विराटनगर । कटहरी गाउँपालिका–१ मा रहेको महादेव थन्दार ग्रामथान जाने बाटोको कालोपत्रे गर्ने काम शुरु भएको छ । गाउँपालिकाको बजेटबाट शुरु भएको बाटो कालोपत्रे गर्ने कार्यको गाउँपालिकाका अध्यक्ष देवराज चौधरीले पूजापाठ गरी शुरुआत गरे ।
जमटोकीको कृषि बजार पूर्वतर्फ अवस्थित सो बाटोको ५ सय ९० मिटर सडकखण्ड कालोपत्रे हुनलागेको हो ।
उक्त सडकमा ५ मिटर चौडाई तथा ४० एमएम मोटाईको अस्फाल्ट प्रबिधिबाट सडक कालोपत्रे गरी स्तरोन्नतिको कार्य हुँदैछ ।
ग्राम देवस्थलतर्फ जाने सो सडक निकै पुरानो रहेपनि कालोपत्रे नहुँदा पूजापाठका लागि थानतर्फ जान सर्वसाधारणलाई समस्या हुनुका साथै छोटो बाटोबाट पालिकातर्फ जान चाहने किसान र स्थानीयलाई समेत समस्या हुँदै आएको थियो ।
पालिकाको अन्य वडाका बाटोहरुको समेत स्तरोन्नति तथा कालोपत्रे गर्ने कार्य दु्रत गतिमा भइरहेको गाउँपालिका अध्यक्ष चौधरीले बताए ।
उनले चालु आर्थिक बर्षमा पूर्वाधारतर्फको ५५ प्रतिशत बढी काम सम्पन्न भएको बताउँदै असार मसान्तसम्म ८० प्रतिशत कार्य सम्पन्न हुने उनले जानकारी दिए ।
सो सडक कालोपत्रे गर्ने ठेक्का बुढीगंगा–३ को अन्जना निर्माण सेवाले लिएको छ । उक्त सडकको लागत स्टिमेट ७४ लाख ९१ हजार रहेकोमा निर्माण कम्पनीले ५२ लाख १६ हजारमा ठेक्का कबोल गरेको गाउँपालिकाले जनाएको छ ।
View : 128
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved