‘खाली दिमाग, सैतानका बास’ नेपाली भाषाको ठेट उखान यो नभए पनि नेपालीभाषी माझ लोकप्रिय भइसकेको छ । यौवनका उर्वर क्षणहरूसित रमाइरहेका बेला लक्ष्मणको दिमाग पनि एक पटक खाली भयो डाँफे नबसेको गुँडजस्तो । दुई हजार चालिस सालको कुरा हो, कम्पनीको कामले बङ्गलादेशको राजधानी ढाकामा १० दिन रहँदा घरको सम्झनाले उनी झन्डै अवसादग्रस्त भए । उनलाई ‘होमसिकनेस’ भयो ।
विवाह भर्खर भएको थियो । अवधि धेरै लामो होइन तर उनका लागि हरेक दिन महिनाजस्तै व्यतीत हुन्थे । यो छोटो प्रवासमा पनि, मेघदूतको यक्षझैं उनलाई अदृश्य उकुसमुकुस र मौन कोलाहलले बिछट्टै सताउँथ्यो । तर जे भयो त्यो राम्रो नै भयो ।
त्यो उकुसमुकुस र सम्झनाको मौन कोलाहल र वियोगको मानसिक झञ्झावातबाट उनीभित्रको कथाकार जागृत भयो । उनी ढाकामै कथा र लघकुथा लेख्न थाले । आफूभित्रको निराकार सृजनशीलता र कल्पनाशक्तिलाई उनले त्यस समयमा राम्रै प्रयोग गरे ।
जगदीश नेपालीको लघुकथा सङ्ग्रह उनले साथै लगेका थिए । स्रष्टा वा पाठकका लागि साथी वा सहयात्री जे भनौं यिनै पुस्तकहरू त हुन् । नेपालीको कथा सङ्ग्रहले उनलाई कथाको स्वरूप र शैलीका बारेमा सिकायो । त्यसो त लक्ष्मण पहिलेदेखि नै कथा नपढ्ने र नलेख्ने व्यक्ति कहाँ हुन् र तथापि जगदीशको सङ्ग्रहले उनको कथाकार व्यक्तित्वलाई सल्काउने र उजिल्याउने काम गर्यो, मैनबत्तीका लागि सलाईको काँटीजस्तै ।
त्यहाँ एक–दुई घण्टामै दिनभरिको काम सकिन्थ्यो त्यसैले समयको यथेष्ट उपयोग गर्न पाए उनले । ढाका प्रवास यसरी उनका लागि कथासृजनको उर्वर अवसर सिद्ध भयो ।
समाजमा भएका विसङ्गति, विकृति र राजनीतिका विद्रुप पक्षलाई लक्ष्मणले आफ्ना कथामा जीवन्त र सशक्त रूपमा प्रतिविम्बित गरेका छन् । समाजको दारुण परिवेश र उहापोहलाई जस्ताको तस्तै उतारेका छन् उनले आफ्ना कथामार्फत । सँगसँगै तीक्ष्ण व्यङ्ग्य र हास्य सरोबरी पस्कन सक्नु उनका कथाका मुख्य वैशिष्ट्य हुन् ।
विसङ्गति र विकृतिले नै व्यङ्ग्य जन्माउँछ । यही व्यङ्ग्यलाई साहित्यका कुनै विधामा पनि प्रयोग गर्न सकिन्छ । मैले यही गरें’, लक्ष्मणकै शब्दमा ‘म मुड छैन भनेर महिनौं र वर्षौंसम्म पर्खेर बस्तिन । जुन विषयले मनमस्तिष्कलाई फिलिङ्गाले झैं पोल्न थाल्छ, त्यसैलाई शब्दमा उतार्ने प्रयास गर्छु । अनि लेख्नुपर्ने विषयमा चिन्तन गर्छु ।’
ढाकाबाट फर्किएलगत्तै उनले हवाइपत्रमा कथा संग्रह प्रकाशित गरे । ‘मेरो व्यथाका चौध कथा’ हवाइपत्रमा कथासङ्ग्रह प्रकाशित गरेर उनले यस क्षेत्रमा नौलो प्रयोग गरेका छन् । प्रसिद्ध भाषाशास्त्री स्वर्गीय डा नरेन्द्र चापागाईले यसमा भूमिका लेखेका छन् ।
नेवटियाको मूल परिचय भने हास्यव्यङ्ग्य कविका रूपमा स्थापित छ । उनका हास्यव्यङ्ग्य कवितासङ्ग्रह ‘लक्ष्मणका कुतकुती’ र ‘व्यङ्ग्यधाम’ नेपाली वाङ्मयका पठनीय र सङ्ग्रहणीय कृतिमध्ये पर्दछन् ।
लक्ष्मणको मातृभाषा नेपाली होइन । जातीय पहिचानका रूपमा उनी मारवाडी समुदायका हुन् र उनको मातृभाषा पनि मारवाडी नै हो । यसरी विभाषी भए पनि नेपाली भाषाको साहित्य सिर्जनामा उनको हस्तक्षेप सशक्त र प्राञ्जल छ । गाउँसमाज, राष्ट्र र अन्तर्राष्ट्रका दैनन्दिनी, समसामयिक कुण्ठा, विद्रोह र आक्रोशलाई उनी सुललित शब्दसंयोजन गर्नसक्छन् तर नारावादी नभई । कोमल पदावलीमा तीक्ष्ण र सूक्ष्म क्रान्तिचेत उनका कविताको अर्को प्रवृत्ति हो ।
विम्बात्मक अभिव्यक्तिलाई पनि सुबोधगम्य र सम्प्रेषणीय बनाउने उनको काव्यकला अद्भुत अपितु सराहनीय छ । विभाषामा समेत सुललित रचना गर्नसक्ने उनले आफ्नै मातृभाषामा गर्न नसक्ने त कुरै भएन । यस अतिरिक्त उनको लेखनी हिन्दी साहित्यमा पनि भूरिभूरि क्रियाशील छ ।
उनका व्यङ्ग्य रचनाले समाज र राष्ट्रका ठालु वर्ग, शासक–प्रशासक, सामन्त र कालोबजारियालाई त अवश्य घोच्तछन् र पेच पार्दछन् तर निर्दोष जनता, आम पाठक र समीक्षकलाई भने यथेष्ट आनन्द प्रदान गर्दछन् ।
उनले सुनाए, ‘मानवताको पीडा कम गर्न हामीले लेख्नुपर्छ । साहित्य मानवकल्याण र हितका लागि हुनुपर्छ भन्ने विषयमा हामी सदैव सचेत र क्रियाशील हुनुपर्दछ । हरेक व्यक्तिका आ–आफ्नै रुचि, सौख र क्षमता हुन्छन् । कोही सुरापानमै आफूलाई मस्त राख्न चाहन्छन्, कोही धन कमाउनै मात्र तल्लीन हुन्छन् तर मलाई त साहित्यले नै तान्यो । जिन्दगीको अम्मल नै यही भयो ।’
हाइकूका दुई पङ्क्तिमात्र निर्माण भएर तेस्रो नफुरेका बेला उनको काव्यप्रसव उनकै लागि व्याख्यातीत हुने गर्छ । त्यो एक पङ्क्तिका लागि धेरै पटक राति २ बजेसम्म उनी सुतेका छैनन् ।
श्रीमतीले किन ननिदाउनु भएको भनेर थुप्रै रात प्रश्न गरेकी छन् । उत्तर दिन हिच्किचाउँछन्, संभवतः विफलताको सन्देश प्रवाहित होला भनेर । तर राति दुई–अढाई बजेतिर तेस्रो पङ्क्ति हृदयमा टुसाएपछि पत्नीले चाल नपाउने गरी खुसुक्क डायरीमा लेख्छन् र सन्तोषले निदाउन खोज्छन्, नवप्रसूताझैं । हाइकूजस्तै उनले अति लघुकथा पनि लेखेका छन् ।
लक्ष्मणका अनुसार रचनाको विषयवस्तु खोज्न वाहिर जानै पर्दैन । हामीसितै, हाम्रै वरिपरि र हाम्रैछेउ असङ्ख्य छन् । केवल तिनलाई सृजनाको साँचोमा हालेर कल्पनाको रङले सजाउनु चाहिं आवश्यक छ, ढलौटको मूर्ति बनाएजस्तै ।
उनको प्रतिभा बहुआयामिक छ । नेवटियाले पत्रकारिता गरेका छन् । जैनधर्मी उनले श्रीमद् भगवद्गीताको काव्यात्मक अनुवाद गरेका छन् ।
आदर्श निर्माण मन्दिरजस्तो संस्थाको स्थापना गरेर वयसन्धिका र नवयुवालाई असल मार्ग देखाएका छन् । पञ्चायतकालमा नगरपञ्चायतको तीन कार्यकालसम्म वडासदस्य भएर सुधारका लागि सङ्घर्ष गरेका छन् । समग्रमा भन्नुपर्दा विराटनगरको साहित्यिक र सामाजिक आलोकमा उनी एक अपरिहार्य र उज्ज्वल नक्षत्रका रूपमा गतिशील छन् ।
यसैबीच विराटनगरबाट प्रकाशित हुने ‘उद्घोष´ दैनिकमा उनले सुरु गरेको ‘लक्ष्मणको कुनो’–ले १ हजार आवृत्ति पूरा गरेको छ । यो सहस्र पारायण उनको वन्दनीय पुरुषार्थ र उपलब्धि त हुँदै हो, यसले नेपाली साहित्यभण्डारलाई पनि त्यत्तिकै गौरव र वैभवशाली बनाएको छ । वाङ्मयको उपवनमा उनले फुलाएका सुन्दर फूलहरूको सौरभ युगयुगसम्म जीवन्त रहनेछ ।
गीताग्रन्थका अनुवादक मात्र नभई साधक समेत रहेका कर्मशील, असल पुरुष र साहित्यका अथक उपासक नेवटियालाई यस उमङ्ग र खुसीका अवसरमा गीताकै श्लोकांश पैंचो मागेर शुभकामना र बधाई दिन्छु– ‘योगः कर्मसु कौशलम् ।’
(आर्थिक अनलाइन पत्रिका ‘बिजमाण्डू डटकम’ मा कार्यरत न्यौपाने साहित्यिक विधामा पनि कलम चलाउँछन् ।)
View : 181
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved