Biratnagar, Morang, Nepal
२० चैत २०८१, बुधवार
+977 21 450305, 515728, 578305
स्वास्थ्य

नसर्ने रोगको पहिचानका लागि एक महिने अभियान सुरू

जुनु भट्टराई
२ फागुन २०८१, शुक्रवार

विराटनगर । कोशी प्रदेशमा फागुन १ गतेदेखि एक महिनासम्म नसर्ने रोगहरूको ‘स्क्रिनिङ’ (पहिचान गर्ने) अभियान सुरू भएको छ । स्वास्थ्य तथा जनसड्ख्या मन्त्रालयले फागुन महिनालाई नसर्ने रोगहरूको पहिचान गर्ने महिनाको रूपमा मनाउने निर्णय गरेसँगै बिहीबारबाट कोशी प्रदेश सरकारले उक्त अभियान सुरू गरेको हो ।

कोशी प्रदेश स्वास्थ्य मन्त्रालयले बिहीबार आयोजना गरेको नसर्ने रोग राष्ट्रिय अभियान सम्बन्धि अन्तरक्रिया कार्यक्रममा अभियानका बारेमा जानकारी दिदै प्रदेश स्वास्थ्य निर्देशनालयका बरिष्ठ जनस्वास्थ्य प्रशासक डा सुरेश मेहताले अभियान अन्तर्गत ३० वर्ष माथिका सबै नागरिकलाई मधुमेह, रक्तचाप मापन, मिर्गौला सम्वन्धी रोग, उचाई र तौलको आधारमा (बीएमआई) मापन हुने बताए । 

उनले यो जाँच देशभरका स्थानीय तह अन्तर्गतका सबै स्वास्थ्य संस्थाहरूमा निःशुल्क रूपमा उपलव्ध समेत जानकारी दिए । 

कार्यक्रममा स्वास्थ्य मन्त्री  भूपेन्द्र राईले पछिल्लो समयमा बढ्दै गएको नसर्ने रोगको पहिचान गर्न र नसर्ने रोग छ कि छैन भनेर जानकारी लिनका लागि अभियान सुरू गरिएकोे बताए । मन्त्री राईले उपचारात्मक सेवामा सुधारस“गै निरोधात्मक विधि प्रवद्र्धन गर्ने नीति अघि सार्दै नसर्ने रोगहरूको रोकथाम, प्रारम्भिक पहिचान, र व्यवस्थापनका लागि फागुन महिनामा नसर्ने रोगहरू (मधुमेह, उच्च रक्तचाप र मृगौला रोग) को पहिचानका लागि अभियान  संचालन गर्ने निर्णय भएको समेत बताए । 

उनले यसको जोखिम नियन्त्रणका लागि थप कार्यक्रम बनाउन जरूरी भएको बताउँदै आगामी आर्थिक बर्षको बजेटमा यसलाई प्राथकिताका साथ राखिने समेत जानकारी दिए । 

अन्तरक्रिया कार्यक्रममा मन्त्रालयकी सचिव राधिका थपलियाले सबैले मेरो स्वास्थ्य मेरो जिम्मेवारी भन्ने भावना राखेर आफ्नो स्वास्थ्यलाई ध्यान दिने हो भने आफू स्वस्थ्य हुने मात्र होइन राज्यलाई आर्थिक भारबाट जोगाउन समेत मद्दत पुग्ने बताइन् । 

सचिव थपलियाले नसर्ने रोगहरूको स्क्रिनिङ सबै स्थानीय तहमा रहेका स्वास्थ्य संस्थाबाट निशुल्क रूपमा हुने भएकाले सबैलाई सहभागी हुन पनि आग्रह गरिन् । 

एसोसियसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन नेपाल (अफिन) का कोशी प्रदेश अध्यक्ष तथा बरिष्ठ मुटुरोग विशेषज्ञ डा शंकरप्रसाद अधिकारीले  नसर्ने रोग जीवनशैली परिवर्तनबाट रोकथाम गर्न सकिने जानकारी दिए । 

उनले स्थानीय समुदायमा नसर्ने रोगको प्रमुख जोखिम तत्वहरू जस्तै मोटोपना, धुम्रपान तथा मद्यपान नियन्त्रण र नुनको अत्यधिक प्रयोगमा कमि ल्याउन यस्तो अभियानले मद्दत गर्ने समेत बताए । विश्वमै नसर्ने रोगहरूको प्रकोप बढिरहेको समयमा नसर्ने रोगको न्यूनीकरणका लागि समुदाय स्तरसम्म जनचेतनाको आवश्यकता रहेको डा अधिकारीले बताए ।

नसर्ने रोग विश्वभरि रोग र मृत्युको प्रमुख कारणहरू मध्ये एक हो । नेपालमा पनि नसर्ने रोगहरूको कारण बिरामी हुने र मृत्यु हुनेहरूको अनुपात बढ्दै गइरहेको बताइएको छ । 

यसलाई नियन्त्रण गर्नका लागि सुरू गरिएको अभियानको उद्देश्य प्रमुख नसर्ने रोगहरू मधुमेह, उच्च रक्तचाप, मिर्गौलासम्बन्धी रोग तथा नसर्ने रोगको जोखिमको अवस्था शरीरको उचाई र तौल अनुपातको स्थानीय तहका स्वास्थ्य संस्थामा प्रारम्भिक चरणमै पहिचान गर्ने हो । 

विज्ञहरूका अनुसार पछिल्लो समय नेपालमा नसर्ने रोगका कारण बिरामी हुने एवम् मृत्यु हुनेको सड्ख्या बढ्दै गएको छ । नेपालमा हुने मृत्युको लगभग तीन चौथाई अनुपात नसर्ने रोगले ओगटेको छ ।

View : 189

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved