Biratnagar, Morang, Nepal
२८ भदौ २०८१, शुक्रवार
+977 21 450305, 515728, 578305
स्वास्थ्य

उद्घोष २० औं वार्षिकोत्सव विशेष

विराटनगर नर्सिङ क्याम्पस र नर्सिङ पेशा

मेनुका भण्डारी
५ भदौ २०८१, बुधवार

Advertisement

कोशी प्रदेश, मोरङ विराटनगरको मुटुमा रहेको, त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानको एक मात्र आंगिक नर्सिङ क्याम्पस हो, विराटनगर नर्सिङ क्याम्पस । यसको स्थापना वि.सं. २०२३ सालमा श्री ५ सरकारको अनमी तालिम केन्द्रको रूपमा भएको हो । विसं २०२९ सालमा त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान स्थापना भएपछि त्रिविअन्तर्गत कार्यक्रमहरू सञ्चालन भए । 

विभिन्न समय, कालखण्ड पार गर्दै यस क्याम्पसले ५८ वर्ष पूरा गरिसकेको छ । यसमा प्रमाणपत्र तह नर्सिङ ३६औं ब्याचसम्म संचालन भई वि.सं. २०७७ बाट फेजआउट भएको छ, यो हाम्रो चाहना थिएन, विश्वविद्यालयको नम्स अनुसार भएको हो । किनकि यो क्याम्पस प्रवीणता प्रमाणपत्र नर्सिङबाट बढी चर्चा पाएको क्याम्पस हो । 

शैक्षिक सत्र २०७०/७१ बाट स्नातक तह बीएनएस (३ वर्षे) र शैक्षिक सत्र २०७७/७८ बाट स्नातक तह बीएस्सी नर्सिङ (४ वर्षे) कार्यक्रम हाल ४०–४० कोटामा संचालनमा छ, जुन हाम्रा लागि ऐतिहासिक उपलब्धी पनि हो । यस क्याम्पसबाट उत्पादित नर्सिङ जनशक्ति स्थानीय, प्रदेश, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा अब्बल भएर काम गरिरहेको अवस्था छ ।

यस क्याम्पसमा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विद्यार्थीहरू पढ्ने भएकाले उनीहरूलाई सहुलियतमा होस्टल (छात्रावास)को व्यवस्था पनि उपलब्ध गराइएको छ, करिब १५० जना विद्यार्थी होस्टलमा बस्छन् र पूर्णकालीन रुपमा होस्टल वार्डेनको व्यवस्था छ । यहाँ विद्यार्थीहरूलाई मेसमा खाना खाने व्यवस्था मिलाइएको छ, डाइनिङ हलको व्यवस्था, रिडिङ रूमको व्यवस्था, शुद्ध खानेपानीको लागि वाटरप्लाण्ट जडान, नर्सिङको प्रयोगात्मक अभ्यासका लागि ल्याबहरूको व्यवस्था, इन्टरनेट सुविधासहितको पुस्तकालय र खेलकुदको सामग्रीहरू उपलब्ध छ । क्याम्पस व्यवस्थापनको लागि विभिन्न समितिहरू निर्माण गरिएका छन् ।
राजनीतिक, आर्थिक, सामाजिक, पर्यावरणीय र कानुनी दृष्टिकोणबाट यस क्याम्पसका धेरै सबल पक्षहरू छन् । सातै प्रदेश मध्येको एक उत्कृष्ट नेतृत्वदायी नमूना क्याम्पसको रूपमा यसको सर्वाङ्गीण विकास गर्नका लागि शैक्षिक, भौतिक निर्माण तथा सुधार, अनुसन्धान, सुशासन र पारदर्शिता, दिगो आर्थिक तथा शैक्षिक विकास, जोखिम न्युनीकरण कार्यक्रमहरू थप गर्दै लैजाने नीति, अनुगमन र मूल्यांकन प्रभावकारी बनाउने कार्यहरू भइरहेका छन् । 

विराटनगर नर्सिङ क्याम्पसले आर्थिक वर्ष २०७५/७६ देखि २०७९/८० (सन् २०१८–२०२३) सम्मको योजनाबद्ध साथै सरोकारवाला समेतको सहभागितामा क्याम्पसलाई एक नमूना नर्सिङ क्याम्पसको रूपमा स्थापना गर्ने दुरदृष्टि  राखि पाँच वर्षे रणनीतिक योजनाको निर्माण गरिएको थियो ।

नेपालको संविधान २०७२ ले व्यावसायिक तथा प्राविधिक उच्च शिक्षामा पहुँच अभिवृद्धि गर्न जोड दिएको छ । समुदाय तथा सरोकार पक्षहरूलाई समेत उत्तरदायी बनाई समग्र शैक्षिक प्रक्रियामा कार्यक्रमलाई प्रभावकारी, सान्दर्भिक र व्यवहारिक एवं गुणस्तरीय बनाउनु पर्ने आवश्यकता छ । शैक्षिक संस्थाहरू निश्चित मापदण्डमा गुणस्तरयुक्त शिक्षा प्रदान गर्ने उत्कृष्ट प्राज्ञिक थलो हुने स्थापित मान्यता स्वरूप गुणस्तर सुनिश्चितता एवं प्रत्यायन (क्वाइलिटी एस्सुरेन्स एण्ड एक्रिडिटेशन) प्रणालीको थालनी गरिएको थियो । जुन अहिले प्रत्यायनकृत भएर विराटनगर नर्सिङ क्याम्पसले प्रमाणपत्र प्राप्त गरिसकेको अवस्था छ ।

नर्सिङ स्वास्थ्य सेवाको एउटा महत्त्वपूर्ण अंग हो । एउटा नर्स बिरामीको सबैभन्दा बढी सम्पर्क आउने व्यक्ति हो । नर्सिङ सेवाको गुणस्तर र नर्सिङ व्यवस्थापनको अवस्थाले कुनै पनि सरकारी तथा निजी अस्पतालको छविलाई प्रतिविम्बित गराउँछ । नर्सहरूले अस्पतालमा अनमी, स्टाफ नर्स, नर्सिङ अधिकृतदेखि सहसचिव तहका नर्सिङ प्रशासकसम्म भएर काम गरिरहेको अवस्था छ । नर्सिङ प्रशासनले ठूला कार्यहरूलाई पनि सुसंगत र क्रमबद्ध तरिकाबाट सम्पन्न गर्न सक्छन् र नर्सिङ सेवालाई प्रभावकारी र मितव्ययी बनाउँदै नर्सिङ सेवाको लक्ष्य प्राप्तिमा उन्मुख गराउँछन् ।

त्यसैगरी नर्सिङको अर्को महत्त्वपूर्ण क्षेत्र हो शिक्षण, जुन नर्सिङ क्याम्पसहरूले सम्हालिरहेका हुन्छन, यो खासगरी शैक्षिक नीतिहरूको सूत्रीकरण, कार्यान्वयन र कार्य सम्पादनसँग सम्बन्धित छ । जसरी लेन्सले हरेक चिजलाई फोकस गरेर देख्न  सकिने बनाउँछ त्यसरी नै शिक्षण पेसामा सही शिक्षकले सही विद्यार्थीलाई सही तरिकाबाट शिक्षा प्रदान गर्न सक्छन् भन्ने  कुरामा विश्वास गर्दछ । यसका लागि नर्सिङ क्याम्पसहरूमा प्रशिक्षकदेखि लिएर प्राध्यापक तहसम्मका शिक्षकहरूले प्राध्यापण गरिरहेको अवस्था छ ।

नर्सिङको मुख्य लक्ष्य भनेको जीवन रहेसम्म व्यक्ति, परिवार र समुदायको स्वास्थ्य प्रवर्धन गर्ने, रोगको रोकथाम गर्ने, कुनै बिराम र रोगको कारणले गर्दा कमी भएको शरीरको कामलाई पुनर्स्थापना गर्ने हो । नर्सिङ विज्ञान र कला दुवै हो । नर्सिङ शिक्षाले निरन्तर व्यक्तिगत र पेसागत वृत्तिविकास गर्दछ, जहाँ विद्यार्थी र संकायले बराबर परिणामहरू साझेदारी गर्ने अवसर प्राप्त गर्दछन् । शैक्षिकका कार्यक्रमको मुख्य उद्देश्य विद्यार्थीहरूको सिकाइलाई प्रवर्धन गर्ने हो र शिक्षा भनेको एउटा जीवनभरको प्रक्रिया हो ।

विगतमा नेपालमा स्वास्थ्य सम्बन्धी स्नातक वा सो भन्दा माथिको स्तरका विषयहरूको (नर्सिङ, मेडिसिन, जनस्वास्थ्य लगायतका) प्रवेश परीक्षा र भर्ना प्रक्रिया विभिन्न  विश्वविद्यालय र प्रतिष्ठानहरूले स्वयम् संचालन गर्दै आएकोमा राष्ट्रिय चिकित्सा शिक्षा ऐन २०७५ लागू भए पश्चात चिकित्सा शिक्षाको नियमनलाई एकीकृत तथा चुस्त बनाउन, गुणस्तर, पेसाधर्मिता, संस्थागत जवाफदेही, भौगोलिक सन्तुलन र सामाजिक न्याय कायम गरी, विपन्नलगायत सबै विद्यार्थीहरूको समान पहुँच सुनिश्चित गर्नका लागि चिकित्सा शिक्षा आयोगले एकीकृत प्रवेश परीक्षा प्रणालीको सुरूवात भएको छ । 

एकीकृत प्रवेश परीक्षाको नतिजा प्रकाशन पश्चात भर्नाको लागि सम्बन्धित विश्वविद्यालयले पूर्ववत निर्धारण गरेको निकाय वा कार्यालयमा (डिनको कार्यालय) भर्ना हुने व्यवस्था बमोजिम समयावधिभित्र भर्ना भई कक्षा संचालन हुने मिति भन्दा १५ दिनभित्र सम्बन्धित क्याम्पसमा सम्पर्क गरी क्याम्पसको भर्ना प्रक्रिया पूरा भए पश्चात कक्षा संचालन गर्ने व्यवस्था छ । 

नेपालको सन्दर्भमा हाल पर्याप्त दक्ष नर्सको खाँचो र महत्त्व दुवै छ । यसका लागि हरेक शैक्षिक संस्था गुणात्मक रूपमा दक्ष नर्सिङ जनशक्ति उत्पादन गर्न जिम्मेवार हुनै पर्दछ जो भोलि गएर गाउँ, शहर, हिमाल, पहाडमा जनतालाई सेवा पुर्‍याउन सकुन् । बदलिंदो स्वास्थ्य सेवा प्रणाली र सामाजिक आवश्यकता अनुसार, नर्सिङ शिक्षामा पनि परिवर्तन तथा सुधार ल्याउँदै जानुपर्ने हुन्छ । नर्सहरू देश र जनताको आवश्यकता अनुरूप उत्पादन वा तयार पार्नु पर्दछ, विदेश पलायनका लागि मात्र होइन ।  नेपालको परिप्रेक्ष्यमा अब धेरै कम्युनिटी नर्स, स्कुल नर्सहरूको खाँचो  छ । 

विश्वरमा करिब एक सय वर्ष अघि शुरू भएको स्कुल नर्सको अवधारणा हाल देश संघीयतामा गइसकेपछि शुरू भएको छ । आशा छ आगामी दिनमा देशका सबै सामुदायिक तथा प्राइभेट स्कुलहरूमा हामी स्कुल नर्स देख्न सक्नेछौं । यसले नर्सहरूको रोजगारी सिर्जना गर्ने अवसर मात्र होइन, प्रतिकारात्मक र प्रवर्द्धनात्मक सेवाको माध्यमबाट धेरै समस्याहरू र रोगहरूको रोकथाम तथा समाधान गर्न सक्छ । साथै विदेश पलायन भएर हजारौं घरहरू छोरी–बुहारीविहीन हुने थिएनन्, हजारौं वृद्धवृद्धा सहाराविहीन र लाचार भएर बाँच्ने स्थिति आउने थिएन । 

छोरीहरू तथा महिलाको शिक्षामा सुधार गर्नसके त्यसले राष्ट्रको आर्थिक वृद्धिदरमा समेत टेवा पुर्‍याउन सक्थ्यो । नर्सहरूले सबैका लागि स्वास्थ्य सेवा पुर्‍याउनका लागि स्वास्थ्य शिक्षाको माध्यमबाट नसर्ने तथा सर्ने रोगहरूमा शिक्षा प्रदान गर्न सक्छन्, देशमा बढिरहेको मानसिक समस्या तथा बालबालिकाहरूको बानी व्यवहारका समस्यालाई समयमै पहिचान गरी परामर्श गर्न सक्छन् तथा प्रेषण गर्न सक्छन् ।

लागुपदार्थ दुर्व्यसन जस्ता विषयमा युवाहरूलाई सजग गर्न सक्छन्, समाजमा बढ्दै गइरहेका महिला हिंसा, बाल यौन शोषण, चेलिबेटी बेचविखन जस्ता समस्याहरूमा वकालत गर्न सक्छन् तर त्यसका लागि राज्यले स्पष्ट नीति नियम, रणनीति र साधनहरू व्यवस्थापन गर्नुपर्दछ । राज्यले स्वास्थ्य जनशक्ति उत्पादन गर्ने शैक्षिक संस्थाहरूलाई गुणस्तरीय शिक्षा प्रदान गर्न प्रेरित गर्नुपर्दछ र तिनीहरूबीच समन्वयको वातावरण सृजना गर्दै राष्ट्रको आवश्यकता अनुसारको जनशक्ति उत्पादन गरी त्यसको यथोचित व्यवस्थापन गर्नु पर्दछ ।

(लेखिका त्रिभुवन विश्वविद्यालय,  विराटनगर नर्सिङ क्याम्पसकी प्रमुख हुन् ।)

View : 1019

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved