Biratnagar, Morang, Nepal
७ मंसिर २०८१, शुक्रवार
+977 21 450305, 515728, 578305
राजनीति

राष्ट्रियसभाको अध्यक्षमा दाहाल र शर्माले दर्ता गरे उम्मेदवारी

उद्घोष सम्वाददाता
२८ फागुन २०८०, सोमवार

विराटनगर । राष्ट्रियसभाको अध्यक्ष पदका लागि सत्तागठबन्धन र विपक्षी दलका तर्फबाट सोमबार उम्मेदवारी दर्ता भएको छ । 

सङ्घीय संसद् भवन नयाँबानेश्वरमा जारी निर्वाचन प्रक्रियाअन्तर्गत सत्ता गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र) का सांसद नारायण दाहाल र विपक्षी दलका तर्फबाट नेपाली कांग्रेसका सांसद युवराज शर्माले उम्मेदवारी दर्ता गराएका हुन् ।

दाहालको प्रस्तावकमा सोही पार्टीका सांसद गोपीबहादुर अछामी र समर्थकमा नेकपा (एमाले) का सांसद देवेन्द्र दाहाल, नेकपा (एकीकृत समाजवादी) का सांसद बेदुराम भुसाल र जनता समाजवादी पार्टी नेपालका सांसद मोहम्मद खालिद रहेका छन् ।

शर्माको प्रस्तावकमा नेपाली कांग्रेसका सांसद आनन्दप्रसाद ढुङ्गाना र समर्थकमा कांग्रेसकै सांसद किरणबाबु श्रेष्ठ र लोकतान्त्रिक समाजवादी पार्टी नेपालका किशोरकुमार सिंह रहेका छन् । 

फागुन २९ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि सोमबार दिउँसो १ बजेसम्म उम्मेदवारी दर्ताको कार्यक्रम निर्धारण गरिएको थियो । 

राष्ट्रियसभाको अध्यक्ष पदका उम्मेदवार दाहालले पार्टीमा आफूले दिएको योगदान र जिम्मेवारीका आधारमा उम्मेदवारी दिएको बताएका छन् ।

उम्मेदवारी दर्ता गरेपछि सञ्चारकर्मीसँग उनले भने, “सामान्यतः प्रदेशको सह–इञ्चार्जको जिम्मेवारीमा जाँदासमेत पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को परिवारसँग जोडेर हेर्ने गरिन्थ्यो, यो आरोप पहिलो पटक होइन ।”

आफू २०३६ देखि राजनीतिक गतिविधिमा लागेकामा त्यो योगदानबारे थाहै नपाएका पक्षले आफूमाथि आरोप लगाएको उनले बताए । भूमिका नै नबुझी यसरी बारम्बार प्रश्न गर्दा कति न्याय होला ? भन्दै उनले प्रश्न गरे ।

“त्यसबेला यदि दाजुभाइको नाता लगाउनेले युद्धमा हिँड्दा दाइ हिँडेको छ, परिवारका सबै किन हिँड्नु पर्यो भनी किन प्रश्न नगरेको ?”, दाहालले भने । 

त्यस्तै नेपाली कांग्रेसका तर्फबाट राष्ट्रियसभाको अध्यक्ष पदका उम्मेदवार बनेका शर्माले आफ्नो लामो राजनीतिक यात्रा र भूमिकाका कारण पार्टीले एक ढिक्काका साथ अध्यक्ष पदका लागि उम्मेदवार बनाएको बताए ।

उनले आफू प्रतिस्पर्धीभन्दा राजनीतिक र शैक्षिक योग्यताका हिसाबले अब्बल रहेको दाबी गरे । साथै आफू अध्यक्षमा निर्वाचित भएमा संसदीय प्रणाली र पदको गरिमा बढाउने ढङ्गबाट कार्यसम्पादन गर्ने पनि बताए ।

शर्माले भने, “लोकतन्त्रमा कसैको जित वा हार हुँदैन । सबै जित्छन्, सबै हार्छन् । निर्वाचन लोकतन्त्रको सुन्दर पक्ष हो, पार्टीले आफ्नो उम्मेदवारीको निर्णय पहिलो पटक गरेकाले अर्को को उम्मेदवार भन्ने प्रश्न हुँदैन ।”

आफू मुलुकमा प्रजातन्त्र स्थापनाको आन्दोलनका क्रममा २०२४ सालमा जेल परेको, २०२७ सालमा नेपाल विद्यार्थी सङ्घको संस्थापक सदस्य रहेको, २०२५ सालमा बिपी कोइरालासँग प्रशिक्षण लिएको, कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवा नेविसङ्घको सभापति हुँदा उपसभापतिको जिम्मेवारीमा रहेको बताए । विसं २०३३ मा जिल्ला समिति सदस्य, २०४५ सालमा बाँके जिल्लाको पार्टी सभापति, लोकतन्त्रका लागि भएको सबै आन्दोलनमा नेतृत्वदायी भूमिका रहेको पनि जानकारी दिए ।

तत्कालीन अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको कार्यकाल फागुन २० गते सकिएको थियो । तिमिल्सिनाको कार्यकाल सकिएका कारण अध्यक्षका लागि निर्वाचन हुन लागेको हो ।

View : 250

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved