महाभारत कथा प्रारम्भको प्रसङ्ग हस्तिनापुर नरेश शन्तनु सिकार खेल्न बारम्बार जाने गंगाको तटबाट सुरु हुन्छ । जब हरिणको सिकारमा गएका राजाले गंगाको छेउमा एउटी अति सुन्दरी देख्छन् । उनी सारै मोहित हुन्छन् । नजिकै जान्छन्, भलाकुसारी प्रारम्भ गर्छन् अनि थाहा पाउँछन् उनी गङ्गा रहिछन् । राजाले दरवारसम्म गंगालाई लिएर जाने, भलाकुसारी गर्ने अनि गंगालाई नदीसम्म छाड्न आउने गर्न थाले । दरवारमा चर्चा, परिचर्चा हुन थालेको थियो ।
शन्तनु राजाले दुवै जनाको विवाह नभएका कुमारकुमारी भएकाले धेरै दिनको भलाकुसारी पश्चात गंगासँग बिहेको प्रस्ताव गरे । गंगाले म विवाह गर्न तयार छु तर मेरा दुई सर्त छन् , मान्ने भए हुन्छ । राजाले भन के हो ? म मान्न तयार छु । गंगाले भनिन् मलाई प्रश्न गर्न पाउनु हुन्न र मैले गरेका कामको कारण सोध्न पाउनु हुन्न । राजा वाचामा हारिसकेका र यति सानो प्रस्ताव किन नमानु भन्ने लागेर गंगाको सुन्दरताले मोहित राजा गंगालाई रानी बनाएर दरवारमा लगी धुमधामले विवाह गरे ।
दिन, मास बढ्दै जाँदा गंगाबाट पुत्र प्राप्त हुने समय नजिकिदै गर्दा राजाका दरवारमा खुसियाली छाएको थियो । प्रसव पीडामा छटपटाएकी गंगा पीडा आफैलाई भएको जस्तो राजाका छटपट र सन्तानको मुख हेर्ने इच्छाले राजालाई एकै ठाउँमा बस्न दिएको थिएन । भित्रवाट बच्चाको आवाज आयो, दरवारभरी खुसियाली भयो तर गंगाले आफ्नो छोरालाई गंगामा लगेर बगाइन् । दरवारका अरु भाइभारदारले रोक्न सक्ने कुरै भएन । राजा पनि वाचाले गर्दा प्रश्न गर्न र कारण सोध्न सक्दैन थिए ।यस्तै रितले सातौ पुत्रसम्म गंगाले बगाएपछि दरवारमा हल्लीखल्ली हुनथाल्यो ।
मातृत्वको गुण, चेतना,प्रेरणा र उत्साह नभएकी कस्ती रानी हुन् ? सन्तानको माया नलाग्ने कस्ती आमा हुन् ? आफ्नो कोखबाट जन्माएका सन्तान सातसातवटा नदीमा लगेर बगाउन सक्ने आमा यी कस्ती आमा हुन् ? राज्यमा कसैले अन्याय गरे न्याय दिनुपर्ने राजा आफ्नै रानीवाट सातसातवटा सन्तानको हत्या गर्दा कुनै सजाय छैन । प्रश्नसम्म नसोध्ने कस्ता राजा हुन् ? यो अनर्थ भयो । अब सोच्नु पर्छ भन्ने भारदारहरुका बीचमा पनि चर्चा हुन थाल्यो । अर्कातिर राजाले अब निसन्तान हुने निश्चित बुझ्न थाले र पीडालाई सहन गर्न नसक्ने अवस्थामा पुग्दै अव बाचा भंग गर्ने विचारमा पुगे ।
गंगाबाट आठौ पुत्र पनि पैदा भयो । सोही रितले नदीका किनारमा बच्चालाई विशर्जन गर्न लाग्दा संतनुले गंगा तिमीले यो के गरेको भन्ने प्रश्न गरे । गंगाले प्रतिप्रश्न गरिन् ‘महाराज सर्त उल्लङ्घन भएन ? आफूले गरेको वाचा राजाले पालन गर्नु पर्यो ।’ गंगा मैले सातवटा सन्तान गुमाउँदा धेरै पीडा सहेँ । यस्तै हो भने अब निसन्तान हुने भएँ । राज्यमा पनि बिद्रोह हुने भयो र राज्य पनि जाने भयो । तिमीलाई दिएको वाचा तोड्दा पाउने सजायभोग्न तयार छु । तिमीले दिने सजाय र कानुनले दिने सजाय भोग्न तयार छु तर अब अनर्थ हुन दिन्न भन्ने कुरा राजाले भनेपछि गंगाले त्यसको रहस्य यसरी बताएकी थिइन् ।
तपाई पूर्वजन्ममा इन्द्रको असाध्य मिल्ने मित्र राजा महाविशेक हुनुहुन्थ्यो । म ब्रम्हा पुत्री गंगा थिएँ । एक पटक इन्द्रको सभामा म पिताजीसँग गएकी थिएँ । त्यहाँ भएका सबैजनाले मलाई देखेपछि शिर निहुरियो तर तपाईले मलाई हेरिरहनु भयो र मैले पनि तपाईलाई हेरिरहे । जसको कारणले इन्द्रको सभा नै भएन । पिताजीले रिसाएर श्राप दिनुभयो । पृथ्वीलोकमा गएर तिमीहरुको मिलन छोटो समयका लागि होस् । रहस्य खुलेपछि तिमीहरु श्रापबाट मुक्त हुनेछौ भन्नु भएको थियो ।
श्रापबाट मुक्त हुनका लागि कठोर भएर मैले यो कर्म गरेको हुँ । अब हामी श्रापबाट मुक्त छौ ।पाप गरेको मैले भोग्नु पर्छ । म गंगामा जान्छु । तपाईको सन्तान उमेर पुगेपछि फर्काउने छु भन्दै गंगाजी छोरो च्यापेर गइन् । छोराको नाम देवरत भिष्म पिताम्मह हो ।
नेपाली राजनीतिका सैद्धान्तिक विचारमा आस्था, विश्वास र भरोसा राख्नेहरु स्तब्ध, आक्रोसित र पश्चाताप गरेको पाइन्छ । नेतृत्व गर्न पुगेकाहरुको विचार सुन्यता, विवेक सकिएको र विधि समाप्त गर्न उत्ताउलिएको आभाष हुन्छ । गंगासँग जसरी सन्तनु वाचा बन्धनमा बाँधिएका कारणबाट आफ्ना सातवटा सन्तान गंगामा सेलाउँदा केही बोल्न नसकेझैं नेतृत्वले गरेको गल्ती र कमजोरीका विषयमा कार्यकर्ता एबम आमजनताले नबोल्दा दिनानुदिन भएका उपलब्धीहरु गुमिराखेका छन् ।
आफैले बनाएको कार्यकर्ताको नामो निसान मेटाउन न्वारनदेखिको बल प्रयोग भएको देखिन्छ । आफैले बनाएको कार्यकर्ता समाप्त बनाउन प्रयोग भएको तागतले अर्को कार्यकर्ता निर्माण हुन सक्ने चेत हराएको देख्दा जसरी सन्तनु र गंगालाई पूर्व जन्ममा परेको श्रापका कारण आफ्नै सन्तानको हत्या गंगाले गरेकी थिइन् त्यस्तै नेपाली राजनीतिका नेतृत्वहरूलाई पनि पूर्व जन्ममा श्राप त परेको थिएन ? यदि त्यसो हो भने अब नेतृत्वमा पुग्नेहरुसँग प्रश्न गर्न छाड्नु भएन । ठिकलाई ठिक भन्ने पक्षमा उभिन र अभिमत राख्न छाड्नु भएन । जसरी सन्तनुको छटपटाहट र सबैकुरा त्याग्न तत्पर भएका कारण श्रापबाट मुक्त मात्र भएनन् भिस्म पितामह जस्ता संसारका उदाहरणीय पुरुषले जीवन पाएका थिए ।
त्यसकारण सत्यको पक्षमा अब पनि असली कार्यकर्ता उभिन नसक्ने हो भने पुराना इतिहास र गाथाहरु गाउनुको अर्थ रहन्छ जस्तो लाग्दैन । देश र जनताको परिवर्तनबाट खुसीले उज्यालो अनुहार हेर्ने रहरले आफ्ना व्यक्तिगत इच्छा त्याग गरेका, बलिदान गरेका, सर्वस्व सिध्याएका , परिवार गुमाएका, ज्यान जोखिममा राखेर काम गरेको सबै गुमनाम हुने सम्भावनाको नजिकमा उभिएझैं लाग्दछ ।
इतिहास सफल हुनेको पक्षबाट लेखिन्छ । आफूले बोकेको विचार र आस्थालाई दुरूपयोग हुँदा टुलुटुलु शन्तनुले हेरेझैं हेरेर बस्ने हो भने भिस्मजस्ता सन्ततिहरु सेलाउने क्रम रोकिने छैन र श्रापबाट मुक्ति पनि हुने छैन । आफूमात्र लुसुक्क निस्क्रिय वा बहिरगमन भएर सन्तुष्टि केही हदसम्म होला तर विचारलाई प्रबाह गर्ने क्रममा त्यसबाट प्रभावित भएकाहरु रहेछन भने त्यसको भारी कस्ले बोक्ने ?
गंगाले आफ्नो सन्तानको हत्या गरिरहँदा सन्तनुको दरबारमा भाइभारदारले राज्यमा अन्याय हुँदा न्याय दिने राजा,दोषीलाई दण्ड दिने राजा आज आफ्नी रानीले आफ्नै सात सातवटा सन्तानको हत्या गर्दा पनि दण्ड दिन नसक्ने मात्र हैन प्रश्नसम्म उठाउन सक्दैनन् भने अब राजाको विषयमा कुरा उठाउनु पर्छ भन्ने चर्चा भएको समाचारबाट गंगालाई प्रश्न गर्ने हिम्मत सन्तनुले गरेका थिए । त्यो प्रश्न गर्ने साहसले सकारात्मक बाटो समाएको प्रसंग महाभारतको शृंखलामा आएझै नेपाली राजनीतिमा रहेका नेतृत्वहरूलाई राजनीतिमा देखिएका विकृति र विसंगतिका विषयमा प्रश्न गर्ने हिम्मत जुटाउन ढिला गर्नु हु“दैन । बहुदलीय व्यवस्थामा दलगत पक्ष विपक्षमा उभिने परम्परालाई त्याग्न सक्नु पर्ने अवस्था भएको आभाष हुन थालेको छ ।
दलका नीति,सिद्धान्त र विचारका आधारमा समर्थन र बिरोध गर्न पाउने सुन्दर पक्षमा ग्रहण लागेको जस्तो भएको छ । क्षमता,दक्षता, कार्यशैली र जीवनशैलीका आधारमा नेतृत्वलाई स्वीकार्ने र नस्वीकार्ने नभई स्वार्थी शैलीले प्राथमिकता पाएको छ । विचारका आधारमा, कार्यशैलीका आधारमा, आस्थाका आधारमा, ठिक र बेठिककाआधारमा, सत्य र असत्यका आधारमा समर्थन र बिरोध गर्ने विचारकहरुको खडेरी भए जस्तो देखिदैछ । सन्तनु जस्तै विवसताले बाँधिएर प्रश्न गर्न नसक्ने अबस्थाबाट परिवर्तनको अपेक्षा राख्न सकिन्छ जस्तो लाग्दैन ।
विचारमा विश्वास गर्ने, इमान्दारितामा भर गर्ने, सकारात्मक सोचबाट परिवर्तनको प्रतीक्षामा बस्नेहरु माथि अनावस्यक डण्डा बर्षाउने र स्वार्थमा रुपान्तरण गर्ने प्रणाली नेपाली जनताले खोजेको हैन । नेपाली जनताले आन्दोलन गरेर ल्याएको परिवर्तनलाई विकास र सुधार गर्न नसक्ने नेतृत्व हुँदा अब प्रश्न गर्न ढिला गर्नु हुँदैन ।
अन्यथा शन्तनुले प्रश्न नगरेका भए भिष्म पनि रहने थिएनन् र हस्तिनापुर पनि भन्न सकिदैन थियो । राजनीतिमा आस्था राख्नु भनेको सन्तनुको झैं विवशता हुनु हो भन्ने बुझाइ भएमा अब त्याग्न जरुरी भएको छ ।
View : 150
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved