्गमा दुर्घटना बढेको बताउँछन् ।
उनका अनुसार रंगेलीस्थित संसारीमाई मन्दिरमा शनिबार र मंगलबार दिइने बली र बलीको प्रसाद खान ग्रामीण क्षेत्रका मानिस ट्याक्टरको ट्रली भरी आउने गरेका छन् ।
‘ट्रलीभरी मानिस थिए, नजिकैबाट क्रस गरेको बसले ट्रलीलाई छोयो, एक बालिकाको औंला चुँडियो’ यातायात ब्यवसायी कार्कीले भने, ‘ट्याक्टरको ट्रलीमा मानिस चढाउन नपाइने कानुनमा प्रष्ट छ, सार्वजनिक सडकमा बिस्कुन सुकाउन पाइदैन ।’ यी दुबै कारणमा यातायात ब्यवसायी नै पीडित हुनु परेको उनको गुनासो छ ।
मोरङका प्रहरी नायव उपरीक्षक बेदप्रकाश जोशी रंगेलीमा बसले ठक्कर दिएर बालिकाको मृत्यु हुनुको कारण सडकमा सुकाइएको खाद्यान्न भएको बताउँछन् । ‘सडकमा खाद्यान्न सुकाउँदा ज्यान जानेसम्मको दुर्घटना भएको छ, यसमा पालिकाले कानुनी र ब्यवहारिक दुबैमा ध्यान दिनु पर्ने हो’ जोशीले भने ।
पालिकाले पनि ध्यान नदिएको होइन । दुर्घटनालगत्तै रंगेली नगरपालिकाले सार्वजनिक सूचना निकालेर सडकमा खाद्यान्न सुकाउन बन्देज लगायो ।
किसान आन्दोलनमा उत्रिए । घर अगाडिको सडकमा बिस्कुन सुकाउन दिनु पर्ने उनीहरुको माग थियो । अन्ततः रंगेली नगरपालिका किसान सामु झुक्यो र अर्को सूचना निकालेर पहिलेको सूचनालाई निस्कृय बनायो ।
नेपालको दोस्रो राष्ट्रिय राजमार्गका रुपमा चिनिने हुलाकी मार्गलाई निजी आ“गन सरह बिस्कुन सुकाउने वा जथाभाबी प्रयोग गर्न नहुने नागरिक समाजको भनाई छ ।
भारतमा जसरी सार्वजनिक सडकमा थुपारिएको वा सुकाइएको खाद्यान्न सुरक्षा निकायले पनि हटाउनु पर्ने यातायातकर्मी बताउँछन् ।
रंगेली, सुनवर्षी आसपासमा हुलाकी मार्गमा सडक कालोपत्रे भएकाले मकै सुकाउन सजिलो हुने हुँदा किसान मकै खेतीमा थप आकर्षित भएका छन् ।
‘एक लाख लगानी गर्दा पाँच लाख कमाई हुने भएकाले किसानले पहिले भन्दा धेरै गुणा मकै लगाएका छन्’ रंगेलीका वडा अध्यक्ष रामचन्द्र मण्डलले भने, ‘मैले पनि यस वर्ष दुई बिघा बढीमा मकै लगाएँ ।’
सडक कालोपत्रे भएकैले मकैमा किसानले लगानी गरेको उनको भनाई छ । वर्षायाम सुरु भएकाले मकै तत्काल सुकाएर बिक्री गर्नु पर्ने किसानको बाध्यता छ ।
‘रोडमा १५ दिन मकै सुकाउन नदिए १५ जना किसानले आत्महत्या गर्न सक्छन्’ वडाध्यक्ष मण्डलले भने, ‘त्यही भएर रंगेली नगरपालिका मकै सुकाउने निषेधबाट पछि हट्नु परेको हो ।’
हुलाकी राजमार्ग निर्माणमा भएको ढिलासुस्ती रोक्न मोरङका पालिका प्रमुख र सांसदहरुले सरकारलाई दवाब दिदै आएका छन् । ठेकेदारले समयमा काम नगरेकाले सरकारले पनि भुक्तानीमा ढिलाई गर्दै आएको छ ।
ठेकेदार कम्पनी स्वयमले आफैं निर्माण कार्य नगरेर छोटो छोटो सडक स्थानीय ठेकेदारहरुलाई बिक्रि गर्ने गरेकाले पनि सडक बिस्तार समयमा हुन सकेको छैन ।
View : 138
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved