Biratnagar, Morang, Nepal
२ माघ २०८१, बुधवार
+977 21 450305, 515728, 578305
विचार

आदर्श पुस्तकालयको विलय : ज्ञानको धरोहरमाथि अन्याय

संस्थापक सदस्यहरू प्रतापनिधि शर्मा एवं लक्ष्मण शास्त्रीको आत्मवृत्तान्तमा उल्लेख भएका विषयलाई टेकेर आदर्श पुस्तकालय आज अदालतको सामु हात फैलाएर उपस्थित छ ।
भीमेन्द्रबहादुर कार्की
२५ पुष २०८१, बिहिवार

ज्ञानघर भनेको त्यस्तो घर हो जहाँ पढ्ने, पढाउने, पाठ गर्ने गराउने आदि उद्देश्यले तर्क, विचार, भावना, कल्पना, ज्ञानविज्ञान आदि कुरा लेखिएको वा छापिएको ग्रन्थ, ज्ञानविज्ञानसम्बन्धी कुरालाई सुरक्षित राख्न लिपिबद्ध गरिएको लिखित मुद्रित आदि कागतलाई सुरक्षित गरी राखिएको घर-आवास-आलय हो । यस्तो ज्ञानघरलाई नै पुस्तकालय भनेर नामकरण गरिएको हो ।

वैज्ञानिक, दार्शनिक, चिन्तक, लेखक, कवि, साहित्यकारका साथै राजनीति एवं सामाजिक कुरासँग सम्बद्ध रहेका जो कोहीको जमघट हुने स्थल हो, पुस्तकालय । यहाँ बुद्धि र बौद्धिकताको प्रदर्शन अत्यधिक मात्रामा हुने गर्छ । यहाँ सर्जकहरूले आफ्नो सिर्जना चम्काउने वातावरण प्राप्त गरेका हुन्छन् ।

ज्ञानघर (पुस्तकालय) जुनसुकै क्षेत्रको ज्ञान प्राप्त गर्ने स्थल हो । यहाँ जो कोहीको योग्यता निखारिन्छ, क्षमतामा अभिवृद्धि हुन्छ, तार्किकता, सृजनशीलता बढेर जान्छ । यसको सम्पर्कमा आएपछि र यसको प्रयोग गर्ने बानी बसिकेपछि उनीहरूको बौद्धिक गतिविधिमा निखार आउँछ । यसले सामाजिक विकाश र यसको प्रवर्धनमा अग्रसरता बढाउँछ ।

ज्ञानघर (पुस्तकालय) त्यस्तो घर हो जसले मानव सभ्यताको उत्थान एवं विकासमा लाग्नेहरूका लागि खुराक प्रदान गर्दछ । यसको प्रयोग निरन्तर गरिरहँदा बुद्धिजीवीहरूको बढोत्तरी र प्रतिभाको बढोत्तरीमा मद्दत पुर्याउँछ । एकै ठाउँमा साहित्यकार, लेखक, कवि, वैज्ञानिक, पत्रकार, राष्ट्रका नीति निर्माता आदि भेला भएर ज्ञानको आदान-प्रदान, तर्क-वितर्क गरेर समाजको अग्रगमन सोच अगाडि बढ्दछ । नयाँनयाँ सिर्जनाहरू परिकल्पित हुन्छन् ।

यस किसिमबाट महिमायुक्त विराटनगरको एक पुस्तकालय आज बलात्कारमा परेको छ । पुस्तक र पुस्तकालय शून्य अवस्थामा छ । आफ्नो जमीन छ, भवन छ, सम्पत्ति छ तर पुस्तकालय आफू भने छैन । पुस्तकालय पुस्तकालय भनेर कराउनेहरूको शक्ति क्षीण भएर जाँदैछ । इतिहास लोप भैरहेछ । सुन्नेवाला कोही छैन । कानमा ठेडी हालेर बसेका छन् । जालसाजी र धोकेबाजीको बोलवाला छ । सत्यको साथ दिने कोही छैन ।

देशको राज्यव्यवस्था (कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका)  प्रदेश, जिल्ला र स्थानीय सरकार,  नगरवासी, बुद्धिजीवी र नागरिक समाज लगायतको ध्यान आकर्षण गराउनु यो आलेखको उद्देश्य हो । कारण कि, देशको पुरानो सार्वजनिक एवं बौद्धिक संस्था, आदर्श पुस्तकालयमाथि रोटरीजस्तो अन्तर्राष्ट्रिय संस्थाले गरेको बलत्कारपूर्ण व्यवहारलाई मूकदर्शक बनेर टुलूटुलू हेरेर बस्ने वर्ग–समूहलाई सचेत गराउनुपर्ने आवश्यकता ठानिएर हो ।

देशको राजनीतिक, आर्थिक, शैक्षिक र सामाजिक क्षेत्रहरूमा देखापरेका असंगति र विसंगतिका कुराहरू उरालेर न थाक्ने तर आफ्नै आँखा अगाडिको आदर्श पुस्तकालय बिग्रेको, भत्केको र बलात्कृत हुनुको जड के हो भनेर पत्ता नलगाउनु  समाजमा फट्याईं र बदमाशी गर्नेहरूको मनोवृत्तिलाई बढावा दिंदै जाने प्रवृत्तितर्फ सबैको ध्यान पुग्न आवश्यक छ ।

मानिसमा चेतनाको स्तर र बुद्धिजीवीको संख्या बढाउँदै लगेर जनताको बौद्धिक एवं चेतनाको स्तर अभिवृद्धि गर्ने उद्देश्य लिएर २००३ सालमा सामाजिक अगुवाहरूको पहलमा आदर्श पुस्तकालयको स्थापना र सञ्चालन भएको कुराको जीवित साक्षी विराटनगर स्वयं छ । बौद्धिक विकास गर्ने एक विशुद्ध सार्वजनिक संगठन थियो, यो । जसलाई बुद्धिजीवी संगठन भन्दा अत्युक्ति हुँदैन ।

आदर्श पुस्तकालयको स्थापना भएपछि यसले सामाजिक सुधार ल्याउन कम्मर कसेर अगाडि बढेका जमातलाई साझा थलो बनेर महत्वपूर्ण भूमिका खेलेको थियो । २००३ सालदेखि २०३३ सालसम्म आफ्नो क्षमताले सकेको पुस्तकालयी भूमिका निर्वाह गर्दै आएको थियो । कारणवस रोटरी क्लब विराटनगरको पोल्टामा आदर्श पुस्तकालय पोल्टिन पुग्यो, २०३४ सालमा । यो समयसम्ममा पनि त्यसको पोल्टाबाट बाहिर निस्केर यसले आफ्नो स्वतन्त्र एवं उपयोगी भूमिका निर्वाह गर्न सकेको छैन ।

पुस्तकालयको इतिवृत्त जे जति थिए, छन् ती सबै रोटरी क्लब विराटनगरको कब्जामा रहे भएको कुरा सबैले बुझ्न आवश्यक छ । पुस्तकालय सञ्चालनको जिम्मा रोटरीले लिएपछि त्यसले पुस्तकालय सम्बन्धी यथार्थ विवरणहरू सार्वजनिक गराएर वहसमा ल्याएको छैन । आदर्श पुस्तकालयका संस्थापक सदस्यहरू प्रतापनिधि शर्मा एवं लक्ष्मण शास्त्रीको आत्मवृत्तान्तमा उल्लेख भएका कुराहरूलाई टेकेर आदर्श पुस्तकालय आज अदालतको सामु हात फैलाएर उपस्थित भएको छ । धन्य छन् ती मूर्धन्य व्यक्ति एवं उनीहरूका बारेमा प्रकाशित भएका कृतिहरू ।

आदर्श पुस्तकालयको सचिवसमेतको जिम्मेवारी वहन गर्नुभएका लक्ष्मीराजभक्त नेपालीको थोरै उद्गार यहाँ देखाइन्छ–‘विराटनगरको आदर्श पुस्तकालय पहिले आदर्श विद्यामन्दिरको नाउँबाट २००३ सालमा स्थापित भएको थियो । त्यस समय राणाकालीन युग थियो । त्यस्तो अवस्थामा श्री ऋषिकेश कोइरालाज्यू समेतको अथक प्रयासबाट खुलेको आदर्श विद्यामन्दिर पछि आदर्श विद्यामन्दिर पुस्तकालय र त्यसपछि आदर्श पुस्तकालयको नामबाट देश र विदेशमा प्रख्यात हुनपुग्यो ।

स्वर्गीय श्री ५ त्रिभूवन सरकार, श्री ५ महेन्द्र सरकार, श्री ५ अधिराजकुमार ज्ञानेन्द्र सरकार तथा राजपरिवारका अन्य सरकार सदस्यहरूबाट उक्त आदर्श पुस्तकालयको निरीक्षण भई प्रेरणा तथा प्रोत्साहन वक्स पाएको सो आदर्श पुस्तकालयको प्रताप दाइले २०२० सालदेखि सचिव पद सम्हाल्नु भएको थियो । आदर्श विद्यामन्दिरको स्थापनाकालमा र आदर्श पुस्तकालयको नामकरण भई सकेको कालमा कोइराला निवासबाट उक्त पुस्तकालयलाई महत्वपूर्ण कितापहरू प्रदान गराई सहयोग गराउनमा प्रताप दाइको ठूलो हात थियो ।

आदर्श पुस्तकालयलाई जग्गा प्राप्त गराउन र त्यस जग्गामा भवन बनाउनमा प्रताप दाइको महत्वपूर्ण योगदान थियो भने समाजमा उहाँप्रति मान, सम्मान र श्रद्धा थियो ।’ आदर्श पुस्तकालयको उपरोक्त ज्वलन्त पृष्ठभूमि छँदाछँदै पनि एकजना बासुदेव गोल्यान नाम गरेका रोटरी गभर्नरले मालपोत कार्यालय विराटनगरलाई २०६८-१२-१ का दिन एउटा चिठी लेख्छन् । त्यसमा भनिएको हुन्छ, ‘रोटरी क्लब विराटनगर, क्लब नं १६२०३ स्थापना भइ सो क्लबले परापूर्व कालदेखि जिल्ला मोरङ, विराटनगर-२ , हाल  वडा ९ अन्तर्गत घोघा पैनीको पूर्वमा रहेको जग्गामा घर बनाई सो जग्गा आदर्श पुस्तकालय संचालन गरी आएको ।’

गोल्यानको त्यो पत्रलाई आधिकारिक र सर्वोपरि मानेर मालपोत कार्यालय विराटनगरले २०६९।०८।१५ मा निर्णय गरेर आदर्श पुस्तकालयको सम्पत्ति रोटरीको नाममासमेत दर्ता गरी धनीपूर्जा दिने काम हुन्छ । स्मरणीय के छ भने, मालपोत कार्यालयको यावत प्रक्रियामा आदर्श पुस्तकालयको कुनै प्रकारको प्रतिनिधित्व रहेको हुँदैन । एकोहोरो रोटरीले जे जे भन्यो त्यही त्यही सही हुने गर्यो ।

रोटरीको भ्रामक एवं जालसाजपूर्ण कथनलाई सत्य मानेर मालपोत कार्यालयले त्यस्तो निर्णय गरेको भए पनि पुस्तकालय सञ्चालनमा छ छैन, छैन भने किन छैन भनेर सरोकारवाला निकाय र पदाधिकारी कसैले चासो देखाउँदैनन् । कतैबाट देखाइएको चासोलाई पनि तत्तत् निकायले वेवास्ता गर्छन् । किन ? रोटरीलाई पुस्तकालय चलाउनु रहेनछ । पुस्तकालय सञ्चालन गरिदिने बहानामा पुस्तकालयको घरजग्गा हत्याउनु रहेछ । त्यसमा उ सफल भयो , २०४३ सालदेखि २०६९ सालसम्मको निरन्तरको प्रयासले । उसको लक्ष्य एवं उद्देश्य पूरा भयो ।

पुस्तकालय सञ्चालन गर्ने सर्तमा रोटरीलाई पुस्तकालय भवनमा प्रवेश गराउनुभन्दा पहिले रोटरीले पुस्तकालय सञ्चालन गर्ने क्षमता राख्छ कि राख्दैन, उनीहरूको नियत ठिक छ कि छैन, सञ्चालनको तौरतरिका एवं विधि कस्तो हुने हो भन्ने कुराको लेखाजोखा हुनुपर्ने थियो । त्यो भएन । आर्थिक स्थिति कमजोर रहेको पुस्तकालयलाई आर्थिक स्थिति सवल भएका रोटरियनहरू (पूर्वप्रधानमन्त्री, अञ्चलाधीश) को प्रभाव र दबावमा परेर कुनै योजना बेगर नै हचुवाको भरमा रोटरीको पोल्टामा पुस्तकालय पुग्न गयो ।

रोटरियनहरूमा अलिकति पनि बौद्धिकताको अंश रहने थियो भने उनीहरूको मनमा पुस्तकालयलाई धराशायी बनाएर आफूमात्र त्यहाँ मौलाउने सोचले प्रवेश पाउने थिएन । तर कुबुद्धि र कुनीतिको खेतीमा तल्लिन रोटरियनहरूमा सुभावना पलाउने कुरै भएन । पुस्तकालयमा रोटरी पसेपछि उसले पुस्तकालयप्रतिको जिम्मेवारी र जवाफदेही सबै बिस्र्यो । यस कुराको सचेतना जगाउने हरेक प्रयासहरू सफल नभएपछि अन्तिम सहारा अदालतको लिइयो । बेसहाराको सहारा अदालत नै थियो । तर समय बद्लिई सकेको रहेछ । अदालत पनि बेसहाराको सहारा बन्न इच्छुक देखिएन । कसैलाई पुस्तकालय चाहिएको छ कि छैन ? छ भने छ भन । छैन भने छैन भन ।

View : 205

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved