Biratnagar, Morang, Nepal
१८ मंसिर २०८१, मङ्गलवार
+977 21 450305, 515728, 578305
समाज

विराटनगरमा डेंगुको जोखिम, महामारी हुन नदिन 'खोज र नष्ट गर' अभियान

उद्घोष सम्वाददाता
२० असार २०८१, बिहिवार

विराटनगर–४ मा लार्भा हुन सक्ने चिसो पेय पदार्थको बोतलको पानी फालिदै । तस्वीर: उद्घोष

विराटनगर । लामखुट्टेको टोकाईबाट सर्ने डेंगु रोगको जोखिममा विराटनगर महानगर पनि छ । वर्षायाममा यसको जोखिम बढी हुने भएकाले सम्भावित महामारीलाई ध्यानमा राखेर अस्पतालहरुलाई सतर्क गराइएको छ ।

लामो अवधिसम्म जम्ने पानीमा लामखुट्टेका लार्भा विकसित हुने भएकाले विकसित भएको लामखुट्टेबाट डेंगु रोग फैलन सक्ने महानगरले सबैलाई सुचित गर्न अभियान संचालन गरेको छ ।

महानगरका जनस्वास्थ्य निरीक्षक यादव गौतमका अनुसार डेंगुले महामारीको रुप लिएको खण्डमा धेरै भन्दा धेरै विरामीको उपचारका लागि तयार रहन अस्पतालहरुलाई सुचित गरिएको छ ।

‘सम्भावित महामारी रोक्न स्वास्थ्यकर्मीले मात्रै सक्दैनन् यसका सरोकारवालाहरु सबै निकाय हुन्’ गौतमले भने– ‘विराटनगरका सबै क्षेत्रका सबै समुदाय डेंगुको जोखिममा छन्, अलि बढी जनचेतना कमी भएकाहरुमा यसको जोखिम छ ।’ वर्षायाममा पानी जम्मा भएको स्थानमा लामखुट्टेको लार्भा बिकसित हुने भएकाले खोज र नष्ट गर अभियान महानगरले चलाएको छ ।

डेंगु सामान्य ज्वरो मात्रै हैन । यसका तीन प्रकारका अवस्था छन् । कोशी अस्पतालका वरिष्ठ फिजिसियन डा रोशन खड््काका अनुसार सामान्य ज्वरो आउँदा सिटामोलले निको हुन्छ । दोस्रो रगतमा हुने रातो र सेतो कोष बाहेक रगतलाई बग्न नदिने प्लेटलेट घट्न सक्छ । तेस्रो अवस्था भनेको नशानै कम्जोर भएर रगत बग्न सक्छ । ‘रक्तनली कम्जोर भएर प्लाज्मा बाहिर बग्न सक्छ, यस्तो बिरामीको उपचार जटिल हुन्छ’ उनले भने ।

विराटनगरको स्वास्थ्य महाशाखा प्रमुख दिलिप यादवका अनुसार महामारी हुन नदिन १९ वटै वडामा खोज र नष्ट गर अभियान चलाइएको छ । त्यसका लागि जनप्रतिनिधि, स्वास्थ्यकर्मी र सरोकारवालाहरुसँग छलफल चलाइएको छ । सम्भावित क्षेत्रहरुमा टायर, बट्टा, गमला जस्ता कृत्रिम रुपमा लामो अवधिसम्म जम्ने पानी नष्ट गर्न थालिएको छ । 

यसका लागि जनप्रतिनिधि, शिक्षक, विद्यार्थी, सामाजिक संघ संस्थाका प्रतिनिधिलाई सचेत गराइएको छ । लामखुट्टेको लार्भा १० दिनमा विकसित हुने भएकाले त्यस्तो स्थानमा सात दिनमै पानी नष्ट गर्नु पर्ने बताउँदै यादवले मोबिल र तेल जमेको पानीमा हाल्दा लार्भाले स्वास लिन नसकेर निस्वासिएर मर्ने बताए ।

लामखुट्टेले रातमा भन्दा दिनमा बढी टोक्ने भएकाले दिउँसो सुत्दापनि झुल र पूरा लुगा लगाउन महानगरले नगरबासीमा आग्रह गरेको छ । विराटनगर महानगरका प्रवक्ता एवं ५ नम्बरका वडा अध्यक्ष सन्तोष न्यौपानेले अभियानका क्रममा सम्भावित क्षेत्रहरुमा गएर पानी फाल्ने र सचेत गराउने अभियान सञ्चालनमा छ । ‘लापर्वाही हैन, सुरक्षित बस्दा विराटनगरमा डेंगुको जोखिम हुँदैन’ उनले भने ।

View : 299

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved