Biratnagar, Morang, Nepal
१९ चैत २०८१, मङ्गलवार
+977 21 450305, 515728, 578305
कोशी

विराटनगरमा सुरु तीनदिने ढाका महोत्सव आज समापन हुँदै

शनिबार साँझ फेसन सो तथा सांस्कृतिक कार्यक्रमसहित तीनदिने ढाका महोत्सव समापन हुन लागेको हो ।
उद्‌घोष सम्वाददाता
९ चैत २०८१, शनिवार

विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको आयोजनामा विराटनगरको जैन भवनमा सुरु भएको तीनदिने ढाका महोत्सव शनिबार समापन हुँदैछ । घरेलु उद्यमलाई प्रोत्साहन गर्नका लागि आयोजना गरिएको महोत्सवमा ३० वटा स्टलहरू राखिएका छन् । महोत्सवमा कोशी प्रदेशका विभिन्न जिल्लाबाट उद्यमी महिला तथा पुरुषहरू सहभागी भएका छन् । ती सहभागीमध्ये केहीसँग ढाका कपडासँग सम्बन्धित रही उद्यम सञ्चालन र उनीहरूको अनुभवका विषयमा गरिएको कुराकानी यहाँ प्रस्तुत गरिएको छ ।

'व्यवसायबाट सन्तुष्ट छु'
रविना लिम्बू, इन्द्रकुबेर ढाका उद्योग, छथर जोरपाटी, धनकुटा

मैले उद्योग सुरु गरेको १२-१३ वर्ष भयो । दर्ता गरेर काम सुरु गरेको भने पाँच वर्षजति भयो । हामी परिवारमा आठ जना छौं । आठै जना यो व्यवसायमा संलग्न छौं । म विभिन्न ठाउँमा ढाका बुनाइ सम्बन्धी तालिम दिने प्रशिक्षक पनि हुँ । मैले गाउँका झण्डै ३० जना दिदीबहिनीहरूलाई रोजगारी पनि सिर्जना गरेको छु । मेरो आफ्नै उद्योगमा भने १० जना जति दिदीबहिनीहरू छन् । २० जना जतिको चाहिँ घरघरमै तान लगाइदिएको छु । उहाँहरू तान बुन्नुहुन्छ अनि तयार भएपछि मलाई दिनुहुन्छ । धनकुटाको हिलेमा मेरो बिक्रीकक्ष छ । छथर जोरपाटीमा तान छ । ढाकाका कपडाबाहेक खाँडी, अल्लोका कपडाका पनि विभिन्न सामग्रीहरू बनाउने गरेको छु । रोजगारी र आयआर्जनका हिसाबले म यो व्यवसायप्रति सन्तुष्ट छु ।

'अर्डरबमोजिमका सामान बनाउँछौं'
हेमकुमारी श्रेष्ठ, सविना ढाका बुनाइ उद्योग, बाह्रदशी-३, राजगढ, झापा

मैले उद्योग सुरु गरेको सात वर्ष भयो । उद्योगमा १०/१२ जना बहिनीहरूले काम गर्नुहुन्छ । मलाई विभिन्न ठाउँबाट ढाकाका विभिन्न सामग्रीहरूको अर्डरहरू आउँछ । अर्डरबमोजिमका सामानहरू हामी बनाउँछौं । कहिलेकाहीँ त अर्डरअनुसारको सामान बनाउन नै हामीलाई धौधौ हुन्छ । मेरोमा अस्ट्रेलिया, इजरायलबाट पनि सामानको अर्डर आउँछ । त्यस्तै भारतको सिक्किमबाट पनि सामानको माग हुन्छ । हामीले बुन्ने तान हामी स्थानीय बजार दमकबाटै ल्याउँछौं । धागो भने काठमाडौंबाट ल्याउने गरेको छु । हामीले बनाएका जुनसुकै सामग्री रंग नजाने, नखुइलिने प्रकारका छन् । हामी ढाकाका कपडाबाट सारी, कुर्थासुरुवाल, कोट, ब्याग, कुसन-तन्ना, जुत्ता–चप्पललगायत थुप्रै प्रकारका सामानहरू बनाउँछौं । ढाकाको माग बढिरहेको छ । बिक्री पनि भइरहेको छ । ढाका भनेको अहिले चलेको फेसनका रुपमा लिन सकिन्छ । हामीलाई विभिन्न स्थानमा हुने मेला, महोत्सव तथा प्रदर्शनीले चिन्ने तथा चिनाउने मौका पनि मिलेको छ ।

'श्रम-लागत अनुसारको ज्याला छैन' 
शान्तिला फुदुङ, फक्तालोङ ढाका कपडा उद्योग, म्याङलुङ-१, तेह्रथुम

मैले यो उद्योग २०५९ सालबाट सुरु गरेको हुँ । यो पेशा सुरु गर्दा मेरो श्रीमान् पनि सँगै हुनुहुन्थ्यो । दोस्रो कोरोनाको समयमा श्रीमान् बितेपछि भने म एकल महिलाका रुपमा यो उद्योग सञ्चालन गरिरहेको छु । मेरा छोराछोरीहरूको पढाइलेखाइमा मेरो यही उद्योगको भरथेग छ । तेह्रथुम जिल्ला ढाका कपडाका लागि त्यसै पनि चर्चित तथा चिनिएको जिल्ला हो । यहाँ हरेक घरजसोमा ढाका कपडाको तान पाइन्छ । लिम्बू समाजमा त यो झन अनिवार्यजस्तै छ । धेरै तान, धेरै बुनाइ हुने भएकाले ढाकाबाट उत्पादित सामग्रीको मिहेनतअनुसारको आम्दानी पाउन भने निकै गाह्रो हुन्छ । एउटा सारी बनाउन कम्तीमा १० दिन लाग्छ । तर १० दिन लगाएर बनाएको सारीको मूल्य भने ज्यालाअनुसार लिन सकिरहेका छैनौं । तर पनि ढाका कपडाको तान बुनाइले गाउँघरमा त्यसै खेर जाने श्रमशक्तिले थोरै भएपनि दाम पाउँदा सन्तोष नै मान्नुपर्छ । मेरो उद्योगमा १०-१२ जनाले रोजगारी पाइरहेका छन् । उत्पादित सामग्रीहरू देश, विदेश कोसेलीका रुपमा मानिसले लिएर जाँदा खुशी लाग्छ ।


'थोरै तानबाट उद्योग थालेको हुँ'
बचनकुमारी लिम्बू, सोनी ढाका कपडा उद्योग, फुङलिङ-७, ताप्लेजुङ

मैले यो उद्योग २०६७ सालमा स्थापना गरेको हुँ । उद्योग सुरु गर्दा मसँग धेरै तानहरू थिएनन् । थोरै तानबाट उद्योग थालेको हुँ । यो उद्यमको थालनी मैले गाउँबाट गरेको हुँ । पहिला ताप्लेजुङको ढुंगेसाँघु ठाउँबाटै थालेको यो उद्योग म एकल भएपछि ताप्लेजुङ बजारमा सारेको छु । श्रीमान्ले दोस्रो श्रीमती ल्याएपछि म ठाउँ सरेको हुँ । मेरा तीन छोरीहरू मैले यही उद्यमको भरमा पढाइ रहेकी छु । मेरी माहिली छोरी त अहिले एसईई पनि दिइरहेकी छ । मैले यो उद्योगमार्फत १० जनालाई रोजगारी  पनि दिएको छु । मैले केही रकम बचत गरेकी थिएँ । तर यही बीचमा ठूलो बिरामी परेँ । झण्डै चार लाखभन्दा बढी रकम खर्च भयो । बिरामी भएका कारण काम पनि गर्न सकिनँ । भर्खरै दुई-तीन महिनादेखि तङ्ग्रिएकी छु । मेरोमा ढाकाका धेरै सामानहरू बन्छन् । म प्रशिक्षक पनि हुँ । घरेलु कार्यालयले मलाई प्रशिक्षक रुपमा विभिन्न ठाउँमा जाने अवसर दिने गरेको छ । यो व्यवसायबाट म सन्तुष्ट छु ।


'सिलाइकटाइ हुँदै आफ्नै उत्पादन थालेँ'
अञ्जु राई बस्नेत, अञ्जु ब्याग सेन्टर तथा व्यावसायिक प्रशिक्षण केन्द्र, बूढीगंगा-२, टंकिसिनवारी

मेरो उद्योगको स्थापना वि.सं. २०५३ मा भएको हो । मैले सिलाइकटाइबाट यो उद्यमको थालनी गरेको हुँ । तत्कालीन समयमा जिल्ला विकास समितिबाट तालिम लिएपछि मैले यो व्यवसाय थालेको हुँ । मैले टेलर्स नै सुरु गरेको थिएँ । त्यतिखेर काम पनि गर्ने र अरुलाई सिकाउन पनि थालेँ । १२-१२ वर्ष सिलाइकटाइको काम गरेपछि मलाई केही उत्पादनमूलक काम गरौं भन्ने लाग्यो । पहिला अरुकै कपडाहरूको सिलाइको काम हुन्थ्यो । त्यसपछि भने मलाई आफै सामान किनेर ल्याउने, सामान बनाउने र बिक्री गर्ने सोच आयो । अनि मैले उत्पादनमूलक काम पनि थालेँ । मेरो उद्योगमा ढाकाका कपडाका साथै अल्लोका कपडाका पनि विभिन्न सामानहरू बन्छन् । यो उद्योगमा सात जनाले रोजगारी पाएका छन् । ढाकाका कपडा म तेह्रथुम जिल्लाबाट मगाउने गर्छु भने अल्लोका कपडा संखुवासभाबाट मगाउँछु । मैले चिप्लो कपडाबाट तरकारी झोला पनि बनाउने गरेको छु । म प्रशिक्षक पनि हुँ । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश समितिले गरेको ढाका महोत्सवले हामीजस्ता व्यवसायीलाई एक्सपोजर दिएको छ । चिनिन मौका मिलेको छ । यहाँ आउने भिजिटरहरूले विभिन्न प्रश्नहरू सोध्दा आफ्ना कुराहरू पनि भन्ने मौका पाएको छु ।


'अल्लोको मात्राअनुसारको मूल्य लिन्छौं'
उसन लिम्बू, उत्तम अल्लो कपडा उद्योग, फुङलिङ-२, ताप्लेजुङ

मेरो कारखाना ताप्लेजुङको फुङलिङ बजारमा छ । कारखानामा रुवा कात्नेदेखि, धागो बनाउने, बुन्ने कामका लागि १०-१५ कामदार खटिएका हुन्छन् । कपडा बुन्नेहरूलाई म मिटरका हिसाबले ज्याला दिन्छु । मेरोमा अल्लोका कपडा बन्छन् । अल्लो भनेको सिस्नो हो । हाम्रो जिल्ला ताप्लेजुङमा यो प्रशस्तै पाइन्छन् । यो भनेको सम्पूर्ण रुपमा आफ्नै गाउँठाउँमा पाइने कच्चापदार्थमा आधारित उद्यम हो । अल्लोका कपडाको धेरै प्रकारका सामग्रीहरू बन्छन् । दौरासुरुवाल, कोर्ट, टोपी, ब्याग धेरै थोक बन्छ । हामी त्यस्ता सामग्री बनाएर बिक्री गर्छौ । मूल्य चाहिँ अल्लोको कपडा भने पनि फरक-फरक प्रकारको तोकेका छौं । यसरी मूल्य फरक हुनुको कारण भने कति प्रतिशत अल्लो प्रयोग भएको छ सोही आधारले हुन्छ । सतप्रतिशत अल्लो भएको कपडा मिटरको १६ सयका दरले बिक्री गर्छौं । यसरी हिसाब गर्दा आठ हजार रुपैयाँ जतिमा एउटा कोर्ट बन्छ । हाम्रो उत्पादनको माग देश, विदेशबाट हुने गरेको छ । यो प्रकारको उद्योग ताप्लेजुङमा अरुको भएपनि मेरो जसरी भने फस्टाएको छैन । म यो व्यवसायबाट सन्तुष्ट छु । यो व्यवसायका कारण विभिन्न मेला, महोत्सवमा आफ्नो उत्पादन प्रदर्शन गर्ने अवसर पनि पाएको छु ।  

View : 237

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved