कोशी प्रदेश सभामा प्रधानमन्त्री
विराटनगर । कोशीका विपक्षीको ‘कन्सर्न’ लाई मुख्यमन्त्री हिक्मत कार्कीले ‘सकारात्मक रुपमा सम्बोधन गर्ने’ प्रतिबद्धता जनाएको भन्दै माओवादी र एकीकृत समाजवादी आज प्रदेशसभामा हुने प्रधानमन्त्रीको सम्बोधनमा सहभागी हुने भएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेशसभा बैठकलाई मंगलबार दिउँसो २:३० मा सम्बोधन गर्ने कार्यक्रम छ । आजकै प्रतिनिधिसभा बैठकमा प्रमुख विपक्षी नेता माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम छ । गएको माघ २४ मा आफूले संसद्लाई सम्बोधन गरिरहँदा प्रधानमन्त्री उपस्थित नभएकोमा आक्रोश प्रकट गरेका प्रचण्डले आज बोल्दा पनि प्रधानमन्त्री भने अनुपस्थित नै रहने भएका छन् ।
कोशीमा विपक्षीहरुलाई मनाउने क्रममा मुख्यमन्त्री हिक्मत कार्कीले मंगलबार बिहान माओवादी नेता इन्द्र आङबोसँग छलफल गरेका थिए ।
‘विपक्षीहरुको तर्फबाट आज बिहान मैले मुख्यमन्त्रीसँग छलफल गरेँ, हाम्रो कन्सर्नलाई उहाँले सकारात्मक रुपमा लिँदै सम्बोधन गर्ने बताउनुभएको छ’, माओवादी संसदीय दलका नेता इन्द्र आङ्बोले भने ‘अहिले हामी विपक्षी दुई दल केहीबेरमा बैठक बस्दैछौं । त्यसपछि औपचारिक रुपमा के गर्ने निर्णय लिन्छौं ।’
नेता आङ्बोले बैठकको औपचारिकता पूरा गर्नु अघि नै मुख्यमन्त्रीलाई आफूहरु बैठकमा सहभागी बन्ने जानकारी दिइसकेका छन्। मुख्यमन्त्रीले प्रदेशका विपक्षीको आवाज नसुनेको, प्रधानमन्त्रीकै सम्बोधनबारे पनि कुनै छलफल नगरेको भन्दै विपक्षी दुई दलले बैठक बहिष्कारको चेतावनी दिएका थिए। दुई दलले यस्तो धारणा राखेपछि मुख्यमन्त्री कार्कीले सोमबारदेखि संवाद थालेका थिए ।
माओवादी र एकीकृत समाजवादीले प्रधानमन्त्रीले आफूहरुलाई ‘घोचपेच नगर्ने गरी बोल्नुपर्ने’ शर्त मुख्यमन्त्रीमार्फत प्रधानमन्त्रीलाई पठाएका थिए । मुख्यमन्त्रीले त्यसको ग्यारेन्टी आफूले लिने वचन आङ्बो र पूर्व मुख्यमन्त्री राजेन्द्र राईलाई दिएको दुवै नेताले जानकारी दिएका छन् ।
सत्तारुढ एमाले र कांग्रेसले प्रधानमन्त्रीको सम्बोधन बैठकमा अनिवार्य उपस्थित हुन ह्वीप गरेका छन् ।
View : 140
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved