विराटनगर । चाडवाड नजिकिएसँगै सीमा क्षेत्रको भारतीय बजारमा किनमेल गर्न जाने उपभोक्ताहरुको भीड बढ्दै गैरहेको छ ।
भारतीय बजारमा किनमेल गर्न जानेहरुको सूचीमा चिनी, मसला, दाल, तेल, चामलदेखि फलफूलका साथै कपडा पनि पर्दछ । उता सस्तो पाइन्छ भन्ने भ्रममा परेका नेपाली उपभोक्ताहरु मूल्य, तौलदेखि लिएर गुणस्तरमा समेत ठगिने गरेका छन् ।
भारतीय बजार जोगबनी जानेहरुमा उपभोक्ताहरु मात्र छैनन् । उताबाट माल, बस्तु यता ल्याएर बेच्ने पेशेबर झोले, पोकेहरु पनि छन् ।
सीमा नाकामा डयुटी गर्ने सशस्त्र प्रहरीको रेकर्डमा एक जनाले दिनमा ४० पटकसम्म भारतबाट सामान ओसारेर नेपालतर्फ जम्मा गर्ने र भेला गरेर बजारमा पुर्याउने गरेको पाइएको छ । त्यस्तालाई कसैगरी पनि रोक्न नसक्ने सशस्त्र प्रहरीको भनाइ छ ।
सरकारलाई राजस्व नतिरीकन नेपाल भित्रिने भारतीय माल बस्तुमा मुख्य गरेर चामल, खानेतेल, चिनी लगायत हुन् ।
जोगबनी बजारबाट दैनिक ३० हजार बोरा चामल नेपाल भित्रिने गरेको प्रहरीको रेकर्डमा छ । २० किलोको प्याकिङमा पाइने चामलको मूल्य नेपालको भन्दा प्रति बोरा ८ सयसम्म सस्तो पर्दछ । न्यून आय भएका उपभोक्ताहरु भारतकै चामलमा निर्भर छन् । खाने तेल पनि ठूलो परिमाणमा भित्रिने गर्दछ । तर भारतीय खाने तेल कतिसम्म खानेयोग्य छ भन्ने जानकारी उपभोक्तालाई छैन ।
नक्कली खाने तेलको उत्पादन
हामीले सस्तो ठानेर भारतीय बजारबाट किनेर ल्याउने गरेको खाने तेल खानयोग्य छ कि छैन भन्ने हामीलाई थाहा छैन । सीमा क्षेत्र नजिकैका भारतीय बजार फारबीसगञ्ज, गुलाबबाग, पूर्णिया लगायतका ठाउँमा नक्कली तोरीको तेल उत्पादन गर्ने दर्जनौं कारखानाहरु रहेको बताइएको छ ।
केही वर्ष पहिले भारतीय प्रहरीले पूर्णियाँको गुलाबबागस्थित श्याम एग्रो आयल मिलमा छापा मारेर भारु २१ लाख मूल्य बराबरको नक्कली तोरी तेल बरामद गरेको थियो । भूमिगत ट्यांकी बनाएर जम्मा गर्ने गरेको १२ हजार लिटर नक्कली तोरीको तेल बरामद गरेको थियो ।
नक्कली खाद्य तेलको कारोबार गर्ने व्यापारीहरुले ब्रान आयल लगायत अन्य तेलमा तोरीको बास्ना आउने रसायन (एसेन्स) हालेर विभिन्न नाम चलेका कम्पनीको ब्राण्डमा बजारमा ल्याएर बेच्ने गर्दछन् । नेपाली उपभोक्ता अज्ञानतावस त्यही तेल खान बाध्य छन् ।
समाचार स्रोतका अनुसार सीमा क्षेत्रका भारतीय बजारमा बार्षिक ५० करोड भन्दा बढीको नक्कली खाने तेलको कारोबार हुने गर्दछ र त्यो सबैको खपत नेपालमै हुने गर्दछ । अररिया जिल्लाको एसपी भएर शिवदीप लाण्डे आएको बेलामा नक्कली खाद्यवस्तुको कारोबार गर्नेहरुमाथि कडा निगरानी राख्दै केहीलाई कार्वाही चलाएका थिए । अहिले लाण्डे डीआईजी भएर पूर्णिया आएका छन् ।
पूर्णिया जिल्लाको गुलाबबाग बजार पूरै उत्तर विहारको सबैभन्दा ठूलो मण्डी बजार हो । यहाँको बजारबाट दैनिक उपभोग्य बस्तु मुजफरपुरका साथै नेपाल र बंगलादेशसम्म पुग्ने गर्दछ । त्यसैले नक्कली खाद्यबस्तुको व्यापार गर्नेहरुले गुलाबबागलाई मुख्य थलो बनाएका छन् ।
उक्त बजारमा भारतीय नामुद कम्पनीको ब्राण्डमा डिटर्जेन्ट पाउडर, साबुन, दन्तमञ्जन, केश–तेल, सिमेन्ट लगायत विभिन्न बस्तुको नक्कल गरी बजारमा ल्याएर बिक्री गर्ने गरेको बताइएको छ । चाडवाडको बेलामा नक्कली उत्पादन गर्ने व्यवसायीहरु झनै सक्रिय हुने गर्दछन् ।
View : 6105
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved