Biratnagar, Morang, Nepal
१५ असार २०८१, शनिवार
+977 21 450305, 515728, 578305
समाज

क्षयरोगमुक्त अभियान

विराटनगरमा एक महिनामै २१४ नयाँ क्षयरोगी

उद्घोष सम्वाददाता
९ असार २०८१, आइतवार

विराटनगर ४ मा क्षयरोगमुक्त अभियान संञ्चालन गर्न बनेको समितिका सदस्य । तस्वीरः कमल/ उद्घोष

विराटनगर । गएको एक महिनामा विराटनगर–४ नम्बर वडामा १३ जना क्षयरोगका नयाँ बिरामी फेला परे । महानगरको अनुमानमा सो वडामा जनसंख्याको आधारमा ५२ जना नयाँ विरामी थपिएको हुनुपर्ने अनुमान छ । बाँकी ३९ जना बिरामी स्वास्थ्यकर्मीको खोजीमा छन् ।

सो महिना विराटनगर महानगरभित्र दुई सय १४ जना नयाँ बिरामी भेटिएका थिए । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को सर्वेक्षणले नेपालमा ६९ हजार नयाँ बिरामी थपिएको देखिएको छ । नेपालमा दैनिक ४४ जना र वर्षमा १६ हजार जनाको क्षयरोगका कारण मृत्यु हुने गरेको छ ।

नेपालमा दैनिक एक सय ९१ जना नयाँ बिरामी थपिए पनि एक सय १५ जना उपचारमा जान नसकेको डब्लूएचओको अनुमान छ । नेपालको जनसंख्याको ४५ फ्रतिशतमा क्षयरोगको संक्रमण रहेको बताइएको छ ।

संत्रमित कम प्रतिशतलाई मात्रै क्षयरोगको समस्या देखिने र बढी समस्या भएकाबाट अरुमा सर्ने गरेको छ । दक्षिणमा भारतबाट भारतीय विरामीका साथै पश्चिममा सुनसरीको सिमाना तथा मधेस प्रदेशका जिल्लाबाट पनि उपचारका लागि विरामी विराटनगर आउने भएकाले महानगरमा क्षयरोग नियन्त्रणमा चुनौति छ ।

धुमपान गर्ने, लागुऔषध सेवनकर्ता, स्वासप्रश्वास, मधुमेहका बिरामी, कुपोषण, एचआईभी भएका मानिस तथा स्वास्थ्यकर्मीलाई क्षयरोग सर्ने बढी जोखिम छ । 

‘विराटनगर मेडिकल हव भएकाले पनि यहाँ टा–टाढाका बिरामी उपचारमा आउँछन्, उनीहरुबाट महानगरवासीलाई सर्ने जोखिम धेरै छ’ महानगरको स्वास्थ्य शाखा प्रमुख दिलिप यादवले भने–‘बाहिरबाट आउने बिरामीको निगरानी गर्न हामीलाई चुनौती छ ।’ उनका अनुसार ग्रामीण र शहरी क्षेत्र भएका विराटनगरका ६, ७, १२ र १५ नम्बर वडा क्षयरोगको बढी जोखिममा छन् भनें ग्रामीण क्षेत्र भएका वडा १७, १८ र १९ पनि उत्तिकै जोखिममा छन् ।

बच्चा जन्मनासाथ बीसीजी खोप लगाउँने, एचआईभी संक्रमितको क्षयरोग परीक्षण गराउने, खकारको उचित ब्यवस्थापन गराएर माक्रै रोगको संत्रमणमा कमी ल्याउंने सकिने महानगरको निश्कर्ष छ ।

वडा नम्बर ४ मा वडाध्यक्ष जितन थापाको संयोजकत्वमा क्षयरोग नियन्त्रणका लागि वडास्तरीय २१ सदस्यीय समिति गठन भएको छ । समितिका सदस्य तथा स्वास्थ्य स्वयमसेविका पार्वती गौतमले समितिले लुकेर बसेकाहरुलाई घर घरमै गएर रोगीको खोजी गरी उपचारमा ल्याउने बताइन् । 

वडास्तरमा स्वास्थ्यकर्मी र जिम्मेवार स्वयमसेविकाहरु भएपनि रोगी उपचारबाट छुटेर बसेको उनको भनाइ छ । महानगरस्तरीय समितिका सदस्यसमेत रहेका वडाध्यक्ष थापाले ग्रामीण क्षेत्रमा भएका गरिब, विपन्न र अशिक्षित वडावासीसम्म पुगेर रोगीलाई उपचारको दायरामा ल्याइने बताए । महानगरपालिकाका जनस्वास्थ्य अधिकृत भुपेन्द्र साहका अनुसार क्षयरोग अन्त्य गर्ने अभियानमा विराटनगरका १८ वटा वडामा समिति बनिसकेको छ । 

१५ नम्बर वडामा आइतबार समिति बन्दैछ । महानगरपालिकामा मेयर नागेश कोइरालाको संयोजकत्वमा सबै वडाध्यक्ष सदस्य रहने गरी समिति बनिसकेको छ ।

महानगरपालिकाले क्षयरोग परीक्षण गर्ने नयाँ स्थानहरु पनि थप गर्दैछ । विराटनगरमा क्षयरोग निवारण संस्था र कोशी अस्पतालबाट मात्रै औषधि बितरण हुने गरेकोमा हाल १९ वटै वडामा रहेका स्वास्थ्य चौकीबाट औषधि वितरण हुदै आएको छ । प्रदेश र संघमा पनि अभियान सञ्चालन गर्न समिति बनेको छ । 

नेपालले सन २०३५ सम्ममा क्षयरोग अन्त्य गर्ने अभियान बनाएर गतिबिधि सञ्चालन गर्न थालेको छ । जस अनुसार देशभरका वडाहरुसम्म क्षयरोग अन्त्यका लागि समिति बनेका छन् । सन २०३५ सम्ममा प्रति एक लाख जनसंख्यामा एक जनामा क्षयरोगी झार्ने सरकारको नीति रहेको छ ।

यस्तै सन २०५० सम्ममा प्रति १० लाखमा एक जनामा झार्ने योजना सरकारको छ । जसका लागि क्षयरोगी भएका घरमा ५ वर्ष मुनिका बालबालिका भए कुनै पनि लक्षण नभए पनि क्षयरोगको औषधि ३ महिना खुवाइन्छ ।

View : 34

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved