एआई निर्मित तस्वीर ।
सामाजिक जीवन चक्र मानव सभ्यता र विकाशको सूचक हो । जुन गति र परिवेशमा जीवन चक्र अघि बढ्छ सोही आधारमा समाज विकाशका चरण र सभ्यताहरू विकशित हुँदै जाने हुन् । जंगली युगदेखि आजको आधुनिकताको चरम रौनकतासम्म प्रवेश गरीसक्दा समाज विकाशको गतिले अनेकौ चरण पार गरिसकेको छ ।
यस अवधिसम्म मान्छेले अनेकौ वैज्ञानिक चमत्कार पनि गर्दै आएको छ । आज विज्ञान र प्रविधिको क्षेत्रमा जे जति चामत्कारिक प्रगति भएका छन्, ती सबै मानव सभ्यताका उपज नै हुन् । समाज विकाशको चरणसँगै विकशित हुँदै आएको मानव चेतनाको उन्नत अवस्थाको कारणनै विश्व मानव चन्द्रमासम्मको यात्रामा सफल भएको हो । राजनीतिक तथा आर्थिक रुपान्तरणको गतिसँगै सामाजिक तथा संस्कृतिक रुपान्तरणको गति समान रुपमा अघि बड्न सक्नु पर्दछ ।
साँस्कृतिक रुपान्तरण बिना समाजलाई प्रगतिशील चेतनाले सज्जित गर्न सकिदैन । यथास्थितिको चेतनामा जकडिएको समाजमा विकाशका चरण उल्टो चक्रमा प्रवाहित हुने परिवेश निर्माण हुन्छ । सो चक्रकोे उल्टो परिवेशले मानव चेतनाको गति पनि विपरीत ध्रुवमा घुम्ने वातावरण निर्माण गर्छ । विपरीत चेतनाले कुनै पनि समस्याका सवालहरूमा चिन्ता तथा आक्रोश प्रकट गर्छ । तर समाधानको बारे चिन्तन गर्दैन ।
सत्य तथ्य तथा भावी असरको बारेमा केही सोच्दै नसोची उल्टो चेतना जहिलै पनि हावादारी पारामा लहैलहैको लैवरी पारामा दौडिरहन्छ । सस्तो लोकप्रियताको भोकमा उल्टो चेतना बाहकहरु जहिलै पनि अराजकतामा रम्न मन पराउँछन् । त्यस अवस्थामा समाज यथास्थितिमा बन्धक बनेर अग्रगमन भन्दा पश्चगमन उन्मुख बन्छ । जुन समाज विकाशको चरणकै अत्यन्तै खतरनाक चरण हो ।
सामन्तवादको पाठशालामा दीक्षित हुँदै आएको हाम्रो सामाजिक चेतनाले समाज विकाशका अनेकौ कालखण्डहरू पार गर्दै आजको अवस्थामा आएको छ । आदिम साम्यवादी युगदेखि दास युग हँुदै सामन्तवादी चरणबाट आधुनिककालीन रौनकताको नाममा झकिझकाउ नवउदारवादी बर्तमानसम्म आइपुग्दा समय र गतिको प्रवाहसँगै जुनरुपमा उन्नत चेतनाको बिकाश भैसक्नुपर्ने थियो त्यो भने हुन सकेको छैन ।
विद्यमान समाज विकाशको चक्र तथा सामाजिक चेतना प्रगतिशील हुने कुरा त निकै टाढाको विषय भयो । तर सामन्तवादी चेतना भन्दा अझै खस्कदो अवस्थामा गुज्रन थालेको छ ।
सामन्तवादी चेतनामा पनि मूल्य मान्यताहरु थिए । संवेदनशीलता थिए । तर आजको सामाजिक चेतना संवेदन शून्यताको उच्च बिन्दुमा अघि बड्दै छ । वर्तमान सामाजिक परिपाटी तथा रहनसहनहरूले सभ्यताको नकावमा समाजलाई घोर असभ्यताको दलदलमा फसाउँदै छन् । विकाशको गति सुल्टो भन्दा उल्टो गतिमा अघि बढ्दै छ ।
एकखाले चेतना खाओ पियो मोज गरो मै व्यस्त छ । म, मेरै र मैरै लागि मात्र भन्ने प्रवृत्तिले समाजमा जरो गाडेको छ । दिन प्रतिदिन समाज भ्रष्टीकरण प्रेमिल बन्दै छ । पथभ्रष्टहरूको मान, सम्मान र इज्जतलाई आधुनिक सभ्यताको उपज र बहादुरीको प्रतिफल मान्दै पूजा गरिरहेको छ । खराब मध्येका पनि धेरै खराबहरू सामाजिक अगुवा बनेर देखा परेका छन् । यो सप्रिने भन्दा बिग्रने मति शिवाय केही हैन ।
यस्ता सवालहरूप्रति चिन्ता र चिन्तन मार्फतको उपचार नगर्ने हो भने भावी समाज घोर अन्धकारको भूमरीमा फस्ने खतरा छ । यसप्रति जागरुक समाज चिन्तित हुनु आजको अपरिहार्यता हो । राजनीतिक परिवर्तनको गतिसँगै सामाजिक तथा साँस्कृतिक रुपान्तरण अघि बढ्न नसक्दाको परिणाम आजको समाजले सामना गर्दैछ ।
यतिखेर हाम्रो समाज यति विकृत रुपमा अघि बढेर गएको छ कि जसको कुरा गरेरै साध्य छैन । समाज नराम्रा कुराको तुरुन्तै नक्कल गर्छ । तर राम्रा कुराको कहिलै अनुकरण गर्दैन । अधिकार खोज्छ । तर कर्तब्यशाली बन्दैन । उच्च शिक्षा लिन्छ । तर उच्च चेतनाको विकाश गर्दैन । सभ्यता खोज्छ असभ्यताको भासमा डुबी रहन्छ । बेइमानको खाटमा सुतेर बेइमानकै जयकारमा इमान खोज्छ । चल्तीको कवाडी गाडीमा यात्रारत आजको विकृत चेतनाले भावी पुस्ता कस्तो बन्ला ?
अनि हामीले समाजलाई कस्तो चेतनाको गोरेटोमा दौडाउँदै छौं ? यसमा सबै क्षेत्र सम्बेदनशील हुनुपर्ने हैन र ? यसो भनिरहँदा समवेदना शून्यताको अवस्था अवश्य हैन । तर समाजको बिग्रदो अवस्थाप्रति जुन रुपमा संवेदनशीलता देखा पर्नुपर्ने थियो त्यो भने आजसम्म देख्न सकिएको छैन ।
आजको हाम्रो समाज विग्रहको उच्च बिन्दुमा छ । समाजमा हावी हुँदै आएका गलत तत्वहरुले क्रमिक रुपमा शिर ठाडो बनाउँदै छन् । भ्रष्ट, तष्कर, गुण्डा नायक तथा माफियाका सरदारहरू समाजको अग्रभागमा देखा परेका छन् । कोही राजनीतिको अग्रभागमा छन् । कोही सामाजिक अभियन्ताको बर्कोमा समाजसेवी बनेर उदाएका छन् । समाज तिनीहरूकै पछि लागेर जयजयकार गरिरहेको छ । मिडिया जस्तो जिम्मेवार क्षेत्र तिनीहरूकै प्रसंशामा तिनीहरूलाई नै अग्रभागमा ल्याउँदै छ ।
राजनीतिक दलहरूले तिनीहरूलाई नै ताला चावी सुम्पिएका छन् । जघन्य अपराधमा आरोपित अभियुक्तहरू छुट्दा माला, खादा र अबिरको विजय उत्सवमा रमाउने समाजको विशेषता नै बन्न थालेको छ । उनीहरू नै समाजमा सम्मानका भागिदार बन्दै राजकीय मान सम्मान तथा पदकका हकदार बन्न थालेका छन् । समाज कता जाँदैछ ?
समाजमा विकशित हुँदै आएका पश्चगमनकारी चेतनाले हाम्रो समाज दिन प्रतिदिन पछौटेपनको सामाना गरिरहेको छ । समाजको उल्प चेतना र उल्टो बिकाश चक्रलाई ढाल बनाएर सीमित टाठाबाठाहरुले एक छत्र राज गरिरहेका छन् । उनीहरूले सस्ता कनिकाको आस देखाएर युगौदेखि जनतालाई मूर्ख बनाउँदै आएका छन् । जनता मूर्ख बनिनै रहेका छन् । मालिक पुज्दै आएको सामन्तवादी जनतचेतना हिजो जस्तो थियो आज पनि त्यस्तै छ मात्र हैन अझै गए गुज्रेर जाँदैछ ।
जनतालाई दास बनाउने राजकीय कानुनहरु हिजो जे थिए आज घुमाउरो पारामा एक कदम अघि बढेर आएका छन् । धर्मको कलात्मक प्रस्तुतिले जनतालाई धार्मिक जडताको साङ्लोमा बाँधेर अझै दास बनाउँदै छ । विकाशको यस्तो चक्रलाई उल्टो भन्ने कि सुल्टो ?
विकाशवादको उल्टो चक्रले युग अनुकूलको उन्नत समाज निर्माण गर्न कदापि सक्दैन । एकातिर दासताको चेतनामा बन्धक समाज, अर्कोतिर दास चेतनाभित्रैबाट विकशित हुन थालेको बिध्वंसकारी चेतनाको दबदबाले गर्दा आजको पुस्ता चिन्तन रहित शिक्षितमा परिणत भएको छ । चिन्तनरहित शिक्षित र आधा घैलाको पानी जस्तै हुन् ।
जसलाई बोक्दा छचल्किएर शरीर भिजाइ रहन्छ । गतिशीलताको नाममा सामाजिक चेतनाको गतिलाई क्रमिक उल्टो बनाउने परिवेशको निर्माणकर्ता को हो ? राजनीतिज्ञ भनाउँदाहरु नै हैनन् र ? उनीहरू विचलित हुँदाको परिणाम नै विकाशको उल्टो चक्र हैन र ? उल्टो चक्रले ग्रसित समाज कस्तो बन्ला ? यसलाई कठोरतापूर्वक भत्काउनु जरुरी छैन र ? तर कस्ले ? कुन रुपमा ? र कहिले ? निरुतरित प्रश्नको जवाफ र समाधान खोज्ने भनेको फेरि पनि राजनीति नै हो ।
View : 184
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved