अतिथिहरूको लर्को कार्यक्रमको झर्को
बौद्धिकवादका पक्षपातीहरूको मुखमै रूपान्तरण झुण्डिएको छ । तर हरेक क्षेत्रमा यसरी बहसहरू चलिरहँदा कतिपय यस्ता सवालहरू छन्, जसको आजसम्म बहस हुन सकेको छैन । अर्थात रूपान्तरणको बहसमा अरूपान्तरित शैलीको बारेमा भने बहस केन्द्रित गर्नु कसैले पनि आवश्यक देखेको पाइदैन ।
अहिलेको टड्कारो सवाल भनेको कार्यक्रम र कार्य विधिको भद्दापन ठूलोे समस्याकै रूपमा देखा परेको छ । प्रायजसो हरेक क्षेत्रका कार्यक्रमहरू सरल, सहज तथा छिटा छरिता देखिदैनन् । अत्यन्तै भद्दा, ढोंगी तथा दासता केन्द्रित पट्यारलाग्दा कार्यक्रमले सहभागीहरू निदाउनु पर्ने कुरा सामान्य बनेको छ । कार्यक्रममा अतिथि, विशेष अतिथि, महा अतिथि, प्रमुख अतिथि, विशिष्ठ अतिथि लगायतका अनेकौ उपनामका चाकरीवादी फुँदाले पुरातन समाजको दासतालाई बिर्साउन थालेको छ ।
आतिथ्यता नपाएमा कार्यक्रममा बस्नै नसक्ने मनोरोगले ग्रसित एकखाले मानसिकताले आयोजकलाई पनि टाउको दुखाइ बनेकै हुनुपर्छ । तर यति भएर पनि कार्यक्रमलाई सरल र छरितो बनाउने सन्दर्भमा भने कुनै क्षेत्रको ध्यान पुग्न सकेको छैन । सामाजिक रूपान्तरणका अनेकौ सवालहरूमा बहस पैरवी भैरहेका छन् । हरेक वर्ग समुदायका अधिकार, पहिचान, सशक्तीकरण जस्ता यावत सवालमा प्रायजसो तारे होटेलहरू भरिभराउ बनेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतबाट प्राप्त अनुदानलाई मिलान गर्ने काम पनि भैरहेकै छन् ।
व्यवहार जे भए पनि राजनीतिक दलहरू रूपान्तरणकै मुद्दामा केन्द्रित जस्ता देखिन्छन् । परिणाम प्रतिफलमूलक नभए तापनि सरकारी तथा गैर सरकारी निकायहरू पनि रूपान्तरणकै बहसमा केन्द्रित देखिन्छन् । तर पनि उनीहरु औपचारिक रुपमा आफूलाई सम्मानित स्थानमा राखिरहियोस् भन्ने चाहना राख्दछन् । औपचारिकता निर्वाह गर्दा मात्र सम्मान हुन्छ भन्ने सोच अत्यन्तै सामन्तवादी सोच हो । यो सोचले सीमितलाई दिइने ओठे मानले असीमितको आत्मसम्मानमा चोट पुग्छ भन्ने सामान्य ज्ञानसमेत राख्दैन । मानको खातिर मान दिनैपर्ने बौद्धिक अपाङ्गताको सेरोफेरोमा यो सोच घुमिरहन्छ ।
अन्धधुन्ध नक्कलले ग्रसित आत्मपरकताको सस्तो लोकप्रियतावादी रङ्गीन आत्मरतिकतामा पौडिनु यसको बिशेषता हो । आत्मरतिले समाजका हर क्षेत्रलाई विकृत उन्मुख गराउ“छ भन्नेसम्म पनि नबुझ्नु यो सोचको सनातनी प्रवृत्ति हो । समाज विकाशको आजको चरणमा आइपुग्दा विकासवादका अनेकौ समस्याहरू मध्ये यो सोच पनि समस्या बन्दै गएको छ ।
अग्रजको सम्मान गर्नु पर्छ । यसो गर्न सकिएन भने इतिहासप्रति घोर अन्याय हुन्छ ।
इतिहासको अपमानले सभ्य समाज निर्माण हुन सक्दैन । सभ्य समाज बिना समाजलाई अग्रगतिमा लान पनि सकिदैन । तर निरपेक्ष तवरमा अग्रपंक्तिमा मञ्चासिन गराउ“दैमा इतिहासको सम्मान हुन्छ भन्ने बुझाइ नै अपाङ्गतावादी बुझाइ हो । साथै ओठेभक्ति सम्मानको कडी हैन । मान सम्मान भन्ने कुरा प्रत्येक व्यक्तिको आत्मगत भावनाले अभिव्यक्त गर्ने सवाल हो । उसको ज्ञान सीप, दक्षता, असलपन र इमान जस्ता कुराहरूको अध्ययन, अन्वेषण र अनुकरण हो ।
‘सादा जीवन, उच्च विचार’ तथा कठोर संघर्ष सम्मानको मूल कडी हो । डक्टरको उपाधिले मात्र मान्छे सम्मानित हुन सक्दैन । ठूल्ठुला डिग्रीको उपाधिले पनि मान्छे सबै क्षेत्रमा सम्मानित हुन सक्दैन । ठूल्ठुला ओहोदामा पदासिन हुँदैमा पनि सम्मानित हुन सक्दैन । डिग्री, उपाधि तथा ओहोदा भनेका प्रत्येक व्यक्तिका निर्वाहका साधनहरू हुन् । सम्मान भन्ने कुरा असल इमान्दारिता कर्तब्यपालनता र अनुकरणयोग्य योगदानमा आधारित हुन्छ । तर हामीले कहिलै पनि यो शैलीको बिकाश गर्न सकेनौ । हाम्रा औपचारिक हरेक कार्यक्रमहरू उल्लेखित भावनाबाट ओतप्रोत हुन सकेनन् ।
हरेक क्षेत्रका आयोजकहरूले गर्ने औपचारिक कार्यक्रम र त्यसको शैली हेर्दा हामी आधुनिकताको बर्कोमा दासताको खेती गरिरहेको भान हुन्छ । कार्यक्रमको महत्वलाई ओझेलमा पार्ने गरी खुशी पार्ने हिसाबले राखिने अतिथिको लर्कोले हाम्रो रूपान्तरणको आडम्बररूपी घुम्टोलाई अरूपान्तरित शैलीले ढाकिरहेको छ । आजको ब्यस्तताको परिवेशमा समयको अनावश्यक बर्बाद गरिरहेको छ ।
चाहे जुनै क्षेत्रको कार्यक्रम होस् आयोजकले निम्ता गरेर गएकाहरू सबै अतिथि हुन् । सबै सहभागी हुन् । उनीहरूलाई आकास पतालका उपाधि तथा पद जोडेर मञ्चासिन गराउनुको कुनै अर्थ हुँदैन । यसो गर्नु भनेको अन्य आमन्त्रित सहभागीलाई अपमान गर्नु हो । औपचारिक कार्यक्रममा एक जना अध्यक्ष अनि एक जना प्रमुख अथिति राखेर अन्यलाई उद्घोषकले शव्द सम्मानका साथ यथास्थानमा राख्दा के हुन्छ ? उनीहरूको गरिमा घट्छ र ? उपस्थित मध्येबाट आयोजकले जो जसलाई वक्ता राख्नुपर्ने हो उनीहरूलाई यथास्थानबाटै मन्तब्यको लागि बोलाउँदा हुँदै न र ? अवश्य हुन्छ । बिकसित देशहरूमा यही प्रचलन देखिन्छ । तर हामी विदेशका नराम्रा सबै नक्कल गर्छौ, तर राम्राको अनुशरण भने गर्दै गर्दैनौ ।
कार्यक्रमको अर्को रोचक तथा लज्जास्पद पक्ष भनेको आयोजक नै अतिथि बन्नु हो । जसले कार्यक्रम आयोजना गर्छ त्यो आयोजक हो । कार्यक्रममा आयोजक तर्फबाट एक जनाले अध्यक्षता गर्नु स्वाभाविक हो । एक जनाले कार्यक्रम सञ्चालन गर्नु पनि स्वाभाविकै हो । अर्थात अध्यक्षता गर्ने व्यक्ति र कार्यक्रम सञ्चालक बाहेक आयोजक संस्थाका सबै पदाधिकारी तथा सदस्यहरू कार्यक्रम अवधिभर सहयोगी मात्र हुन् । तर हिजोआज आयोजक संस्थाका सबै पदाधिकारी आथिति बनेको देखिन्छ । संसारमा कतै यस्तो पनि प्रचलन हुन्छ ?
लेखक, कलाकार, पत्रकार लगायतका सिर्जनाको क्षेत्रमा लागेका हरेक श्रष्टाहरू समाजका मार्गदर्शक हुन् । कला, साहित्य साधना लगायतका लेखनीको माध्यमबाट हर सवालमा सामाजिक जागरण जगाउँदै गलत पक्षको बारेमा समाजलाई सूचित गर्नु उनीहरूको दायित्व हो । कलम स्वतन्त्र र स्वाभिमानको प्रतीक हो । कलम रूपान्तरणको अस्त्र पनि हो । कलमबाजहरू रूपान्तरणका सेना हुन् । तर उनीहरू नै अरूपान्तरित पारामा चले भने उनीहरूले समाजलाई रूपान्तरण गन सक्लान् ? तर वर्तमानका श्रष्टाको क्षेत्र पनि अन्य क्षेत्र जस्तै भद्दापनको भासमा जकडिएको मात्र छैन कि भासको दलदलमै फसेको छ ।
साहित्यिक क्षेत्रको विकृति हेर्ने हो भने त राजनीतिक क्षेत्रको विकृति सामान्य जस्तो लाग्छ । तर यसको सुधारको बारेमा सम्बद्ध पक्षबाटै आवाज आएको पाइन्न । हामीले सामन्तवादका अवशेषलाई अन्त्य गर्न सकेका छैनौ । अतिथि मनोरोग सामन्तवादकै अङ्ग हो । झनसारो हिजोआज प्रमुख अथितिपछि बिशेष अतिथि राख्नै पर्ने नयाँ ढर्राको शुरूवात भएको छ । प्रमुख अथिति राखी सकेपछि पुनः विशेष अतिथि राख्नु भनेको प्रमुख अतिथिको अपमान हैन र ? बिशेष भनेको प्रमुख भन्दा माथि हैन र ? प्रमुख अतिथि पछिको विशेष आतिथ्यले विशेषलाई नै गिज्याइरहेको छैन र ? आयोजकले शव्दको अर्थसम्म पनि अध्यायन नगर्ने ? यस्तो सामान्य भन्दा सामान्य कुरामा समेत रूपान्तरण गर्न नसकिरहेको अवस्थामा आम सामाजिक रूपान्तरणको बहस गर्नु भनेको पिसाबको न्यानो मात्र हो । सम्बद्ध पक्षमा चेतना भया ।
राजनीति राज्यको मार्ग हो । राजनीतिक दलहरू मार्गका अनुयायी हुन् । राजनीतिज्ञहरू पहरेदार हुन् । अनुयायी र पहरेदारहरू यथास्थितिभन्दा माथि उठ्न सकेनन् भने उनीहरूले समयको माग अनुसार सामाजिक रूपान्तरणको गतिलाई अग्रगमनमा लान सक्दैनन् । यसको लागि उनीहरू हर सवालमा रूपान्तरित हुनु पर्छ । रूपान्तरणको पहिलो खुट्किलो भनेको आफै भित्रको रूपान्तरण हो । तर राजनीतिक दलहरूको कार्यक्रमको भद्दापन झनै उराठलाग्दो बन्दै गएको छ । सबैले अतिथि बन्नै पर्ने । अतिथि बन्न नपाए अपमान सम्झने मनारोेग राजनीतिज्ञहरूमा अधिक देखिन्छ ।
View : 575
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved