Biratnagar, Morang, Nepal
१६ जेठ २०८२, शुक्रवार
+977 21 450305, 515728, 578305
समाज

मानवअधिकार आयोगले मनायो रजत जयन्ती

उद्‌घोष सम्वाददाता
१४ जेठ २०८२, बुधवार

विराटनगर । राष्ट्रिय मानव अधिकार आयोग कोशी प्रदेशमा चालू आर्थिक बर्षमा मानव अधिकार उल्लंघनका २ सय ३२ वटा उजुरीहरु परेका छन् ।

राष्ट्रिय मानवअधिकार आयोगको २५ औं रजत वार्षिकोत्सवको अवसरमा आयोगको कोशी प्रदेश कार्यालयले विराटनगरमा आयोजना गरेको रजत महोत्सव विशेष कार्यक्रममा सो बिषयमा जानकारी दिइएको छ । 

कार्यक्रममा आफ्नो प्रस्तुति राख्दै  आयोगका मानव अधिकार अधिकृत डिल्लीराम लम्सालले चालू आबको २०८१ जेठ १३ देखि २०८२ जेठ १२ सम्म कोशी प्रदेश कार्यालय विराटनगरले हेर्ने ११ जिल्लाबाट मानव अधिकार हननका २ सय ३२ वटा उजुरी परेको जानकारी दिए । 

ती उजुरीहरुमध्ये ताप्लेजुङ जिल्लामा सबभन्दा बढी ५६ वटा छन् भने दोस्रोमा मोरङमा ५२ वटा उजुरी परेको आयोगको तथ्यांकमा देखिन्छ । 

इलाममा २९, संखुवासभामा २५, उदयपुरमा १५, सुनसरीमा १३, पाँचथरमा १२, झापामा ११, भोजपुरमा १०, धनकुटामा आठ र तेह्रथुममा सबैभन्दा कम एउटा मात्र उजुरी परेको जनाइएको छ ।

परेका उजुरीहरुमध्ये विषयगत उजुरीमा सबैभन्दा बढी नागरिक तथा राजनीतिक अधिकार सम्बन्धी ८६ वटा उजुरी छन् भने आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारका ६० वटा, बलपूर्वक बेपत्ता पारिएका ब्यक्तिको अधिकारका ५०, यातना बिरुद्धको अधिकार २४, महिला अधिकारका सात, बालअधिकारका दुई र अपाङता भएका ब्यक्तिहरुको अधिकार सम्बन्धी विभिन्न  तीनवटा उजुरी परेको छ । परेका उजुरीमध्ये ९२ वटाको अनुसन्धान सम्पन्न भएको कार्यक्रममा जनाइएको थियो ।

सो अवसरमा कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले मानवअधिकार संरक्षण र प्रबद्र्धनमा राष्ट्रिय मानवअधिकार आयोगले महत्वपूर्ण भूमिका खेल्दै आएको बताए । उनले ब्यक्तिको मानवअधिकारको रक्षा गर्न आयोगका साथै सबै पक्ष जिम्मेवार हुनुपर्ने धारणा राखे ।

सामाजिक विकासमन्त्री पाचकर्ण राईले आयोगले सरकारलाई समेत झकझक्याउने काम गर्दै आएको बताए । 

कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख उषा झा, इन्सेक कोशी प्रदेशका कार्यक्रम संयोजक मनोहर पोखरेललगायतले लोकतन्त्र र मानवअधिकार एकअर्काका परिपूरक रहेको बताए । 

आयोगका प्रदेश प्रमुख सहसचिव बिरबहादुर बुढा मगरको अध्यक्षतामा सो कार्यक्रम भएको थियो ।

View : 90

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved