विराटनगर । विराटनगरमा फुकेर बिष फाल्ने कालो रंगको अति बिषालु स्पिटिङ कोब्रा भनिने कालो नाग सर्प फेला परेको छ ।
नोबेल अस्पताल परिसरमा फेला परेको सो सर्पले बिष फाल्दा महानगरपालिकाका सर्प उद्धारक कर्मचारी घाइते समेत भएका छन् ।
विराटनगर महानगरपालिकाको वडा नम्बर ४ स्थित नोबेल अस्पताल परिसरमा जेठ १० गते एउटा कालो रंगको सर्प देखियो ।
स्थानीयले यसअघि कहिलै नदेखेका स्पिटिङ कोब्रा सर्प नोबेल अस्पताल सञ्चालक डा. सुनिल शर्माको निवासस्थलको मुल प्रवेशद्वारमा देखिएको थियो । सर्प देखिएलगत्तै त्यहा“ कार्यरत कर्मचारीले विराटनगर महानगरपालिकाका सर्प उद्धारकको काम गर्दै आएका नगर रक्षक हवल्दार शम्भु घिमिरेलाई फोन गरे । फोन आए लगत्तै घिमिरे सर्प समात्ने औजारसहित त्यहाँ पुगेर सर्प समाते ।
घिमिरेले बितेको केही बर्षयता सर्प समातेर सुरक्षित स्थानमा लगेर उद्धार गर्दै आएका छन् । समातिएको सर्प घिमिरेले विराटनगरमै रहेको डिभिजन वन कार्यालय परिसरमा राखिएको पिंजडामा लगेर राख्ने गरेका छन् ।
यसरी समातिने सर्पहरुलाई घिमिरेसहित डिभिजन बनका कर्मचारीले चारकोसे झाडीमा लगेर छाड्ने गरेका छन् । नोबेल अस्पताल परिसरमा समातिएको सो सर्पसमेत घिमिरेले डिभिजनमै लिएर गए ।
तर पिंजडामा राख्ने क्रममा सर्पले कैयौं फिट टाढाबाटै घिमिरेको अनुहारमा बिष फालिदियो ।
घिमिरेले चश्मा लगाएकाले बिष उनको आँखामा त परेन तर केही घण्टापछि उनलाई अस्पतालसम्म जानुपर्ने अवस्था सिर्जना भयो ।
२८ घण्टासम्म अस्पतालमा उपचारपछि बल्ल आफू स्वस्थ भएर घर फर्कन सकेको घिमिरेले बताए ।
स्वास्थ्य लाभ गरेसँगै घिमिरे फेरि काममा फर्किएका छन् र आफूलाई बिष फालेर घाइते बनाउने सर्पलाई जंगलमा लगेर छोडेका छन् ।
घिमिरेले हालसम्म ३ सय ९० वटा बिषालु र गैर बिषालु सर्पहरुको उद्धार गरिसकेको भएपनि यसअघि यो प्रजातिको सर्प कहिल्यै नदेखेको जानकारी दिए ।
राजगोमन सर्पले जस्तै उक्त सर्पले बिष फाल्ने गरेपनि सर्पको आकृति सो सर्पसँग नमिल्ने स्थानीयले बताएका छन् ।
किङ कोब्रा भनिने राजगोमन कालो रंगको हुने र सो सर्पको जिउमा सेतो रंगको पट्टी देखिने गर्छ तर यस सर्पको जिउमा त्यस भन्दा फरक किसिमको छिर्केमिर्के सेतो बुट्टा देखिएको छ ।
View : 113
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved