विराटनगर । कोशी अस्पताल विराटनगरले निसन्तानको समस्या भोगिरहेका दम्पतीहरूको उपचारका लागि निसन्तान क्लिनिक सञ्चालनमा ल्याउने भएको छ ।
लामो समयदेखि निसन्तानपनको समस्या झेलिरहेका दम्पतीहरूलाई आवश्यक चिकित्सकीय परामर्श, परीक्षण र उपचार सेवा प्रदान गर्ने उद्देश्यले अस्पतालले उक्त क्लिनिक सञ्चालनमा ल्याउन लागेको हो ।
अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा. रुना झाले लामो समयदेखि सन्तानको चाहना बोकेका तर सन्तान प्राप्त निसन्तान दाम्पतीहरूलाई सरकारी अस्पतालबाट नै आवश्यक परामर्श र जाँच सर्बसुलभ तरिकाले दिन सकियोस् भन्ने उद्देश्यले सो क्लिनिक सञ्चालनमा ल्याउन लागिएको बताइन् ।
अस्पतालमा भएकै जनशक्ति र पूर्वाधारलाई प्रयोग गरेर सञ्चालनमा ल्याउन लागिएको सो क्लिनिक यसै महिनाभित्रमा सञ्चानमा आउने समेत मेसु डा. झाले बताइन् ।
क्लिनिक सञ्चालनका लागि आवश्यक सामानहरू अस्पताल आइसकेको र क्लिनिकमा सेटअप पनि भइसकेको मेसु डा. झा ले जानकारी दिइन् ।
‘हामीसँग तालिम प्रँप्त चिकित्सकहरू हुनुहुन्छ, आवश्यक सामानहरू पनि आइसकेका कारण यो सेवा छिटै नै सुरु हुने छ,’ मेसु झा ले भनिन् ।
अस्पतालले सञ्चालनमा ल्याउन लागेको सो क्लिनिक अस्पतालकै स्त्री तथा प्रसूति रोग विभागद्वारा सञ्चालित हुनेछ ।
उक्त सेवाको लागि भने विभागकी प्रमुख स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा.अञ्जु देव र डा. मधुमिता राणा निसन्तान क्लिनिक सञ्चालनका लागि तालिम तालिम प्राप्त चिकित्सक हुन् ।
अस्पतालकी स्त्री तथा प्रसूति रोग विभागकी प्रमुख वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा.अञ्जु देव अस्पतालले निजी क्लिनिकमा गएर निसन्तानपनको उपचार गर्न नसक्ने गरिव तथा बिपन्न वर्गका दम्पतीलाई सरकरी अस्पतालमा सर्वसुलभ तरिकाले उपचार सेवा प्रदान गर्ने उद्देश्यले सेवा सुरु गर्न लागिएको बताउँछिन् ।
‘निजी क्लिनिकमा गएर उपचार गराउन सबैको क्षमता हुँदैन, गरिव तथा बिपन्न वर्गका दम्पतीले कहाँ गएर उपचार गराउने ?’ यस्ता दम्पती हाम्रो लक्षित वर्ग हुन्’, डा. देवले भनिन् । उक्त क्लिनिक सरकारी अस्पतालबाट सेवा दिने कोशी प्रदेशकै पहिलो क्लिनिक भएको समेत उनले दाबी गरिन् ।
क्लिनिकले निसन्तान दाम्पतीका लागि परामर्शदेखि महिला वा पुरुष कसको कमजोरीका कारण सन्तानसुख प्राप्त हुन नसकेको हो त्यसको जड पत्ता लगाई उपचारको प्रकृया अगाडि बढाउँछ ।
‘उपचारमा क्रममा सुरुवातमा हामी आयूआई अर्थात् इन्ट्रा यूट्राइन इन्सेम्नेसन सेवा प्रदान गर्छाैं,’ डा. देवले भनिन्, ‘यस प्रविधिमार्फत् यदि कुनै पनि पुरुषको शुक्रकिटको मात्रा कमी भएमा वा महिलाको अण्डा समयमा नबन्ने भएमा महिनावारी गडबडी भएमा अथवा विभिन्न कारणले शुक्रकिट पाठेघरभित्र जान नसक्ने अवस्था भएमा यस प्रविधिबाट सन्तान सुख दिन सकिन्छ ।’
उनले भनिन् ‘हाल हामीले आयूआई सेवा सुरु गर्न लागेका छौं, यो सफल भएपछि भने आवश्यकता हेरेर आईभीएफ सेवा पनि सञ्चालन गर्ने योजना रहेको छ ।
‘क्लिनिकबाट दिइने सेवा आइयूआईबाट पनि उपचार सम्भव नभएको खण्डमा आईभीएफको लागि नेपाल सरकारद्वारा सञ्चालित सरकारी अस्पतालमा पठाइने डा. अञ्जु देवले बताइन् ।
कोशी अस्पतालमा दैनिक १ सय ५० देखि २ सय बिरामीहरू स्त्री तथा प्रसूति रोग बिभागमा विभिन्न समस्याहरू लिएर आउने गरेका छन् । ती बिरामीमध्ये दैनिक १० देखि १२ दाम्पती निसन्तानपनको समस्या लिएर आउने गरेको डा.देवले जानकारी दिइन् ।
डा. देवका अनुसार, महिलामा प्रजनन् अङ्गसँग सम्बन्धित समस्याहरू, मासिक धर्मको अनियमितता, हर्मोनल असन्तुलन, अण्डा उत्पादनमा कमी वा अण्डाशयसम्बन्धी रोगहरू प्रमुख कारण हुन् ।
यस्तै पुरुषहरूमा शुक्राणु उत्पादनमा समस्या, शुक्राणुको गति र गुणस्तरमा कमी पनि बाझोपनको कारण हुन सक्छ ।
डा. देवका अनुसार नेपालमा निसन्तानपन अर्थात् बाझोपन एक गम्भीर स्वास्थ्य समस्या बन्दै गएको छ । बाझोपनलाई सामान्यतया एक वर्ष वा त्यो भन्दा लामो समयसम्म नियमित यौन सम्पर्क हुँदा पनि गर्भधारण नहुनुको स्थितिका रूपमा परिभाषित गरिन्छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार बाझोपन विश्वव्यापी स्वास्थ्य समस्या हो जसले करिब १५ प्रतिशत दम्पतीलाई प्रभावित गर्दछ । नेपालमा यो संख्या १० प्रतिशत देखि १५ प्रतिशतको बीचमा रहेको अनुमान गरिएको छ ।
View : 82
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved