विहारस्थित भारतीय कम्पनीको कार्यालयमा नेपाली युवाहरु । तस्वीर : उद्घोष
विराटनगर । आकर्षक कमाइको लोभमा भारत बिहारमा रहेका नेटवर्किङ धन्दाको फन्दामा परेका नेपाली युवाहरू कमाइ त परकै कुरा आफ्नै लगानीसमेत उठाउन नसकेर हैरानी खेपिरहेका छन् । एकपछि अर्को गर्दै ठगिइरहेका नेपाली युवाहरूका अनुसार बिहारको राजधानी पटनादेखि आसापासका शहरमा मौलाएका नेटवर्किङ धन्दाले धेरैलाई विचल्लीमा पारिदिएको छ ।
मोरङको रंगेली नगरपालिकाको वडा नम्बर ३ का जीवन थापा एक जना त्यस्तै पात्र हुन्, जो ‘वि विनर’ नामक भारतीय कम्पनीको ठगीमा परेर यतिबेला गाउँमा भौतारिइरहेका छन् । धेरैको पैसा फसाइदिएको अपजस बोकेर उनी तनावपूर्ण दैनिकी गुजारिरहेका छन् ।
आजभन्दा ठ्याक्कै १३ महिनाअघि थापा राम्रो आम्दानी हुने आशा लिएर पटना पुगेका थिए । गाउँकै अरू साथीहरूले सुनाएको अफरले थापालाई लोभ्याएको थियो । ‘सुरूमा १० दिने तालिमका लागि बिहारको राजधानी शहर पटना जानुपर्ने भयो, १३ महिनाअघि म त्यता गएँ’, केही वर्ष मलेसिया बसेर फर्केका उनले भने ‘सुरूको केही समय त ठीकै ठाउँमा आएँछु भन्ने लागेको थियो, विस्तारै थाहा भयो म त फँसेछु ।’
कम्पनीले तालिम दिने र त्यसपछि काम सुरू हुने कुरा साथीहरूले उनलाई सुनाएका थिए । सुरूमा १० दिनको तालिम लिएपछि मासिक २५ हजार भारू तलबमा काम पाइने, काम गर्न मन नलागे लगानी गरेर घरै फर्किए पनि हरेक महिना लगानी अनुसारको आम्दानी सोझै बैंकमा आउने कुरा साथीले उनलाई सुनाएका थिए ।
पिरामिड आकारको यस्तो धन्दा नेपालमा प्रतिबन्ध छ । यसबारे थापा बेखबर थिए । पटनाको मुख्य शहरभन्दा १५ किलोमिटर टाढाको एउटा ठूलो पाँच तलाको घरमा रहेको ‘वि विनर ट्रेडमार्ट’ बाट ठगिनेहरूको संख्या नेपालमा धेरै भएको पीडितहरूको भनाइ छ ।
कम्पनीमा पुगेका नेपालीलाई पहिलो दिन फारम भर्न लगाइन्छ । फारमसँगै २० हजार भारू तिर्नुपर्ने हुन्छ । ‘पैसा बुझेपछि दुई तीन जना टाइ सुट लगाएर चिटिक्क परेका नेपालीहरूले हामीलाई कामबारे सम्झाए । त्यहाँ काम गर्दाको फाइदाबारे धेरै आशालाग्दा कुरा गरे’, जीवनले भने ‘वि विनर’ कम्पनीले तयारी कपडाको कारोबार गर्दोरहेछ । त्यही कपडा बिक्री गर्नुपर्ने, बिक्रीका लागि हिड्न मन नहुनेहरूले लगानी गरे व्यापारिक साझेदार बन्न सक्ने कुरा त्यहाँ सुनाइएको थियो ।’
तालिम सकिएपछि कम्पनीका हाकिमहरूले आफूलाई अलग्गै कोठामा लिएर गएको र उनलाई काम गर्नभन्दा लगानी गरेर सदस्य थप्न आग्रह गरेको उनले बताए । ‘तपाईंले भारू दुईलाख लगानी गर्नुभयो भने हरेक महिना ९० हजारका दरले फिर्ता पाउनुहुन्छ । लगानी रकम सुरक्षित भइरहन्छ’, उनलाई भनिएको थियो । सँगै गएका साथीहरूसँग उनले सल्लाह गरे । उनीहरूले पनि लगानी गर्न हौस्याए ।
कति सकिन्छ पैसा लिएर आउँछु भनेर उनी घर फर्किए । चार जना थप मान्छे जोडेर आए झनै फाइदा हुने कुरा सुनाएपछि उनी मान्छे खोज्न थाले । त्यस क्रममा उनले भतिजा, भान्जाहरू भेला पारे । उनीहरू सबैलाई कम्तीमा ३० हजार भारू बोकेर हिड्न भनेका थिए । परिवारकै अभिभावकले राम्रो कमाइको आशा देखाएपछि बेरोजगार नवयुवा पनि हौसिए । बिहारबाट घर फर्केको दुई सातापछि दुई लाख भारू र नातेदार भाइ भतिजाहरूसहित उनी फेरि बिहारतिर लम्किए ।
विदेशबाट जोगाएको अलिअलि पैसामा केही थपेर कम्पनीमा पैसा बुझाए । पैसा बुझाएको पहिलो महिना उनको हातमा ३३ हजार भारू आयो । उनले २५ हजार तलब हुन्छ भनेर लगेका नातेदारहरूको हातमा ५–५ हजार मात्रै परेको थियो । धेरै पैसा हात पर्न कि लगानी गर्नुपर्ने कि २० हजार भारू एकमुष्ठ तिर्ने अरू सदस्य खोज्नुपर्ने शर्त कम्पनीको हुन्थ्यो ।
पहिल्यै लिएको २० हजारले तालिम, खाना लाइसेन्स पाइने भनिए पनि रंगेलीका युवाले त्यो लाइसेन्स देख्न पाएनन्, न हातमा कुनै काम नै पाए । दोस्रो महिना बितिसक्दा होस्टलमा अरू धेरै मान्छे थपिइसकेका थिए । दोस्रो महिना हातमा १५ हजार रूपैयाँ मात्रै परेपछि उनी झस्किए ।
‘९० हजार आउँछ भनेर दुई लाख हालेको पहिलो महिना ३३ र दोस्रो महिना १५ हजार मात्रै आयो’, उनले सुनाए ‘मैले लगेका भाइहरूले त पहिलो महिना पाएको पाँच हजार पनि पाएनन् । ’
त्यसपछि भने उनको तनावका दिन सुरू भए । आफूले लगेका परिवारकै निकट सदस्यले दिनरात किन हामीलाई फँसाएको भनेर दबाब दिन थाले । पैसा फिर्ता चाहियो भन्दै उनीहरूले किचकिच गरे । आफूले पुर्याएका चार जनाले दबाब दिन सुरू गरेपछि उनी पनि कम्पनीका ‘बोस’ हरूसम्म पुग्थे । तर, पहिले उनीसित ‘डिल’ गर्नेहरू त्यहाँ थिएनन् । उनलाई लिएर जाने साथीहरू पनि उस्तै हालतमा थिए ।
तीन महिनापछि मात्रै आफू ठगीमा परेको सुइँको पाएको सुनाउँदै उनले थपे, ‘त्यसबेलासम्म मेरो मात्रै अढाई लाख भारूभन्दा धेरै पैसा फँसिसकेको थियो, मैले लगेका भाइहरूको पनि सबै गरेर एक लाखभन्दा धेरै भारू सकिइसकेको थियो । त्यसपछि नेपाल पुगेर तिमीहरूको पैसा फिर्ता गर्छु भनेर उनीहरूलाई लिएर घर आएँ ।’ अहिलेसम्म कसैको रकम फिर्ता गर्न नसकेको उनी सुनाउँछन् ।
माइती नेपालको तथ्यांकअनुसार पहिलेपहिले धेरै महिला नजानेर, कसैले फकाएको वा आश्वासन दिएको भरमा भारतीय बजारमा बेचिन पुग्थे । अहिले पनि महिलाहरू भारत वा विदेशी बजारमा बेचिने क्रम जारी नै छ । ‘तर, बेचिने ट्रेन्ड चेन्ज भएको छ माइती नेपाल विराटनगरका प्रमुख विनोद पोखरेल भन्छन् ‘अहिले पुरूष, धेरै महिला र बालिकाहरू भारतीय नेटवर्किङ व्यापारको फन्दामा परेर भारतीय बजार पुगिरहेका छन् ।
त्यहाँ पुगेर पैसा त फँसाइरहेका छन् नै बेचिदा पाइने यातनाहरू पनि सहन बाध्य भएका छन् ।’ उनका अनुसार हरेक दिनजसो माइती नेपालको विराटनगर शाखाले माक्रै दुई तीन जना यस्ता व्यत्तिहरू सीमा क्षेत्रमा फेला पारिरहेको छ, जो खुला रूपमा वि विनरमा काम गर्न हिँडेको भनेर गइरहेका हुन्छन् । ‘१३ वर्षदेखिका नानीहरू पनि गएको भेटेपछि हामीले उनीहरूलाई रोक्दै घर फर्काइरहेका छौं’, उनले भने ‘तर, कतिपय बेला त अभिभावक आफैंले आएर उनीहरूलाई वि विनरमा पठाएको भन्दै हामीसित झगडा गर्नुहुन्छ ।’
पोखरेलका अनुसार भारतमा पुगेर पैसा फँसाइसकेका वा दुःख पाएकाहरूको कुरा सुन्दा ‘वि विनर’ का नाममा हजारौं नेपालीको ठूलो रकम डुबेको छ । धेरै महिलाहरूले यातना खेपिरहेका छन् । तर, त्यसबारे थाहा नपाएका र काम दिन्छु भन्दै बोलाउनेको मात्रै भर पर्नेहरू भने आफूहरूसित रिसाउने गरेको उनले बताए ।
मानव ओसार पसारविरूद्धकै क्षेत्रमा विराटनगरमा कार्यरत अरू दुईटा संस्थाको अनुभव पनि माइती नेपालको भन्दा फरक छैन । नव अभियान नेपाल मोरङका अनुसार वि विनर, ओरियन्स, ओसन जस्ता नेटवर्किङको फन्दामा पर्नेहरूको संख्या अधिक बढिरहेको छ । तराईभन्दा पहाडी जिल्लाका मानिसहरू धेरै फँसेको पाइएको यी संस्थाको तथ्यांक छ ।
‘इलाम, पाँचथर, संखुवासभा, सुर्खेततिरका धेरै पीडितहरूलाई हामीले सीमा क्षेत्रबाट नेपालतिर आएको भेटेका छौं, पोखरेलले भने ‘कतिले प्रहरीमा उजुरी गर्नुभएको छ । कतिले पैसा माया मार्नु भएको छ । धेरैको विजोग भएको छ ।’ ६–७ कक्षा पढेर छाडेका, १९ वर्षभन्दा मुनिका धेरै नानीहरू यस्तो व्यापारको मारमा परेको उदाहरण धेरै भेटेको पोखरेलको अनुभव छ ।
माइती नेपालकी मनोपरामर्शदाता गीताञ्जली शर्माका अनुसार पछिल्लो समय साथीको लहैलहैमा लागेर अभिभावक मनाएर अथवा अभिभावकलाई छलेर नेटवर्किङ व्यापारमा फस्न जानेहरूको संख्या बढेको छ । नेपाल प्रहरीले पनि पछिल्लो समयमा भारतीय नेटवर्किङ धन्दाका कारण नेपालीहरू ठगिएको उजुरीहरू आइरहेको जानकारी दिएको छ । यस्ता पीडितहरू पहाडी जिल्लामा सबैभन्दा धेरै छन् । ‘अन्डर एजका व्यक्तिहरूको उजुरी त हामीसम्म अहिलेसम्म आएको छैन, इलाम प्रहरीका एक अधिकृतले भने ‘तर, यहाँका विभिन्न पालिकाका पीडितहरूले उजुरी दिएका छन् ।’
सामान्य चिनजानकै व्यक्तिले लोभ देखाएको भरमा धेरैले पैसा डुबाएको भेटिएको माइती नेपालको भनाइ छ । ‘कतिपय उमेर नपुगेका नानीहरू फेसबुकमा चिनेकै भरमा त्यसरी पैसा कमाउन भन्दै हिडेको पनि पाएका छौं’ मनोपरामर्शदाता शर्माले थपिन् ‘सबै उमेर समूहका मानिसहरू यस्तरी फसेको भेटेका छौं ।’
View : 176
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved