Biratnagar, Morang, Nepal
२० माघ २०८१, आइतवार
+977 21 450305, 515728, 578305
समाज

फोहोर व्यवस्थापनमा इटहरीको सफलता, ग्यास र प्राङ्गारिक मल उत्पादन शुरु

उद्‌घोष सम्वाददाता
२० फागुन २०८०, आइतवार

Advertisement

इटहरी । फोहोरमैला व्यवस्थापनमा इटहरी उपमहानगरपालिकाले निकै ठूलो फड्को मारेको छ । शहरमा उत्पादन भएको फोहोर खाल्डाखुल्डीमा फाल्नुपर्ने, चारेकोशे जंगल तथा सामुदायिक वनमा फाल्नुपर्ने अवस्थादेखि अहिले आफ्नै प्रशोधन केन्द्रबाट ग्यास र प्राङ्गारिक मल उत्पादनसम्म आइपुगेको छ ।

फोहोर व्यवस्थापनको काम सुरु भएको पछिल्लो १० बर्षपछि फोहोरबाट ग्यास र प्राङ्गारिक मल उत्पादन सुरु भएको छ ।

इटहरी–१० मा फोहोर प्रशोधन केन्द्र स्थापना गरिएको छ । प्रशोधन केन्द्रले प्लान्ट निर्माण सम्पन्न गरी २०७९ बैशाख २४ गतेबाट ग्यास उत्पादन परीक्षण सुरु गरेको वेष्ट एण्ड इन्भाइरो म्यानेजमेन्ट प्रालिका सचालक मानध्वज मोक्तानले जानकारी दिए ।

परीक्षणकाल अवधिमा एक सय सिलिण्डर ग्यास उत्पादन गरी विक्री गरिएको कम्पनीले जनाएको छ । उत्पादन भएको ग्यास सुनसरीकै जानकी पोली ट्याङ्क उद्योगलाई विक्री गरिएको कम्पनीका सञ्चालक मोक्तानले जानकारी दिए ।

कम्पनीले अब भने केही प्राविधिक पक्षलाई व्यवस्थापन गर्दै व्यावसायिक रुपमा ग्यास र मल उत्पादन गर्न सक्षम भएको बताएको छ ।  ग्यास र मलको उत्पादन तथा विक्री गरी राम्रो आम्दानी गर्न सकिने सम्भावना रहेको इन्भाइरो कम्पनीका सञ्चालक मोक्तानको विश्वास छ ।

आयोजनाको डीपीआर अनुसार साढे १३ करोड लाग्ने अनुमान थियो । तर ग्यास उत्पादनको अवस्थासम्म आइपुग्दा करिब २१ करोड लगानी भएको इन्भारो म्यानेजमेन्ट कम्पनीले जनाएको छ ।

योजनाको डीपीआर अनुसार स्थापना भएको प्लान्टबाट दैनिक ३० टन कुहिने फोहोर प्रशोधन गरी ८ टन ग्यास र ६ टन प्राङ्गारिक मल उत्पादन गर्न सकिन्छ । कुहिने फोहोरबाट ग्यास र मल उत्पादन गर्न २ करोड ७० लाखको लागतमा डाइजेस्टर निर्माण गरिएको छ । सो डाइजेस्टरमा ग्यास र मल उत्पादन गर्न दैनिक ३० टन कच्चा पदार्थ आवश्यक पर्छ ।

उत्पादन भएको ग्यास सिलिण्डरमार्फत विक्री गर्न सकिने कम्पनीले जनाएको छ । उत्पादन भएको ग्यासलाई बजारको कुनै समस्या छैन ।  सुनसरी मोरङ औद्योगिक करिडोरका कम्पनीहरुले सहजै खरिद गरिदिने वेष्ट एण्ड इन्भारो कम्पनीका सञ्चालक मानध्वज मोक्तान बताउछन् ।  कम्पनीले पनि उत्पादन भएको ग्यासलाई औद्योगिक क्षेक्रलाई नै लक्षित गरी वित्री गर्ने योजना बनाएको छ ।

परीक्षणकालमा उत्पादन भएको ग्यास पनि आद्यौगिक करिडोरकै उद्योगले खरिद गरिदिएको थियो ।

१० बर्षको प्रयास पछिको उपलब्धि

ल्याण्डफिल्ड साइड सञ्चालनमा आएपछि फोहोरमैला व्यवस्थापन सहज मात्र भएको छैन, सडकमा जथाभावी देखिने फोहोरसमेत हटेको छ ।  इटहरीका मुख्य चोक, सडक तथा भित्री सडकहरु समेत सफा देखिन थालेका छन् ।

दैनिक नियमित रुपमा फोहोर संकलन र व्यवस्थापन हुन थालेपछि इटहरी सफा देखिन थालेको हो । अहिले फोहोर व्यवस्थापनमा कुनै समस्या भोग्नु नपरेको इटहरी उपमहानगरपालिका वातावरण शाखाका प्रमुख पुष्पनारायण चौधरीले बताए । निजी क्षेत्रलाई दिए पनि फोहोर व्यवस्थापन गर्ने ठाउँ नहुँदा सामुदायिक वनमा फाल्नुपर्ने बाध्यता पनि हटेको प्रमुख चौधरीले बताए ।

इटहरीको फोहोरमैला व्यवस्थापन अर्को चरणमा पुगेको प्रमुख चौधरीको भनाई छ । अब भने उद्देश्य अनुसार फोहोरबाट मोहर बनाउने अवस्थासम्म आइपुगेको चौधरीले बताए । फोहोर व्यवस्थापन टाउको दुखाइ बनेपछि इटहरी उपमहानगरपालिकाले बिर्स २०७० देखि व्यवस्थापनको जिम्मा निजी क्षेत्रलाई दिएको थियो ।

संकलन भएको फोहोर फाल्ने ठाउँ नहुँदा ठुलो समस्या हुने गरेको थियो । इटहरी उपमहानगरपालिकाले फोहोर फाल्ने ठाउँ उपलब्ध गराउन नसक्दा शहरका खाल्डाखुल्डीमा फाल्नुपर्ने अवस्था थियो ।

विरोध आउन थालेपछि चारकोशे जंगल तथा सामुदायिक वनमा लगेर फाल्ने गरिएको थियो । जंगलमा फालिएको फोहोरमा आगो लाग्दा निस्किएको धुवाले इटहरीको भवानीपुर क्षेत्रका स्थानीयहरुले स्वास्थ्य समस्या भोग्नु परेको थियो । आँखा पोल्ने, स्वास फेर्न गाह्रो हुने जस्ता समस्या देखिएको थियो । विशेष गरी दम र स्वासप्रश्वास सम्बन्धी रोग भएका विरामीलाई ठुलो समस्या हुने गरेको थियो ।

इटहरीले जंगलमा फोहोर फाल्न छाडे पनि धरान उपमहानगरपालिकाले फोहोर फाल्न नछाडेको भवानीपुरका स्थानीय कुमार चौलागााईले बताए । इटहरी क्षेत्रको फोहोर फाल्न छाडिए पनि धरानको फोहोरका कारण समस्या भने उस्तै रहेको चौलागाईले बताए । पटक पटक आग्रह गर्दा पनि धरान उपमहानगरले फोहोर फाल्न नछाडेको उनले बताए ।

सामुहिक प्रयास

इटहरीको फोहोरमैला व्यवस्थापन यहासम्म ल्याई पुर्‍याउन भएको सामुहिक प्रयास अर्को महत्वपूर्ण पक्ष हो ।

फोहोर व्यवस्थापन इटहरी उपमहानगरपालिका र निजी क्षेत्रको पहिलो कर्तव्य थियो ।  व्यवस्थापन निजी क्षेत्रले गर पनि फोहोर एक ठाउँमा फाल्नुपर्छ, आफ्नो घरआँगन, पसल व्यवसाय आफैले सफा गर्नुपर्छ । फोहोर जथाभाबी नफाली बिहान गाडीमा हाल्नुपर्छ भन्ने संस्कारको विकास गर्न सामुहिक प्रयास भएको देखिन्छ ।

सुरुका दिनमा सञ्चालन भएका विभिन्न सफाई अभियानहरुले फोहोर व्यवस्थापनका लागि महत्वपूर्ण योगदान गरेका थिए । केआईसी इटहरी अभियान, उद्योग वाणिज्य संघ इटहरी, विभिन्न सामाजिक संघ संस्था, टोलविकास संस्थाहरुको रचनात्मक सहयोगले फोहोर व्यवस्थापनको जिम्मा पाएको कम्पनीलाई सहयोग पुगेको थियो ।  इटहरीमा देखिएको सामाजिक अभियानले छिमेकी शहरमा समेत प्रभाव पारेको थियो ।

के छन् चुनौती ?

उत्पादित ग्यास बिक्री गर्न बजारको समस्या छैन । तर केही प्राविधिक पक्ष भने अझै चुनौती रहेको कम्पनीको भनाइ छ ।

उत्पादित ग्यास अन्य एलपी ग्यास भन्दा कडा हुने हुँदा भण्डारण, बिक्री गर्ने सिलिण्डर र अन्य प्राविधिक पक्ष फरक गर्नुपर्ने देखिएको छ । केही थप मेसिन तथा उपकरण खरिद गर्नुपर्ने भएकाले अर्डर गरिएको र केही समयमा नेपाल आइपुग्ने कम्पनीले जनाएको छ ।

ठुला र बढ तौलका सिलिण्डर भएका कारण भण्डारण र वितरणमा चुनौति छ । त्यसैले घरेलु प्रयोग भन्दा पनि औद्योगिक बजारलाई प्राथमिकतामा राखेको छ ।

अर्को मुख्य चुनौत कच्चा पदार्थको देखिएको छ । दैनिक सञ्चालनका लागि आवश्यक पर्ने कुहिने कच्चा पदार्थ संकलन गर्नु चुनौतिपूर्ण देखिएको छ ।

दैनिक ४० देखि ४५ टन फोहोर उत्पादन हुने इटहरीमा केवल डेढ टन मात्रै कुहिने फोहोर संकलन हुँदा चुनौती देखिएको कम्पनीको भनाइ छ ।

प्रशोधन केन्द्रको दीर्घकालिन सञ्चालनका लागि आवश्यक कच्चापदार्थको व्यवस्थापनका लागि स्रोतमै फोहोरको वर्गीकरण गर्नुपर्ने उपमहानगरका वातावरण शाखा प्रमुख पुष्पनारायण चौधरी बताउँछन् ।

व्यवस्थापन कम्पनीले फोहोरको वर्गीकरण लागि काम गर्नुपर्ने उनको सुझाव छ । यसका लागि उपमहानगरले पनि आवश्यक पहल गरिरहेको उनले बताए । अपुग कच्चापदार्थका लागि विकल्प खोजी भइरहेको कम्पनीले जनाएको छ ।

पशु फार्मबाट गोबर, उखु मिलका कच्चा पदार्थ र जंगलका झारलाई विकल्पको रुपमा प्रयोग गर्ने योजना बनाएको कम्पनीका मानध्वज मोक्तानले बताए ।

View : 265

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved