विराटनगर । नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिको निर्णय बमोजिम देशैभरका शिक्षकहरू फेरी आन्दोलित बनेका छन् ।
विभिन्न घटक संस्थाहरूमा आवद्ध शिक्षकहरूले समेत आन्दोलनमा सहभागीता जनाएका छन् ।
विभिन्न पेशागत र शैक्षिक माग राखेर लामो समयदेखि आन्दोलित हुने गरेका शिक्षकहरूसँग सरकारले वार्ता गरेपनि सहमति भने कार्यन्वयन हुन सकेको छैन ।
महासंघको नेतृत्वमा सुरु भएको आन्दोलन प्रस्तावित विद्यालय शिक्षा ऐन २०८० लाई तत्काल संसद्को हिउँदे अधिवेशनबाट पारित गर्न दवाव दिन केन्द्रीत रहेको जनाइएको छ ।
दवावकै लागि शुक्रबार मोरङका शिक्षकहरूले शिक्षा विकास तथा समन्वय इकाई मोरङको कार्यालय अगाडि प्रदर्शन गरेका छन् ।
नेपाल शिक्षक महासंघ मोरङका अध्यक्ष कुमार पोखरेलले दुई लाख ५० हजार जनाको संख्यामा रहेको संख्यामा रहेका सार्वजनिक विद्यालयहरूका अस्थायी शिक्षक र विद्यालय कर्मचारी तथा स्थायी शिक्षकहरूले उठाउँदै आएका माग सरकारले सम्बोधन गर्नुपर्ने बताए । शिक्षकहरूको पेशागत हकहितको मागलाई विद्यालय शिक्षा ऐनमार्फत संसदबाट पारित गर्नुपर्ने जनाइएको छ ।
शुक्रबार देशका ७७ वटै शिक्षा विकास तथा समन्वय इकाईमा शिक्षकहरूले ध्यानाकर्षण गराएका हुन् ।
नेपालमा वि.सं. २०३६ सालदेखि शिक्षकहरू आन्दोलित छन् ।
उनीहरूले २०६८, २०७५, २०७८ र २०८० सालमा काठमाडौं केन्द्रित आन्दोलन गरिसकेका छन् । तर सरकारले सहमति गर्दै सम्झौता अलपत्र पार्दै आएको शिक्षकका घटक संगठनहरूले आरोप लगाउने गरेका छन् ।
यसपटक पनि माग पुरा नहुन्जेल आन्दोलनमा उत्रिने चेतावनी दिंदै कक्षा १० को माध्यमिक शिक्षा परीक्षा मुखैमा पनि आन्दोलनका कार्यक्रम निरन्तर दिने बताएका छन् ।
आन्दोलनकै कार्यक्रम अन्तरगत फागुन १५ गते सातै प्रदेशका सामाजिक विकास मन्त्रालय र मुख्यमन्त्री कार्यालयमा ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रम रहेको जनाइएको छ ।
त्यस्तै फागुन २४ गतेदेखि काठमाडौं केन्द्रीत आन्दोलन गर्ने जानकारी एकीकृत अखिल नेपाल शिक्षक संगठनकी केन्द्रीय सदस्य अर्चना ढुंगेलले बताइन् ।
शिक्षा विकास तथा समन्वय इकाई मोरङ आयोजित विरोध प्रदर्शनपछिको कोण सभालाई प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रीय अध्यक्ष हिक्मत बहादुर बस्नेत, नेपाल राष्ट्रिय शिक्षक संगठन केन्द्रीय समितिकी सदस्य रिता पाठक, विद्यालय कर्मचारी परिषद् मोरङका अध्यक्ष शैलेन्द्र ताजपुरिया लगायतले सम्बोधन गरेका थिए ।
View : 116
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved