Biratnagar, Morang, Nepal
१० फागुन २०८१, शनिवार
+977 21 450305, 515728, 578305
शिक्षा

बुढानिलकण्ड माविले ४१ औं अभिभावक दिवस भव्य रुपमा मनाउँदै

उद्‌घोष सम्वाददाता
१० फागुन २०८१, शनिवार

विराटनगर । विराटनगर महानगरपालिका–२ स्थित बुढानिलकण्ड माध्यमिक विद्यालयले ४१ औं अभिभावक दिवस मनाइरहेको छ । 

२०४० सालमा स्थापित विद्यालयले शुक्रबार नर्सरीदेखि कक्षा ४ सम्मका विद्यार्थीहरूका अभिभावकहरू माझ अभिभावक दिवस मनाएको छ । शनिबार कक्षा ५ देखि १० सम्म अध्ययन गर्ने विद्यार्थीका अभिभावकसँग विविध कार्यक्रमका साथ अभिभावक दिवस मनाइएको हो ।

शुक्रबारदेखि सुरु भएको अभिभावक दिवसको उद्घाटन पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति डा. विजु थपलियाले गरेका छन् । उपकुलपति थपलियाले शिक्षा क्षेत्रमा बुढानिलकण्ड माविले इतिहाँस रचेको बताए ।

उनले विद्यालयले सुरु गरेका राम्रो कामलाई निरन्तरता दिंदै अझ राम्रो गरी अघि बढ्न शुभकामना दिए ।

संस्था बनाइसकेपछि जिम्मेवारीपूर्वक अघि बढाउनु पर्ने भएकोले त्यो जिम्मेवारी विद्यालयले पुरा गर्ने विश्वास व्यक्त गरे । साथै शैक्षिक क्षेत्रको विकासमा अझ अघि बढ्न विद्यालयका लगानीकर्ताहरूलाई आग्रह गरे ।

शिक्षा विकास तथा समन्वय इकाई मोरङका प्रमुख जीवन गड्तौलाले गुणस्तरीय शिक्षा प्रदान गर्नु सवै शैक्षिक संस्थाको दायित्व भएको बताए । उनले राम्रो शिक्षाका लागि विद्यालयसँगै अभिभावकको पनि दायित्व महत्वपूर्ण हुने बताए ।

अभिभावक दिवसको अवसरमा विद्यालयका संस्थापक दम्पती खगेन्द्र पाण्डे र ज्ञानु कोइराला पाण्डेलाई सम्मानित गरिएको थियो । 

विद्यालयका अध्यक्ष एवं आइसीसी क्रिकेट अम्पायर बुद्धि बहादुर प्रधान र प्रिन्सिपल मणिराज भट्टराईसहित विद्यालय परिवारले पाण्डे दम्पतिलाई सम्मानित गरेका थिए ।

प्रिन्सिपल मणिराज भट्टराईले सवैको मेहेनतका कारण कार्यक्रमलाई भव्य रुपमा आयोजना गरिएको बताए । उनले गुणस्तरीय शिक्षाका लागि विगत १० बर्षमा १० करोड बढि लगानी गरिएको जानकारी दिए । सोही लगानीको परिणाम विद्यार्थीहरूले उत्कृष्ट नजिता हाँसिल गरिरहेको बताए । अभिभावकहरूबाट प्राप्त हुने राम्रा सुझावलाई विद्यालयले सँधैभरी आत्मसात गर्दै जाने प्रतिवद्धता जनाए ।

कार्यक्रममा विद्यालयका नर्सरीदेखि कक्षा ४ सम्मका विद्यार्थीहरूले दर्जनौं गीतमा नृत्य प्रस्तुत गर्दै आफ्नो प्रतिभा देखाएका थिए । त्यसैगरी गीत संगीत प्रस्तुत गरेका थिए । विद्यार्थीहरूले ‘अभिभावकको दायित्व’ शिर्षकको नाटक समेत प्रस्तुत गरे ।

अभिभावक दिवसमा प्याब्सन मोरङका अध्यक्ष जगत बहादुर बस्नेत, प्याब्सन विराटनगरका अध्यक्ष अर्जुन श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

View : 81

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved