विराटनगर । विराटनगरकी प्रियान्सी पोद्दार कक्षा १० मा पढ्छिन् । पढाइका अतिरिक्त उनमा केही नयाँ काम गरौँ भन्ने जाँगर छ । उनको यही जाँगरले जुत्ताचप्पल उत्पादन गर्दा निस्किने बाइ–प्रोडक्ट(सह–उत्पादन) बाट केही बनाउन सकिन्छ भन्ने उपायतर्फ मन डोहोर्यायो ।
कक्षा–१० की प्रियान्सीले जुत्ताचप्पल उत्पादन गर्दा बाँकी बच्ने टुक्राटुत्रीलाई त्यसै फ्याक्नुभन्दा आरामदायी म्याट बनाउन सकिने आइडिया लगाइन् । हालैका दिनमा प्रियान्सीले ‘नजाने फोहोर, जाने मोहोर’ भनेझै फोहोर भनेर फ्याँकिएका जुत्ताचप्पलबाट म्याट बनाउने र विपन्न परिवारलाई सित्तैमा दिने कामको सुरुवात गरेकी छिन् ।
सानै उमेरमा एउटा दुरदर्शी सोचका साथ प्रियान्सीले ‘साथी’ नामको परियोजना सुरु गरेकी छिन् ।
प्रियान्सीको यो परियोजनाले जुत्ताचप्पल उत्पादन गर्दा निस्किएको फोहोर र पुराना जुत्ताचप्पललाई पुनः प्रयोग गर्न मिल्ने गरी प्रशोधन गर्छ । प्रशोधित गरिएको कच्चा पदार्थले सुत्न–बस्न मिल्ने ओछ्यान(म्याट) बनाउन सकिन्छ । यसरी बनाएको म्याट उनले विपन्न परिवारलाई दिने गरेकी छिन् ।
प्रियान्सीको बुवाको आफ्नै जुत्ताचप्पल कम्पनी भएकाले पनि उनलाई यो काम गर्न हौसला मिलेको छ ।
यद्यपि ‘साथी’ नामको परियोजना बनाएरै कामको सुरुवात गर्नमा उनले तिनै दिनदुखीलाई प्रेरणाको स्रोत मानेकी छिन् । उनी भन्छिन्, ‘मेरो गृहनगर विराटनगरमा धेरै घरबारविहीन व्यक्तिहरू बस्छन् । उनीहरूले सामना गरिरहेको कठोर र पीडादायी रातहरूले मलाई केही गर्नुपर्छ भन्ने बनायो ।’
उनीहरूलाई सुत्नका लागि गतिलो ओछ्यान(म्याट) पनि नभएको कुराले प्रियान्सीलाई पीडा हुन्थ्यो ।
अर्कोतर्फ आफ्नो बुवाको उद्योगबाट जुत्ताचप्पलहरूको निर्माण प्रक्रियामा उत्पन्न भएको फोहोरको मात्राले पनि उनलाई चिन्तित बनाउँथ्यो । ‘त्यसैले यस समस्याको समाधानका लागि मैले व्यापक अनुसन्धान सुरु गरेँ, जसअन्तर्गत सुत्ने ओछ्यान(म्याट) बनाउन सकिने उपाय निकालेँ ।’
उद्योगबाट निस्किने फोहोर र पुराना जुत्ताचप्पल दुवैलाई प्रशोधन गर्ने र म्याट बनाउने प्रियान्सीको आइडियाले अहिले मूर्त रुप लिएको छ । यसका लागि उनले केही समय गहन अध्ययन गरिन्, र म्याट बनाउन सकिन्छ भन्ने निष्कर्षमा पुगिन् ।
जब म्याट बनाउन सकिन्छ भन्ने उनलाई लाग्यो त्यसपछि उनले यसलाई परियोजनाकै रुपमा अघि बढाउन ‘साथी’ नामबाट अभियान थालिन् ।
यो अभियानअन्तर्गत अहिलेसम्म ६ सय जनालाई म्याट वितरण गरिसकेको प्रियान्सी बताउँछिन् । भर्खरै जाजरकोटमा गएको भूकम्पमा पीडितका लागि २ सय म्याट वितरण गरिएको पनि उनले बताइन् ।
View : 857
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved