Biratnagar, Morang, Nepal
२९ पुष २०८१, सोमवार
+977 21 450305, 515728, 578305
आर्थिक

कृषि एक्स्पो २०८१

जैविक मल र विषादी उत्पादनमा अग्रसर बन्दै कमल गाउँपालिका

उद्‌घोष सम्वाददाता
२९ भदौ २०८१, शनिवार

विराटनगर । झापाको कमल गाउँपालिकाले रासायनिक मल र मानव स्वास्थ्य प्रतिकुलका विषादीको विकल्पमा जैविक मल र विषादीको व्यवसायिक उत्पादनको सम्भावनालाई बलियो बनाउँदै लगेको छ । गाउँपालिकाले पाँच वर्षदेखि जैविक मल र विषादीको उत्पादन र प्रयोगलाई स्थानीयस्तरमा गर्दै आएको हो । जैविक मल र विषादीको उत्पादनलाई औद्योगिक रूपमै अघि बढाउन अध्ययन अनुसन्धानलाई जारी राखेको छ ।

अर्ग्यानिक कृषि उत्पादनमा जोड दिँदै आएको गाउँपालिकाले बर्सेनी २० टन जैविक सुख्खा मल र एक लाख लिटर झोल मल उत्पादन गर्दै आएको गाउँपालिकाका कृषि अधिकृत महेन्द्र बोहराले जानकारी दिए । 

अन्य स्थानीय तहसँग आफ्नो प्रविधिबारे जानकारी आदान–प्रदान गर्ने र उपभोक्ताहरूलाई सचेतना प्रदान गर्ने उद्देश्यले गाउँपालिकाले मोरङको कटहरीमा जारी कृषि एक्स्पोमा स्टल नै राखेर जैविक मल र विषादी प्रयोगको अभियान चलाइरहेको छ । गाउँपालिकाको कृषि शाखाका कर्मचारीहरूले एक्स्पो अवलोकनकर्तालाई जैविक मलको महत्वबारे जानकारी गराउँदै आएका छन् ।

गाउँपालिकाका कृषि अधिकृत बोहराले रासायनिक मल र विषादीको विकल्पमा जैविक मल र विषादीको प्रयोगलाई अघि बढाएको बताए ।  २०७६ सालदेखि गाउँपालिकाले जैविक मल र विषादीबारे स्थानीय स्तरमा सचेतना र प्रयोगको अभियान चलाइरहेको उनले जानकारी दिए ।

‘रासायनिक मलको विकल्प खोज्न सकिन्छ भनेर विभिन्न क्षेत्रमा छलफल हुन थालेको बेलामा हामीले पनि जैविक मल र विषादी उत्पादन गर्दै आएका छौँ’ उनले भने, ‘२०७६ सालदेखि हामीले उत्पादन गरिरहेका छौँ, अब उद्योगकै रुपमा अघि बढाउने तयारीमा हामी आइपुगेका छौँ ।’

उनले मल र विषादीको नाम पनि गाउँपालिकाकै नामलाई जोडेर उत्पादन गरिरहेको बताए । हाल कमल एनपिके, कमल युरिया, कमल झोल मल र कञ्चन मल र कमल निमास्त्र नामक जैविक विषादी उत्पादन गरिरहेको उनले जानकारी दिए ।

‘हामी जैविक मलको उत्पादनको प्रविधि पहिचानको चरणबाट अघि बढेका छौँ, अब औद्योगिक चरणमा प्रवेश गर्दैछौँ’ कृषि अधिकृत बोहराले भने, ‘उद्योग स्थापनाको मोडलबारे छलफल गरिरहेका छौँ, त्यसका लागि एउटा समिति पनि बनाएर अघि बढ्ने तयारीमा छौँ ।’

गाउँपालिकालाई जैविक मल र विषादी उत्पादन र यसको प्रयोगका लागि ग्लोबल फोरम फर सस्टेनेबल रुरल डेभलपमेन्ट नामक कृषि अनुसन्धानकर्ता र वैज्ञानिकहरू सम्मिलित संस्थाले समेत सहयोग गर्दै आएको छ । कोभिड–१९ को महामारी फैलिएको बेलामा गाउँपालिकाले स्थानीय स्तरमा जैविक मल र विषादीको प्रयोगबाट अर्ग्यानिक उत्पादनमा जोड दिँदै आएको जनाइएको छ ।

View : 305

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved