Biratnagar, Morang, Nepal
१६ जेठ २०८२, शुक्रवार
+977 21 450305, 515728, 578305
कोशी

मर्यादित महिनावारी : प्रदेशसभामै छैन पूर्वाधार र वातावरण

जुनु भट्टराई
१५ जेठ २०८२, बिहिवार

विराटनगर । प्रदेशको सर्वोच्च जनप्रतिनिधिमूलक थलो हो प्रदेशसभा । कानुन निर्माण गर्ने सर्वोच्च थलोमा महिला सांसदहरुले भोगिरहेको एउटा साझा पीडा भने त्यहाँ हुने ‘ठूल्ठूला’ बहस र विमर्शको चेपुवामा परिरहेको छ । महिला सांसदहरुले संसद परिसरमै महिनावारीका बेलामा ठूलो सास्ती र पीडा भोग्नुपर्ने अवस्था अहिले पनि विद्यमान छ । 

कोशी प्रदेशका बहुसंख्यक महिला सांसदहरुले महिनावारीको समयमा खेप्ने असहज अवस्था प्रदेशसभा परिसरमा झनै बढेको अनुभव गरेका छन् । 

‘महिनावारीको समयमा झेल्नुपरेको समस्या कहाँ समस्या मानिन्छ र ? जस्तो समस्या आए पनि हामीले चुपचाप झेल्नुपरिरहेको छ’, प्रदेशका लागि कानुन बनाउने सांसदका यस्ता अभिव्यक्तिले नै प्रदेशसभामा उनीहरुले सहनुपरेको सास्तीबारे धेरै कुरा भन्छ ।  

कोशी प्रदेशसभा सदस्य कमला दर्नाल महिनावारीको समयमा संसदको बैठकमा सहभागी हुन निकै चुनौतीपूर्ण हुने अनुभव सुनाउँछिन् । कतिपय महिनावारीका दिनलाई संसदमा बस्नुपरेको समय सबैभन्दा कठिन समय पनि बन्ने गरेको उनको अनुभव छ । भन्छिन्, ‘हामी कानुन बनाउने ठाउँमा छौं । तर, यो ठाउँमा पुगेका हामी सांसदहरुलाई समेत महिनावारी हुँदा उठेर शौचालयसम्म जान पनि संकोचपूर्ण हुन्छ । संसदभित्रै महिनावारीमैत्री शौचालय छैन ।’

महिला सांसदहरुका अनुसार महिनावारी भएपछि तयारीका साथ नै हिंडेका हुन्छन् उनीहरु । उद्यपि बैठकमा बसेर काम गर्दा बारम्बार उठेर जान मिल्दैन । ‘सभाभित्र महिनावारीमैत्री शौचालय छैन, यस्तो बेला मलाई मात्र होइन, धेरै महिला सांसदहरूलाई असहज हुनेगरेको छ’ उनले भनिन् ।

त्यसो त संसदमा बस्ने महिलाहरूको अनुहारमा पर्याप्त आत्मविश्वास हुन्छ, स्वरमा बुलन्दी पनि उत्तिकै हुन्छ । जब शारीरिक असहजता भइरहेको बेला  सुविधा नहुँदाको समस्या पनि थपिन्छ, त्यसले पीडा दिने गरेको छ ।

महिला सांसद कमला मात्र होइनन्, प्रदेशसभाका अधिकांश महिला सांसदहरूले शौचालयको अवस्था महिनावारीमैत्री नहुनुका कारण महिनावारी समयमा शारीरिक असहजता भोग्नुपरेको छ । 

प्याड व्यवस्थापन गर्न सक्ने सुविधा, शौचालयमा पर्याप्त पानीको उपलब्धता र स्वच्छता सुनिश्चित गर्ने व्यवस्था नहुँदा उनीहरू आफ्नै अधिकारका लागि बोल्न पनि संकोच मान्नुपर्ने अवस्थाबाट गुज्रिरहेका छन् ।

महिनावारीका बारेमा बोल्दा हाँसोमा उडाइने, पुरुष सांसदहरूको मजाक सुन्नुपर्ने अनुभव धेरै महिला सांसदहरूले भोगेका छन् । एक सांसद भन्छिन् ‘हामी संसदमा महिनावारीबारे कुरा उठाउछौं भने व्यंग्य आउँछ । अब त टयाम्पुन पनि संसदले किनिदिनुपर्ने भो भन्ने तर्क आउँछ ।’

कोशी प्रदेशसभाको उपसभामुख महिला नै छन् । उपसभामुख सृजना दनुवार नीतिनिर्माण गर्ने ठाउँमै महिनावारी असहज हुँदा बाहिरको अवस्था कस्तो होला भन्ने अनुमान लगाउँछिन् । उनी थप्छिन्, ‘महिनावारी गरिमाको विषय हो । यो लाजको कुरा होइन, नीति र बजेटमा प्राथमिकता पाउनैपर्ने  विषय हो ।’

महिला सांसदहरुले गरेको अनुभव अनुसार महिनावारी स्वच्छता दिवसको सन्दर्भमा महिलाको स्वास्थ्य, सम्मान र समान अवसरका सवालमा बहस त हुन्छ । तर,  नीतिनिर्माण गर्ने ठाउँ—प्रदेशसभा जस्तो महत्वपूर्ण संस्थाभित्रै महिनावारीमैत्री पूर्वाधारको अभावले महिला सांसदहरूलाई दैनिक रूपमा भोग्नुपर्ने असहजता झनै विडम्बनापूर्ण देखिन्छ ।

महिला सांसदहरुका अनुभवमा  उनीहरुले  महिनावारीको पीडालाई संसदको भित्ताभित्रै लुकाएका छन् । ‘हामी नीति निर्माता हौं। तर, आफूले आवश्यक परेका कुरा उठाउँदा पनि अपराधबोध गर्नुपर्ने बिडम्बनापूर्ण अवस्था कायम छ’, एक सांसदको गुनासो थियो । 

महिनावारीबारे महिलाले बोल्न सक्दैनन्, किनभने समाजले अझै पनि यसलाई ’गोप्य’ र ’लाजको’ कुरा बनाइदिएको छ । तर, महिनावारी स्वास्थ्यको कुरा हो । आत्मसम्मानको कुरा हो । उपसभामुख दनुवारको शब्दमा— ‘महिनावारी रोकियो भने संसार रोकिन्छ । तर, महिलालाई भने त्यही महिनावारीका दिनमा संसदमा पनि मौन बस्न बाध्य पारिन्छ ।’ 

कोशी प्रदेशका धेरै महिला सांसदहरू अहिले पनि महिनावारीबारे संसदमा कुरा उठाउन अझै सहज नभएको बताउँछन् । समाजमा महिनावारीलाई अझै पनि ‘गोप्य’ र ‘लाजको कुरा’ मान्ने प्रवृत्तिका कारण महिलाहरू सार्वजनिक रूपमा बोल्न डराउने स्थिति विद्यमान छ । एक सांसद भन्छिन्, ‘महिनावारी समस्या होइन, यो त प्रकृतिको चक्र हो । तर, यसलाई लाज र गोप्य राखिनुपर्ने विषय बनाइँदा हामी महिनावारीको समयमा अनावश्यक कठिनाइमा पर्न बाध्य छौ ।’  

महिला सांसदहरुले दिएको जानकारी अनुसार संसदमा प्याड राख्ने व्यवस्था धरी  छैन ।  ‘डिस्पोजल सिस्टम’ छैन । यस्तो अवस्था विद्यालय, कार्यालय र अन्य सार्वजनिक स्थानमा झन् के होला भनेर उनीहरु आतेस मान्छन् । 

कतिपय सांसदहरूले महिनावारीजस्ता विषय संसदमा उठाउँदा पुरुष सांसदबाट उपहास सहनुपरेको अनुभव समेत सुनाएका छन् । ‘महिलासम्बन्धी विषय उठाउदा कतिपय पुरुष सांसद हाँस्छन्, यस्तो विषयलाई हल्का पार्छन् । यस्ता व्यवहारले हामी मौन बस्न बाध्य हुन्छौं’, एक सांसदले भनिन् ।

उपसभामुख दनुवार  महिनावारीमैत्री पूर्वाधार र प्याडको सहज उपलब्धताका लागि संसदमा बजेट सुनिश्चित गर्न माग गरिरहेको बताउँछिन् । 

‘महिलाको गरिमामाथि असर पार्ने यी समस्या समाधानका लागि हामी आवाज उठाइरहेका छौं । संसदभित्रको असहजताले  बाहिरका लाखौं महिलाको वास्तविकता प्रतिबिम्बित गर्छ’ उनी भन्छिन् ।

महिनावारी हुँदा महिलाले काम गर्न नसक्ने, बाहिर जान नहुनेजस्ता सामाजिक बन्धन अझै धेरै ठाउ“मा व्याप्त छन् । तर, यो बन्धन तोडेर महिलाहरू हरेक क्षेत्रमा नेतृत्व गरिरहेका छन ।

महिनावारी सहज बनाउने कुरा महिलाको स्वास्थ्यसँग मात्र होइन, आत्मसम्मान, शिक्षा, रोजगारी र सार्वजनिक सहभागितासँग पनि जोडिएको विषय हो । उपसभामुख दनुवार भन्छिन्, ‘महिनावारीबारे खुला छलफल महिलाहरूलाई आत्मनिर्भर र सशक्त बनाउँछ । संसदमा महिनावारीमैत्री नीति ल्याएर यसलाई अधिकारका रूपमा स्वीकार्नुपर्छ ।’

महिनावारीबारे मौन बस्नु महिलाको सम्मान र सहभागितामाथि चोट हो भन्ने  उपसभामुख दनुवारको स्पष्ट भनाइ छ ‘महिनावारी अब चुप लाग्ने होइन, सम्बोधन गर्नुपर्ने सार्वजनिक सरोकारको विषय हो ।’

View : 163

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved