Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
साहित्य

‘उपद्रष्टा हर्कमान तामाङ’ पुस्तकको लोकार्पण

उद्‌घोष संवाददाता
९ फागुन २०८१, शुक्रवार

सुन्दरहरैंचा । साहित्यकार केसु विरहीद्वारा लिखित ‘उपद्रष्टा हर्कमान तामाङ’ कृतिको बुधबार लोकार्पण गरिएको छ । पठन संस्कृतिको विकास तथा लेखक, स्रष्टाप्रति सम्मान गर्ने उद्देश्यले प्रमुख अतिथिबाटै लेखकको कृति खरिद गरेर सोही कृतिको लोकार्पण गरिएको हो ।

सामाजिक तथा सांस्कृतिक अभियन्ता अग्रज स्रष्टा हर्कमान तामाङका बारेका तयार पारेको पुस्तक ‘उपद्रष्टा हर्कमान तामाङ’ को बिक्रीबाट प्राप्त भएको रकमको ५० प्रतिशत अंश बेलबारी बहुमुखी क्याम्पसमा एउटा अनुसन्धान अक्षयकोष निर्माण गर्ने र यसबाट प्राप्त ब्याजबापतको रकमबाट अनुसन्धान गर्ने एक जना विद्यार्थीलाई पुरस्कृत गरिने विरहीले जानकारी दिए । 

बेलबारी साहित्य विकास समिति, बेलबारी मोरङको आयोजना, बेलबारी बहुमुखी क्याम्पस तथा जुझारु मिडिया एन्ड रिसर्च सेन्टर, बेलबारी मोरङको सहआयोजनामा सम्पन्न कार्यक्रममा कोशी प्रदेशसभा सदस्य ज्ञानेन्द्र सुवेदीले कार्यक्रमको उद्घाटन गरेका थिए । 

लोकार्पित कृतिमाथि डा. दीपकप्रसाद न्यौपानेले समीक्षा गरे । बेलबारी नगरपालिकाका प्रमुख दिलप्रसाद राई, भाषाविद् अमृतप्रसाद आचार्य, कवि तथा अन्वेषक अनिल पौडेल, मिश्र बैजयन्ती, डा. उद्धव पोखरेल,

राजनीतिक तथा शैक्षिक व्यक्तित्व विनोद भण्डारी, इरान राईलगायतका व्यक्तिहरूले विमोचित कृतिका पात्र र कृतिकार विरहीलाई शुभकामना दिएका थिए ।

विरहीका अनुसार ‘उपद्रष्टा हर्कमान तामाङ’ अनुसन्धानपरक (शोधमूलक) कृति हो । अग्रज स्रष्टा तामाङको जीवनीलाई आधार बनाएर उक्त पुस्तक तयार गरिएको विरहीले जानकारी दिए । 

राजनीतिक रूपमा सफल भए पनि तामाङले पारिवारिक रूपमा भोग्नुपरेका समस्याका बारेमा पुस्तकमा उल्लेख गरिएको विरहीले बताए ।

वि.सं. १९९७  साउन २५ गते भोजपुरको बोखिममा जन्मिएका  तामाङको बाल्यकाल भारतमा बित्यो । दार्जिलिङमा बसी राजनीतिक चासो लिएर उनले विद्यार्थी राजनीति गरेका थिए । 

तामाङले २०४८ र २०५६ सालको आमनिर्वाचन र २०५१ सालको उपनिर्वाचनमा मोरङको साविक ४ नम्बर क्षेत्रबाट चुनाव जितेका थिए ।

View : 486

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved