वन्दना पोखरेल
अहिले विश्व वायोटेक र इन्फोटेकको द्रुत विकासको युगमा छ । जमाना एआईको छ । हामी नेपाली चाहिँ यो एक्काइसौ शताब्दीको युगमा पनि खानेपानीको समस्याबाट ग्रसित छौं । विकासलाई सभ्यता र वैज्ञानिकताको आधारमा मूल्यांकन गर्ने हो भने हामी नेपाली अहिले पनि ढुंगे युगको मानसिकतामा छौं भन्दा पनि हुन्छ । विराटनगर जहाँ जता कल गाड्यो त्यतै पानी आउँछ । अर्थात भनौ सजिलैसँग भूमिगत जल निकाल्न सकिन्छ यस्तो ठाउँमा पनि खानेपानी सर्वसुलभ छ भन्न सक्ने अवस्था छैन ।
यस्तो ठाउँमा पनि जारको पानीको व्यापार छ । काई परेको र कामै नलाग्ने गरी डेट एक्सपायर भएको जारमा जताततै पानी किनबेच भैरहेको देखिन्छ । कहीँ कतै पानी गुणस्तरको सम्बन्धमा चासो छैन कसैलाई । व्यापारी त व्यापारी भै गयो, कर्मचारी, राजनीतिकर्मी सबै यस्तै व्यापारको पक्षधर देखिन्छन् । हाम्रा पत्रकारहरू यस्ता बेथितिहरु देख्दैनन् पनि लेख्तैनन् पनि । अनि हामी जस्तो उपभोक्ताको के कुरा गर्नु ‘कागले कान लग्यो ’ भन्दा कान छाम्नुको साटो कागको पछाडि दौडनेलाई के सही के गलत ! चेतनाको स्तर उठेको भएपो ।
नगरपालिका भन्ने संस्थाले नगरवासीलाई पानी खुवाउनुपर्छ । कम्तीमा एकदम आधारभूत आवश्यकतालाई पूरा गराउनु नगरपालिकाको कर्तव्य हो भन्ने र हामी नगरवासीको चै आधारभूत आवश्यकताको पूर्तिको माग अधिकार हो भन्ने चेत भएका जनता कहिले देख्न पाइने होला । हामी नेपाली चैं सधैं पानीकै समस्या र फोहोरमैलाको समस्याहरूमा रुमालिइरहने भयौं ।
अहिलेको अवस्थामा हामी हाम्रो देशमा कस्तो जीवनशैलिमा बाँचिरहेका छौं ? अनि विदेश गएका हाम्रा छोराछोरी, भाइभतिज, नाताकुटुम्बहरू कस्तो जीवनशैलिको अनुभव गरिरहेका छन् ? हाम्रो जीवनशैलि र उनीहरुको जीवनशैलिमा के कस्ता अप्ठ्यारा र सजिला कुराहरु छन् ? के कस्ता राम्रा र नराम्रा पक्ष छन् ?
हामीले हाम्रो नेपालको जनजीवनलाई कहिले विश्वस्तरमा पुर्याउने त ? हामीले हाम्रो शिक्षा नीतिमा भएका कमी कमजोरी पत्तालगाएर शिक्षाको स्तर उन्नति कहिले गर्ने ? अनि कहिले हामी पनि मानवीय मूल्यको स्तरको हैसियत भएको जीवन बाँच्न सक्ने स्तरमा पुग्ने ?
अहिले हामी शिक्षण संस्थाहरूमा के पढाउँदैछौं ?कसरी पठनपाठन हुँदैछ ? अनि उनीहरूले के सिक्दैछन् ? मान्छे पनि छन्, काम पनि छ तर, न काम गर्ने मान्छे छन् न मान्छेलाई रोजगार छ । कतै यस्तो स्थिति त बनिरहेको छैन ?
हामीले हाम्रा सन्ततिहरुलाई कत्तिको सक्षम बनाउन सकिरहेका छौं त ? अहिलेको हाम्रो शिक्षा नीति र पद्धतिले भोलिको हाम्रो जनजीवनको जीवन चर्यालाई कस्तो बनाउनेवाला छ ? युरोप, अमेरिका, अस्ट्रेलिया, जापान, कोरिया, कतार, दुबईलाई माक्र काम लाग्ने जनशत्ति तयार हुँदैछ कि नेपाललाई पनि काम लाग्ने भन्ने कुराको सुनिश्चितता छ ?
हामी सबै नेपालीहरूलाई लाग्छ हाम्रो देश पनि जापान जस्तै सफा, अमेरिका, युरोप जस्तै विकसित अनि चीन जस्तै आत्मनिर्भर भैदिए कति राम्रो हुने थियो । तर हामी त यहाँ त्यसको तुलानामा एक सय वर्ष पुरानो जमानाको जस्तो जीवनशैलिमा बाँचिरहेका छौं । साच्चै भन्नुपर्दा हाम्रो जीवनशैलि उन्नाइसौं शताब्दीको जस्तो छ । आखिर किन हाम्रो संवत् चै सन्ताउन्न वर्ष अगाडि अगाडि कुद्ने अनि रहनसहन चैं सन्ताउन्न वर्ष भन्दा पनि अझ धेरै पछाडिको जस्तो पो हो कि झैं लाग्ने ?
आखिर किन चैं हामी सभ्य हुन नसकेका त ? आखिर किन चैं हामी पिछडिएका त ? मलाई लाग्छ सायद हामीले आफूलाई गरिब मात्र होइन दरिद्र नै ठानेका छौं । हामीमा भिखारी प्रवृत्ति हावी भएको छ । विदेशी सहयोग बिना देश चल्नै सक्तैन भनेर हरेक कुरामा आफू केही नगर्ने जेमा पनि अर्काको मुख ताक्ने प्रवृत्ति हाम्रो संस्कृति बनिसकेको छ ।
हामीले गर्न नसकेको हरेक कामको दोष अर्कालाई दिन्छौं । यो इण्डियाले गरिदिएन, चाइनाले त्यो बनाइदिएन, अमेरिकाले सहयोग गरेन । के सधैं अमेरिकाले मात्रै दिन्छ त ? हाम्रो तर्फबाट हामीले चैं के गर्दैछौं त ?हाम्रो देशलाई आमूल परिवर्तन ल्याउन सक्ने योजना चाहिएको छ ।
अबको समाजले भिखारी संस्कृति होइन श्रम संस्कृतिको माग राख्छ । मलाई लाग्छ हामीले देशमा अनिवार्य शिक्षा, अनिवार्य श्रम लागू गर्न सक्नुपर्छ । अनि मात्र देश विकासको जग बस्छ ।
विश्व वायोटेक र इन्फोटेकको द्रुत विकासको प्रतिस्पर्धामा छ । जमाना एआई (ब्क्ष्० को छ । हामी चाहिँ अहिलेसम्म खानेपानीको समस्या समाधान गर्न नसकेर बसिरहेका छौं । जता हेरे पनि पानीकै समस्या छ । काठमाडौंका जनताले मेलम्चीको आशमा दिन गनेको बीस वर्ष भैसक्यो अझ पनि मेलम्ची सर्वसुलभ भएको छैन । यता फुटो उता भत्कियोमा अझै पनि जेलिएकै छ । अलमलिएकै छ । काकाकुल धरानले अहिले आएर बल्ल बल्ल हर्क साम्पाङ राई पाएको छ ।
हाम्रो विराटनगर जस्तो जहाँ बोरिङ गर्यो त्यहींपानी तान्न सजिलै सकिने ठाउँमा पनि पानीकै समस्या छ । धाराको पानीको टुंगो छैन । जारको पानीको हालत खराब छ । त्यस्ता कुरामा न राजनीतिकर्मीलाई चासो छ न साधारण उपभोक्तालाई नै चिन्ता छ ।
हाम्रा ठूला नेताहरुले मिसन चौरासी (२०८४ मा हुने चुनाव) भन्दै गर्दा देशलाई कुन दिशातिर लैजाने भन्ने बृहत योजना समेटिएको घोषणा पत्र खै ?
मञ्चमा बसेर, खादा, माला, रुद्राक्ष लगाएर लामो लामो भाषण फलाकेर मात्र देश बन्छ ?
हिजो यो गरियो त्यो गरियो । राजतन्त्र फालियो गणतन्त्र ल्याइयो, पचहत्तर जिल्लालाई सतहत्तर बनाइयो, चौंध अञ्चलको मान्यता हटाएर सात प्रदेशमा मन्त्रालय खडा गरियो भनेर मात्र हुन्छ त ? हिजो संघर्ष गरियो, जनयुद्ध गरियो तर भयो चैं के त अब ? न जनवाद आयो न समाजवाद आयो देशका युवा बेची खाने दलालीतन्त्र मात्र आयो ।
हिजो के गरियो मात्र फलाकेर देश बन्छ कि आज के गर्ने र भोलिकादिनमा के के गर्दै जानुपर्छ भन्ने कुराको खाका तयार गर्नुपर्छ ?
भोलि के गर्ने कसरी गर्ने, भोलिको हाम्रो लक्ष के हो ? त्यो लक्षमा कसरी पुग्न सकिन्छ ? आदि इत्यादि कुराको बृहत योजनासहितको घोषणापत्र तयार गरेर यी योजनाहरू यसरी यसरी कार्यानवयन हुन्छन् भन्ने कुराको विश्वास दिलाउन सक्ने संकेत जनतालाई देखाउन सक्नुपर्छ । तब मात्र मिसन चौरासी सफल हुन्छ ।
के अब पनि नेतालाई मञ्चमा विराजमान गराएर खादा, माला पहिर्याएर ताई न तुईको लामो लामो भाषणका पत्तुर सुनेर मख्ख परिरहने ? अनि व्यवहारमा चैं छोराछोरी सबै विदेश पठाउने अनि मख्ख पर्ने ? विदेश गएका केटाकेटी विचरा चालीस कटेसी रमाउँला भनेर गीत गाएर अल्मलिएका छन् ।
हामी नेपाली पनि रमाउनलाई चालीस कट्नु नपर्ने हुन सक्दैनौं ? हाम्रो देशमा पनि विदेशिन बाध्य हुनु नपर्ने वातावरण सिर्जना गर्न सक्दैनौं र ? हामी पनि देश छोड्न नपर्ने र विदेशीलेसमेत नेपालमा आएर बसोबास गरौं झैं लाग्ने स्वच्छ, सफा, सुन्दर, सम्मुन्नत, मनमोहक सुविधासहितको नयाँ नेपाल बनाउने प्रयास खोइ त ?
हामी हिजो कहाँ थियौं? अहिले आज कहाँ छौं ? अनि भोलि कहाँ पुग्नु पर्ने छ ? यति कुरा थाहा भएन भने पुग्ने कहाँ त ? विकासको लक्षमा पुग्ने कि हामी सबै नेपाली नेपाल छाडेर युरोप, अमेरिका, अस्ट्रेलिया, जापान पुग्ने ?
दुनियाँ विश्वव्यापिकरणको दौरमा छ । विज्ञानको विकास एआईसम्म पुगेको छ । संसार वायोटेक र इन्फोटेकको द्रुत विकासको होडमा कुदेको छ । तर, हामी चैं के ? हामी कतातिर जाँदै छौं ?
हाम्रो छिमेकी भारत गुरूजी, स्वामीजी, माताजी र महाराजजीको उत्पादनको होडमा छ अनि हामी तिनैको गोडा धोएका पानी चरणामृत खान पाएर मख्ख छौं । हामीलाई त पुराण, पूजा, पाठ अनि चमत्कारमा रमाउन पाए पुग्यो । तन्त्र, मन्त्र, धामी, झाँक्री, ज्योतिष अनि यिनै माताजी र स्वनमीजीका चमत्कारहरूले हाम्रो मन मस्तिष्क झिलिमिली छ ।
हामीलाई खानेपानी सर्वसुलभ नभए पनि हुने, बरूहर्क साम्पाङ जस्तालाई मुद्दा हालेको हालै गर्ने । प्रधानमन्त्री, मन्त्री, कर्मचारी सबै मिलेर कुलमान जस्तालाई निकालिकन छोड्ने बरू लोडसेडिङ होस् कि अन्धकार होस् जे सुकै होस् आफ्नो सेटिङ चैं मिलिरहनु पर्ने कमिसनतन्त्र चलिरहनु पर्ने । कस्तो विडम्बना बिजुली पर्याप्त निकाल्नु भन्दा कुलमानलाई जागिरबाट निकाल्नुलाई फाइदा देख्ने सरकार भएपछि भन्नु नै के रह्यो र ?
नुहाउन, धुवाउन, सरसफाई गर्न त परै जाओस् खानेपानी पनि सर्वसुलभ छैन । विडम्बना जलस्रोतको धनी देशका हामी जनतामा पानी सर्वसुलभ हुनु पर्छ भन्ने चेतना पनि छैन ।
हामीसँग पानी छ तर पानी व्यवस्थापन गर्न सक्ने प्रविधि छैन । कम्तिमा प्लम्बिङको कोर्षहरू त राखेको भए हुने थियो नि त पर्याप्त मात्रामा ।
भन्छन् फोहोरले मोहोर कमाउँछ । तर हाम्रोमा त फोहोरले कहर मात्र बढाएको छ । एकातिर फोहोरी राजनीति त छँदै छ त्यसमाथि फोहोरमा पनि राजनीति छ । नेपाल भारत सिमाना खुल्ला छ । अरु सबै कुरा त भैगयो फोहोरको पनि ओसारपसार छ । फोहोरमा लुकाएर तस्करी हुन्छ रे त्यो पनि सुन्नमा आउँछ ।
देश पनि फोहोर, राजनीति पनि फोहोरी अनि त्यसमा फोहोरको पनि अन्तर्राष्ट्रिय फोहोर फोहोरी के भन्नु र खै ?
विदेश सफा छ, सभ्य छ । हामी त खै सफा नभएर सभ्य हुन नसकेका हौं कि, सभ्यता नसिकेको हुनाले सरसफाई गर्न नजानेका नसकेका हौं ? फोहोरमै सहज बसेका छौं । फोहोरमै रमाएका छौं ।
अब त जागौं !
नेपालको सातै प्रदेशमा फोहोर व्यवस्थापनको लागि जिरो बेस्ट रिसाइक्लिङ गार्वेज म्यानेज्मेन्ट इन्डष्ट्री स्थापना गरेर सञ्चालन गरौं ।
हाम्रो शिक्षा प्रणालीमा पनि फोहोर व्यवस्थापन र पानी व्यवस्थापनका पाठ्यक्रम र पाठ्य सामग्रीहरूलाई प्राथमिकताका साथ अनिवार्य विषय बनाएर पठनपाठन सुरू गरौं ।
श्रमसहितको शिक्षा नै विकासको एक मात्र उपाय भएको हुनाले श्रमिकलाई पनि शिक्षित बनाउन बल गरौं । अनिवार्य शिक्षा र अनिवार्य श्रम लागू गरौं । देश निर्माणको पहिलो पाइला चालौं ।
View : 82
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved