Biratnagar, Morang, Nepal
२९ पुष २०८१, सोमवार
+977 21 450305, 515728, 578305
समाज

धनपाल मूर्ति संरक्षणमा वेवास्ता

उद्‌घोष सम्वाददाता
२० भदौ २०८१, बिहिवार

इलाका प्रहरी कार्यालय रंगेली परिसरको काली मन्दिरको बाहिरपट्टि राखिएको प्राचीन मूर्ति  । तस्वीर : नवीन कर्ण/उद्घोष

विराटनगर । मोरङको धनपालथानमा एक दशक अघि भेटिएको प्राचीन मूर्तिको संरक्षणमा सरोकारवालाले वेवास्ता गरेका छन् । एकजना किसानले खेत खनजोत गर्ने क्रममा फेला पारेको धातुको सो मूर्तिको न पुरातात्विक परीक्षण नै गरिएको छ न त व्यस्थितरुपमा सुरक्षित नै गरिएको छ । 

जमिनमुनि भेटिएको सो मूर्ति हाल इलाका प्रहरी कार्यालय रंगेलीको प्राङ्गणमा रहेको काली मन्दिर परिसरमा राखिएको छ ।  १० वर्षअघि प्राचीन राजा धनपालको दरवार परिसरबाट सो मूर्ति भेटिएको थियो ।

धनपालथान गाउँपालिकाको वडा नम्बर ७ मा पुरातात्विक महत्वको राजा धनपालको प्राचीन दरवार स्थल छ । २०७१ साल चैत ८ गते स्थानीय रघुसिंह नुनियाले दरवार परिसर नजिकैको खेत खन्ने क्रममा सो मूर्ति फेला पारेका थिए ।

नुनियाले खेत जोत्ने क्रममा हलोको फालीमा मूर्ति ठोक्किएको थियो । मूर्ति भेटिएपछि नुनियाले आफ्नो घरमा राखेर पूजापाठ गर्न थालेका थिए । जमिनमुनिबाट प्राचीन मूर्ति भेटिएको गाउँमा हल्ला फैलिएपछि राजा धनपाल संरक्षण विकास समितिको पहलमा इलाका प्रहरी कार्यालय रंगेलीलाई मूर्ति जिम्मा लगाइएको राजा धनपालथान संरक्षण तथा विकास समितिका अध्यक्ष संजय सिंहले जानकारी दिए ।

गाउँघरबाट मूर्ति हराउन वा चोरी हुन सक्ने भएकाले तत्कालै रंगेली प्रहरीलाई जिम्मा लगाइएको उनले बताए । सो विषयको जानकारी पुरातत्व विभागलाई समेत गराए पनि विभागले चासो नदिएका कारण मूर्तिको पौराणिकता प्रमाणित हुन बाँकी रहेको सिंहले बताए ।

धातुको सो मूर्तिलाई स्थानीयले भगवान विष्णुको प्राचीन मूर्तिको रुपमा पहिचान गरेका छन् । दशवटा हात भएको मूर्तिको उचाइ ९ इञ्च र चौडाइ साढे ५ इञ्च छ । समितिबाट मूर्ति जिम्मा लिएको प्रहरीले समेत पुरातत्व विभागसहित सम्बन्धित निकायहरूमा त्यस विषयमा जानकारी गराएको थियो ।

तर कतैबाट प्रतिक्रिया नआएपछि प्रहरीले आफ्नो भण्डार घरमा मूर्ति राखेको थियो । पछि रंगेली प्रहरीको नयाँ भवनसँगै निर्माण भएको काली मन्दिरमा सुरक्षित रुपमा मूर्ति राखिएको इलाका प्रहरी कार्यालय रंगेलीका प्रमुख प्रहरी निरीक्षक सन्तोष खड्काले बताए । 

प्रहरीको प्रत्यक्ष निगरानीमा भएकाले मूर्ति सुरक्षित छ  । तर जुन हिसाबले बाहिरै खुल्ला ठाउँमा मूर्ति राखिएको छ त्यसले गर्दा मौसमी प्रभावका कारण क्रमिकरुपमा प्राचीन मुर्ति क्षयीकरण हुँदै जाने अवस्था छ । मूर्तिको पुरातात्विक परीक्षण समेत नभएकाले मूर्ति कति पुरानो छ वा कुन कालखण्डको हो भन्ने कुरा समेत पुष्टि हुन सकेको छैन ।

त्यति मात्र नभई राजा धनपाल दरबार परिसरको समेत हालसम्म उत्खनन् हुन सकेको छैन । दरबारस्थल परिसरमा रहेका पुराना रुखहरूमा अल्झिएका प्राचीनकालका इँटाहरू यत्रतत्र देख्न सकिन्छ ।

२०१७ सालमा दरवार नजिकैको पोखरी उत्खनन् गर्ने क्रममा धातुका पुराना भाडाबर्तन लगायतका विभिन्न सामग्रीहरू समेत भेटिएको थियो । यद्यपि हाल ती सामग्री कहाँ छन् भन्ने विषयमा स्थानीय अनविज्ञ छन् ।

View : 83

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved