नेपाली कांग्रेसका प्रभावशाली राजनेता डा.शेखर कोइरालाले लोकतन्त्रको जननी बेलायतको वेस्ट मिन्स्टर (संसद) मा गत जनवरी १३ मा सम्वोधन गर्ने अवसर प्राप्त गर्नु राष्ट्रिय गौरवको विषय बनेको छ । कार्यक्रमका बेला कार्यक्रममा उपस्थित बेलायती मन्त्री र हाउस अफ लर्डस्/कमन्सका सदस्यहरूले डा कोइरालालाई कांग्रेसका वरिष्ठ नेता भनी सम्वोधन गरेका छन् । यस घटनापछि शेखरलाई अब राजनीतिक र कूटनीतिक दृष्टिकोणले दक्षिण एसिया र नेपालका स्थापित व्यक्तित्वका रूपमा हेर्न थालिएको छ ।
डा. शेखरले संसद भवनमा गरिएको कार्यक्रममा उपस्थितलाई सम्वोधन गर्ने क्रममा ‘सर केइर स्टारमर’ लेबर पार्टीको नेतृत्व गर्दै सत्तामा आएकोमा उहाको सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो । साथै नेपाल र बेलायतको दुई शताब्दी पुरानो ऐतिहासिक र गतिशील सम्बन्ध अझ बलियो बनोस् भनी शुभकामना प्रकट गर्नुभयो । उहाँले गोर्खा सैनिकले बेलायती राज्यको अखण्डता र सार्वभौमसत्ता अक्षुण्ण राख्न दुइटै विश्वयुद्धमा हजारौंको संख्यामा सहादत प्रदान गरेको उल्लेख गर्नु भयो । साथै गोर्खाको सहयोग जारी नै रहेको स्मरण गराउँदै बेलायतमा रहेका नेपालीहरुले डाक्टर, नर्स, इन्जिनियर, वकिल, एकाउन्टेन्ट लगायतका विभिन्न पेशा र स्वरूपमा अहिले पनि योगदान गरिरहेको चर्चा गर्नुभयो ।
उहाँले बेलायतले पनि धेरै दशक अगाडि पनि पूर्वी नेपालमा अस्पताल र रोड निर्माण गरी मित्रताको परिचय प्रदान गरेको धारणा प्रकट गर्नुभयो । डा कोइरालाले ब्रिटिस सरकारले विनाशकारी भूकम्पका बेला र कोरोनाकालमा भेन्टिलेटर, औषधि र अन्य धेरै सहयोग उपलब्ध गराएको पनि स्मरण गर्नुभयो । उहाँले आपत् र चुनौतीका बेलाको ब्रिटिस-नेपाल ऐक्यबद्धता तथा बीपी कारावास र निर्वासनमा रहँदा तथा लोकतन्त्रको स्थापनाका निमित्त प्राप्त सहयोगको सराहना गर्नुभयो ।
त्यसैगरी उहाँले ब्रिटिश लेबर पार्टीले सन् १९७० ब्ल्याक पुलमा आयोजना गरेको सभामा नेपाली कांग्रेसका संस्थापक महामानव बीपी कोइरालालाई सहभागी गराएको इतिहास पनि उल्लेख गर्नुभयो । राजनीतिक तथा सामाजिक जीवन व्यतित गर्नेका लागि नैतिकता, इमान्दारी, सदाचार, शालीनता, परिश्रम, लोकप्रियता र अनुभव लगायतका गुण र विशेषताहरू अपरिहार्य र अनिवार्य हुन्छ ।
नेपाली राजनीतिमा कोइराला वंशको क्रान्तिकारिता र संंघर्षको परम्परालाई समेत अक्षुण्ण राखेका शेखर उपरोक्त गुण र विशेषताले युक्त हुनुहुन्छ भन्दा अत्युक्ति हुने छैन । यही कारण बेलायतको संसद्ले उहाँलाई रोजेको हुनुपर्छ । यसपछि उहाँको उचाइले अब राष्ट्रियबाट अन्तर्राष्ट्रिय क्षेत्रमा फड्कोे मारेको छ । उहाँले बेलायतका सबै सम्वोधनमा अत्यन्त सन्तुलित, मर्यादित र देशभक्तियुक्त विचार प्रस्तुत गर्नुभएको छ । यस भ्रमणले नेपाल र बेलायतको पुरानो सम्बन्धलाई गाढा र ताजा बनाएको छ ।
यतिबेला जनताको निराशा उत्कर्षमा पुगेको छ । अन्तर्राष्ट्रिय र कूटनीतिक सम्बन्ध खस्केर ओरालो लागेको अवस्था छ । महंगी बढेको छ । महंगीकै कारण गुणस्तरीय शिक्षा र स्वास्थ्यमा सर्वसाधारणको पहुंच धेरै टाढा भएको छ । हुनेखानेका छोराछोरीले मात्र चिकित्साशास्त्र लगायतका उच्चशिक्षा पढ्न पाएका छन् । सडक र हवाइ दुघर्टनाहरू बढेका छन् । जनतामा निराशा छाएको छ ।
कदाचित बंगलादेशको घटना नेपालमा पुनरावृत्ति हुने त होइन भन्ने भय व्याप्त छ । यस बेलामा युवायुवतीको विदेश पलायन रोक्न रोजगारमूलक कार्यक्रमहरू ल्याउनु जरुरी भइसकेको छ । प्रदेश सरकारलाई पूर्ण स्वायत्तता प्रदान गर्दै अधिकार सम्पन्न बनाउनु र समावेशिताको सिद्धान्तलाई प्रहार नहुने गरी संविधान संशोधन गर्नु पनि वाञ्छनीय भइसकेको छ । समानुपातिक निर्वाचन प्रणालीलाई संविधान र कानुनबाट हटाई वा प्रतिशत घटाई प्रतिस्पर्धी निर्वाचन प्रणालीद्वारा जनप्रतिनिधि चयन हुनु जरुरी छ ।
शिक्षा र स्वास्थ्यलाई निःशुल्क बनाउ“दा गरिबीका रेखामुनिका आम जनतामा ठूलो राहत प्रदान हुने छ । पर्यटनका गन्तव्यहरूलाई विकसित गरी पूर्वाधार सम्पन्न बनाउनु आवश्यक भइसकेको छ । तर विडम्बनाको विषय के भने नेपाली कांग्रेसको अहिलेको नेतृत्वले यी सबै कार्य सम्पादन गर्ने इच्छाशक्ति र तत्परता कहिल्यै देखाएन । पटक-पटक सत्ताको शिखरमा पुगेर पनि जनताका मुद्दा, दुःख दर्द र पीडालाई सम्वोधन गर्न नसक्ने कांग्रेसको नेतृत्व अब असान्दर्भिक भइसकेको छ । त्यसैले मुलुकले आशा र विश्वासको आँखाले शेखरलाई हेरिरहेको छ ।
माथि उल्लिखित नैतिकता, इमान्दारी, सदाचार, शालीनता, परिश्रम, लोकप्रियता र अनुभवजस्ता गुणहरू नभएका र पटक-पटक प्रयोग भई पदीय जिम्मेवारीमा असफल भएका अनि स्वार्थका लागि समाज र राष्ट्रलाई नै धराशायी बनाउने नेताहरूलाई खोजी-खोजी पराजित गर्नु नै अहिले मुलुकप्रतिको सर्वोेत्तम राष्ट्रभक्ति हुनेछ । अनि मात्र मुलुकमा अमनचैन, सुशासन र समृद्धिको यात्रा सुरु हुने विश्वास गरिएको छ । यसपछि नै मुलुकले समृद्धिका पाइला चाल्नेछ । त्यसैले मुलुकका लागि अहिलेको एक मात्र शर्त विद्यमान नेतृत्वको वहिर्गमन र डा शेखरजस्तो दृढ इच्छाशक्ति भएको नेताको आगमन नै हो । यसो हुनसकेन भने मुलुक फेरि २० वर्षपछि धकेलिने कुरामा शंका छैन ।
आगामी १५औं महाधिवेशनमा डा. शेखरको नेतृत्व स्थापित हुने विश्वासले देशविदेश सर्वत्र जरा गाडिसकेको छ । यसको आधारशिला १४औं महाधिवेशन अगाडिदेखि नै प्रारम्भ भएको हो । र, यो यात्रा अविश्रान्त चलिरहेको छ । डा. शेखरबाहेक अन्य कुनै नेताले यस्तो मेहनत र लगनशीलता देखाएका छैनन् । अरू कुनै नेता डा.शेखर जसरी कार्यकर्ता र जनताका घरदैलोमा पुगेका छैनन् ।
श्रद्धेय शेरबहादुर देउवा देशका प्रधानमन्त्री र पार्टी सभापति रहिरहँदा तथा सबै शीर्षनेताहरू रामचन्द्र पौडेल, प्रकाशमान सिंह, विमलेन्द्र निधि, डा. शशांक कोइराला र कृष्ण सिटौला लगायतले एकातिर सघाएको प्रतिकूल अवस्थामा समेत १४ औं महाधिवेशनमा डा. शेखरले झन्डै ४० प्रतिशत मत प्राप्त गर्नुभएको थियो । यस परिणामले एउटा बलियो जग स्थापित भएको छ । यही जगका आधारमा आगामी १५औं महाधिवेशनमा उहाँ सभापति पदमा निर्वाचित हुने अवस्था सृजना भएको छ ।
गएको महाधिवेशनमा उहाँको पराजयमा कोइराला परिवारमा एकताको अभाव पनि चर्चाको मुख्य विषय बन्यो । आगामी महाधिवेशनमा पूर्व उपप्रधानमन्त्री एवम् नेतृ सुजाता कोइरालाले शेखरलाई समर्थन गर्ने वचनबद्धता व्यक्त गरिसक्नु भएको छ । अब डा. शशांकले समेत पार्टी र मुलुकलाई गतिशील र भ्रष्टाचारमुक्त बनाउन अनि सुशासन स्थापित गर्न यही बाटो अपनाउने हो भने कायाकल्प हुने कुरामा विवाद छैन । शेखर जनताका आशा र भरोसाका केन्द्रमा स्थापित भइसके पनि उहा“ले पार्टीभित्र रहेका विभिन्न गुट र समूहलाई मिलाउनुु पर्ने चुनौती कायमै छ ।
गगनजी, मेरा प्रिय मित्र हुनुहुन्छ । उहाँ पनि डा. शेखरकै नेतृत्वमा अटाउने हो भने भविष्य सुरक्षित हुने कुरामा द्विविधा छैन । यसपछि १६ औं महाधिवेशनमा युवापुस्ताले नै मुलुकको जिम्मा लिने र नेतृत्व गर्ने अवस्था स्वतः स्थापित हुन जान्छ । हाम्रा युवा साथीहरूले अब देश र जनताप्रतिको जिम्मेवारी सम्हाल्दै सुशासन, शान्तिसुरक्षा, गरिबी निवारण, महिला सशक्तीकरण, शिक्षा, स्वास्थ्य, सामाजिक तथा राजनीतिक परिवर्तन लगायतका आमूल र बहुआयामिक सुधारका आधारशिला खडा गर्ने कार्यमा केन्द्रित हुनु अपरिहार्य भएको छ ।
उपर्युक्त कार्यहरूलाई मूर्त रूप दिन चुनौतीपूर्ण भए पनि सहज समाधान गर्न सकिने आधारहरू क्रमशः बन्दै जानेछन् । म काठमाडौंको अमृत साइन्स कलेज पढिरहँदा त्यहाँ हालका पार्टी महामन्त्री गगन थापा, टेन्डी शेर्पा (हाल स्वर्गीय), प्रदीप पौडेल (हालका स्वास्थ्य मन्त्री), नारायण बीसी दाइ (दाङ) लगायतका विद्यार्थी नेतासँग सम्पर्क र घनिष्ठता भयो । क्रमशः त्रिचन्द्र कलेजमा शंकर भण्डारी (पूर्व मन्त्री), किशोरसिंह राठौर, हरि आचार्य लगायतका साथीहरू भेट भए ।
नेपाली कांग्रेसमा मेरो सुरुदेखि नै आबद्धता थियो । यो आबद्धता कलेज लाइफमा भेट भएका साथीसितको संगत र घनिष्ठताले अझ दृढ र सशक्त हुनपुग्यो । यसपछि नै हो, मैले निरन्तर यस पार्टीमा केही न केही योगदान पुर्याउन सक्छु कि भन्ने अभिप्रायले काम गरिरहेको हुन्छु । यही अनुभव र क्रियाशीलताको जगमा उभिएर म निर्धक्क के भन्न सक्छु भने अब नेपाली कांग्रेसको नेतृत्वमा डा. शेखरको विकल्प खोज्नु वा सोच्नु भनेको मृगमरीचिका मात्र हुनेछ ।
View : 159
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved