झापा । नेपालको सुदूरपूर्वी कुना काँकडभिट्टाबाट आठ किलोमिटर उत्तर लागेपछि आउँछ बाहुनडाँगी बजार । यो ठाउँको ठीक पूर्वपट्टि, मेचीपारि भारतको नक्सलबारी क्षेत्र पर्छ, जहाँ वि सं २०२० को दशकमा चर्केको चारू मजुम्दारको वामपन्थी विद्रोहको बाछिटा वारीसम्मै आइपुगेको थियो । पहिले ‘क्रान्ति’ आउने त्यही बाटोबाट अहिले हुलका हुल जंगली हात्ती आउने गरेका छन् ।
नक्सलबारी बजार र आसपासका क्षेत्रबाट हुलका हुल बाहुनडाँगीतिर आउने जंगली हात्तीले यो ठाउ“मा लामो समयदेखि दुःख दिइरहेको छ । हात्ती र मान्छेबीचकै द्वन्द्वमा यहा मान्छे र हात्ती दुवैको ज्यानसमेत गएको छ । भौतिक क्षति त बेहिसाब भइसकेको छ ।
दशकौंदेखि जंगली हात्तीले दुःख दिइरहेको यो ठाउँमा हात्ती नियन्त्रणका सबै उपायहरू विफल भएपछि हात्तीसँग जुध्ने होइन, मिल्नुपर्छ भन्ने चेत विकास हुन थालेको छ । त्यसैले हात्ती आतंकको पर्याय बनेको यो ठाउँ अहिले हात्तीसित मिलेर बस्ने योजना बुनिरहेको मात्रै छैन, त्यसको कार्यान्वयन पनि गरिरहेको छ ।
‘हात्तीसँग जुधेर सम्भव छैन, मिलेर बस्नु नै सबैभन्दा उत्तम विकल्प हो भन्ने हाम्रो ठहर छ’, हात्तीबारे निरन्तर अध्ययन गरिरहेका बाहुनडाँगीकै बासिन्दा शंकर लुइटेलले भने, ‘अहिले गाउँमा यो चेत विकास हुँदै गएको छ ।’ उनी केही वर्षदेखि हात्तीको आनीबानी अध्ययन गरिरहेका अभियानीसमेत हुन् ।
हाल बाहुनडाँगीमा मानिस र हात्ती दुबैको हितका लागि कार्यक्रम सुरु भएको छ । मेचीनगर–४ का वडाध्यक्ष अर्जुन कार्कीले मेची किनारमा हात्तीलाई उपयोगी हुने वनस्पति लगाउने योजना अघि सारेका छन् ।
पहिलो चरणमा गाउ“लेका घरको बीमा गर्न थालिएको छ । वडाध्यक्ष कार्कीका अनुसार ‘उज्यालो नेपाल, बर्दिया’ को सहयोगमा मेचीनगर नागरपालिका–४ का सबै घरको बीमा गर्ने काम भइरहेको छ ।
अहिलेसम्म ९ सय हाराहारी घरको बीमा भएको छ । गएको पुसदेखि लागू भएको बीमाको प्रिमियम शुल्क बापतको ९५ रुपैयाँ उज्यालो नेपालले तिरिदिएको छ । त्यसको समन्वय वडा कार्यालयले गरेको छ ।
‘९५ रुपैयाँ प्रिमियम तिरेपछि डेढ लाख रुपैयाँ बराबरको बीमा हुन्छ’ वडाध्यक्ष कार्कीले भने ‘हात्तीले घरमा क्षति गरे पनि वा अन्य विपद्ले क्षति भए पनि घरधनीले डेढ लाख रुपैयाँसम्म क्षतिपूर्ति पाउनेछन् ।’
क्षतिपूर्ति पाउने पक्का भएपछि हात्तीमाथि आक्रमण नहुने कार्कीको बुझाइ छ । उनी भन्छन् ‘मान्छेले नचलाउने हो भने हात्तीले आक्रमण गर्दैन । अब बालीको बीमाका लागि पनि सरकारसग कुरा बुझ्दैछौं ।’
नेपालका हात्ती विज्ञ रमेश थापाका अनुसार निकुञ्ज, आरक्ष तथा मध्यवर्ती क्षेत्रमा त्यहाँको आम्दानी स्थानीयस्तरमै खर्च हुन्छ । पीडितले बालीनालीको क्षतिपूर्ति पाउँछन् । तर, बाहुनडाँगीमा आरक्ष, निकुञ्ज केही पनि छैन । उनीहरूको हित रक्षा गर्ने निकाय छैन । यही कारणले पनि त्यहाँ हात्ती र मान्छेबीचको लडाइँ वर्षौदेखि चलिरहेको छ ।
मेचीनगर नगरपालिकाका वडा नम्बर १, २, ३ र ४ का धेरैजसो बासिन्दामा हात्तीप्रति ठूलो आक्रोश छ । आक्रोशको पारो जति नै उच्च छ त्रास पनि । यस्तै आक्रोश र त्रासले गाउँमा हात्ती र मान्छे दशकौदेखि आपसमा भिडिरहेका छन् । बाहुनडाँगीमा जंगली हात्तीले मच्चाउने वितण्डाको पीडा नभोग्ने घरपरिवार छैन भने पनि हुन्छ ।
जनधनको क्षति रोक्न गाउँलेहरू आहाराको खोजीमा विचरण गरिरहेका हात्तीसँग भिड्छन् । यहाँ यस्तो भिडन्त अहिलेको होइन, मानव बस्तीको विकास भएदेखिकै हो । स्थानीय बुढापाकाहरूका अनुसार वि सं १९८५ सम्म बाहुनडाँगी क्षेत्रमा घना जंगल थियो । मानिसले जंगल फाँडेर बस्ती बसाउन सुरु गरे । जंगल मासिदै गयो, बस्ती बढ्दै गयो । ‘उत्तरमा इलाम र पूर्वमा भारत रहेको यो ठाउँ मौसमी अनुकूलताका हिसाबले पनि बस्न उपयुक्त मानेर बाउबाजेहरू यता आएका हुन्’, बाहुनडाँगीका बासिन्दा धनराज तामाङले भने, ‘यहाँको जंगल फँडिदै गएपछि हात्तीले दुःख दिने क्रम बढ्दै गयो ।’
उनका अनुसार वि सं २०२० को दशकमा बाहुनडाँगीको उत्तरी क्षेत्रमा हात्तीले क्षति गर्न थालेको हो । बिस्तारै तल्लो क्षेत्रमा पनि असर पर्न थाल्यो । नेपाल, भारत र भूटानलाई कर्मथलो बनाएर प्रकृति संरक्षण अभियानमा सक्रिय रहेका भारतीय संरक्षणकर्मी राज बसूका अनुसार नेपालको बाहुनडाँगीदेखि भारतको दार्जिलिङ र सिलिगुढीबीचको क्षेत्र हात्तीको पुरानो वासस्थान हो । यस क्षेत्रमा हात्तीको आवतजावत घना जंगल रहेको समयदेखिकै हो ।
‘बाहुनडाँगीबाट जल्दापारा राष्ट्रिय निकुञ्ज हुँदै भारतीय राज्य असमसम्म हात्तीको पुरानै रूट हो’, बसू भन्छन् ‘यो रूटमा अहिले घना मानवबस्ती छ । हात्ती आफ्नो परम्परागत चरन क्षेत्रमा आउँदा मान्छेको नोक्सानी हुन थाल्यो अनि मानव–हात्ती द्वन्द्व चुलियो ।’
बाहुनडाँगीका बासिन्दाहरूका अनुसार वि सं २०५० को दशकदेखि गाउँमा हात्तीको आतंक धेरै बढेको हो । पहिले सानो बथानमा आउने हात्ती त्यसयता ठूलो बथानमा आउन थाले । ५५–५६ सालदेखि त सयौ हात्तीको हुल गाउँ पस्न थाल्यो । बालीनाली र घरमा क्षति हुने र मान्छे मार्ने क्रम पनि बढ्यो ।
२०३४ सालमा तिरिङकी यशोदा विकलाई हात्तीले मारेको थियो । जानकारहरूका अनुसार बाहुनडाँगी क्षेत्रमा हात्तीको आक्रमणबाट ज्यान गुमाउने पहिलो व्यक्ति उनै हुन् । बाहुनडाँगीमा मात्रै २०३४ सालदेखि २०७४ सालसम्ममा १९ जनाको ज्यान गएको छ ।
हात्तीको आक्रमणबाट २०७४ सालमा मनोरथ ढुंगेल मारिएका थिए । त्यसयता भने ज्यानको घटना भएको छैन । डिभिजन वन कार्यालय, झापाका अनुसार २०६८ यता झापामा हात्ती आक्रमणमा परेर ६२ जनाको ज्यान गएको छ । यीमध्ये धेरै बाहुनडाँगीकै छन् । घाइते हुनेको संख्या पनि धेरै छ ।
यसबीचमा गाउँलेले पनि कहिले करेन्ट लगाएर त कहिले घरेलु हतियारले घाइते बनाएर हात्ती मारेका छन् । बाहुनडाँगीमा मात्रै कम्तीमा १५ वटा मारिएका छन् । ‘हात्तीले बाली नष्ट गरिदिंदा बालीमात्रै जाँदैन चाडपर्व, छोराछोरी पढाउने खर्च र वर्षभरिको खुसी पनि खोसिन्छ’ वडाध्यक्ष कार्की ‘यसैकारण गाउँलेहरू हात्तीमाथि जाइ लाग्छन् । मान्छे जाइलागेपछि हात्ती रिसाउँछ । रिसाएको हात्तीले धेरै वितण्डा मच्चाउँछ ।’
हात्ती आतंक नियन्त्रणका लागि अनेक उपाय गरिए तर कुनै पनि उपायले काम नगरेपछि अब हात्तीसँग मिलेर बस्ने योजना बन्न थालेको हो ।
स्थानीयवासीहरूका अनुसार सुरुमा गाउँले र प्रहरी मिलेर पटाका पड्काउने, पुल्ठो बाल्ने, ठूलो आवाजले तर्साउने जस्ता उपाय गरे ।
अहिले पनि यस्तै प्रयास हुने गरेको छ तर हात्ती तर्सिन छाडेको छ ।
कुनैबेला पुल्ठो देख्दा तर्सिएर जंगलतिर फर्किने हात्ती अहिले दर्जनौं अत्याधुनिक लाइटको उज्यालो र ट्याक्टरको आवाजबाट पनि डराउन छाडेको छ ।
२०६० सालपछि तत्कालीन जिल्ला विकास समितिले मेची किनारमा १४ किलोमिटर लामो तारबार गरेको थियो । त्यसले पनि काम गरेन । मेची किनारमा सुरुङबार पनि खनियो तर काम लागेन ।
२०६८ सालमा विश्व बैंकको सहयोगमा विद्युतीय तारबार सुरु भयो । हात्तीको आतंक खेपिरहेका भारतका विभिन्न ठाउँ र विश्वका अन्य धेरै ठाउँको अनुभवका आधारमा सरकारले विद्युतीय तारबारको योजना अघि सारेको थियो । सौर्य ऊर्जामा आधारित करेन्ट तारमा प्रवाह गर्दा हात्तीले छुनासाथ असर गर्छ र नाघेर प्रवेश गर्दैन भन्ने विश्वासका साथ तारबार भयो ।
करिब चार वर्षमा इलामको रोङ गाउँपालिकाको सीमादेखि काँकडभिट्टा नजिकैसम्म १७ किलोमिटर लामो तारबार गरियो । यसले पनि अहिले काम गर्न छोड्यो, हात्तीका हुल गाउँ पस्न रोकिएन ।
‘सबै उपाय विफल भएपछि अब हात्तीलाई गाउँ पस्न दिने, आहाराका लागि बालीमा पसे पनि सकेसम्म आक्रमण नगर्ने बरु त्यसबाट हुने क्षतिबापत बाली बीमा र घर बीमा गरिदिने भनेर योजना अघि बढेको हो’, वडाध्यक्ष कार्कीले भने ‘घरमा क्षति हुँदा र बाली नासिदा क्षतिपूर्ति पाउने हो भने मान्छेले हात्तीलाई आक्रमण गर्दैनन्, मान्छेले हात्ती नचलाएपछि उसले पनि केही गर्दैन । अब यसरी मिलेर बस्नुको विकल्प छैन ।’
View : 107
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved