Biratnagar, Morang, Nepal
२८ फागुन २०८१, बुधवार
+977 21 450305, 515728, 578305
मनोरञ्जन

बाका कथा र जेठाजु-बुहारी

हजुरबा हजुरआमा हामीले देख्ने सौभाग्य पाएनौ । मावली हजुरआमा मात्र देख्ने अवसर पाइयो । बाका कथाहरू सुन्दा हामीलाई मज्जा लाग्दथ्यो ।
माधव अधिकारी
२७ फागुन २०८१, मङ्गलवार

मेरा बा केटाकेटीसँग असाध्यै रमाउने खालको हुनु हुन्थ्यो । मेरा दुई भाइ छोरासँग खेल्नु हुन्थ्यो । कथा सुनाउनु हुन्थ्यो । यिनीहरू रामलक्ष्मण हुन् भन्नु हुन्थ्यो । छोराहरू सानै थिए, बाका कथाहरू र कहानीहरू टिप्ने बेला यिनीहरूको भैसकेको थिएन । तर पनि केटाकेटीलाई असाध्यै यिनीहरूको माया गर्ने र बिभिन्न खेल खेलाएर मनोरञ्जन दिलाउने  मेरा बा आज हामीसँग हुनुहुन्न त्यसैले ‘बूढा मर्यो कुरा सर्यो’ भन्ने नेपाली भनाइ अहिले पनि सत्य सावित भएको छ ।  बुढापाकासँग अथाह अनुभव हुन्छ त्यो अहिलेको पुस्ताले लिन सक्नुपर्दछ ।

बाका कथाहरू सुन्न हामी पनि उत्सुक हुन्थ्यौं किनभने त्यतिबेला हाम्रो अभिभावक पनि बा  नै हुनुहुन्थ्यो । हजुरबा हजुरआमा हामीले देख्ने सौभाग्य पाएनौ । मावली हजुरआमा मात्र देख्ने अवसर पाइयो । बाका कथाहरू सुन्दा हामीलाई मज्जा लाग्दथ्यो । त्यतिबेला गाउँघरमा रमाउने, मनोरञ्जन गर्ने भनेको साथीभाइसँग कपर्दी, डण्डिबियो, लुकिडुम, टोपी लुकाइ र गट्टा, बाघचाल र गेम (गेम भनेको ढुंगा खप्ट्याएर बनाएको चुलीलाई मोजाको डल्लोले लडाउने खेल) (पूर्व भोजपुरतिर यसलाई पिट्टू भन्दा रहेछन्) थियो । कि त वन जंगलमा गाईबाख्रा छोडेपछि साथीभाइसँग खेल्नु सिवाय के थियो र ? 

बाका कथामध्ये मलाई केही कथामात्र मानसपटलमा छन् । एक दिन हामीलाई बाले सुनाउनुभयो, मान्छेको भाग्य जन्मेको छैटौं दिनमा भावीले लेखेर जान्छन् रे । त्यो कसरी हो भनेर हामीले प्रश्न गर्दा उहाँले यसरी उत्तर दिनुभयो । एक दिनको कुरा हो, को फलानु जन्मदा कपी र कलम बच्चाको छेउमा राखेर मुलढोकामा ढुकेर बसेको र राति १२ बजे एउटा बढेमाको मान्छे आएर बाटो छोड् भनेछ ।

त्यो ढोकामा बस्ने मान्छेले ‘म छोड्दिन तँ को होस् भनेर सोध्दा म भावी हुँ यो बच्चाको भविष्य लेख्नुछ’ भनेछ । ‘ए त्यसो भए के लेख्छन् भन अनिमात्र बाटो छोड्छु’ भनेछ । तर, भावीले त्यो भन्न मिल्दैन भने छन् । त्यो ढोकामा बस्नेले पनि जिद्दी गरेछ, नभन्ने हो भने छोड्दिन भनेर केही नलागेपछि भावीले भनेछन् ‘म लेखेर फर्किन्छु अनि भनौला’ भनेर बाटो छोडेछ ।

भावी फर्केर आयो र फेरि बाटो त छोडेको छैन,  छोड बाटो भनेछ ।  ‘ए अघि सर्तमा बाटो छोडेको थिएँ’ भनेपछि भन्ने भावीले ‘भन्न नमिल्ने हो, ल भन्दिन्छु तर यो कसैलाइ नभन्नु है’ भन्ने सर्तमा भनेछन् ‘लिंडे गोरु’ भनेर ‘त्यति मात्र लेखेको हो, त्यही हो’ भनेर भावी हिंडेछन् । पछि समय बित्तै गयो, बच्चा बढ्दै गयो, गाउँमा त्यही त हो धेरै सन्तान हुने बढ्दै गए, अलि अलि पढ्दै पनि गए, मुख्य पेशा भनेको त्यो जमानामा कृषि नै थियो । त्यो केटो लाठे भयो दाजुभाइ आ-आफ्नो गरी खाने पनि भए । 

एकदिन ती गाउँका मान्छे भनौ छैटौं दिनमा ढोकामा बस्ने मान्छेलाई झल्यास्स याद आएछ, होइन त्यो भावीले छैटौं दिनमा भनेको मान्छेको खबर के रहेछ भनेर बुझ्न मन लागेछ त यसो घरतिर गोठतिर गएर बुझेछन् । घर पनि ठिकै छ, गोठतिर गएर हेरेछन् गोठमा त लिंडे गोरु लिठीलिठी पुच्छर हल्लाउँदै छ, अनि छक्क परेछन् हैट ! मलाई लिंडे गोरु भनेको थियो त्यही छ, अनि त्यो बालक (माइलो) पनि आएछ र उनले त्यसलाई सोधेछन्, ए माइला † होइन गोरूको पुच्छर खै ? उस्ले उत्तर दिएछ, ए काका मेरो पहिले देखि नै यस्तै छ । ‘अनि कसरी ? यो ल्याउँदै यस्तै थियो ?’ ‘धैरै पो भयो डाँडाघरे ठाइलाको तारे गोरुसँग पाटे बाँधेको छु । मेरो गुजारा त यही लिंडेपो छ है काका’ भनेर जवाफ दिएपछि बूढा तिनछक्क परेछन् ।

भावीले लेखेको पुग्दो रहेछ भनेर बूढा आफ्नो घरतिर लागेछन् । सुन्नेलाई सुनको माला भन्नेलाई फूलको माला भनेर मेरा बाले त्यो दिनको कथा सक्नुभयो । बाले अर्को दिन हामीलाई सुनाएको कथा थियो, रामेछाप चिसापानीमा एकजना घिमिरेबा राति पिसाब फेर्न घरबाहिर निस्केर घुर्यान नजिकै के बसेका मात्र थिए रे एउटा वन झाँक्री आएर च्याप हात समाएर सिस्नुघारी, काँडाघारी घारी हुँदै कुदाएर तल तामाकोशी नदीमा पुर्याएर चिसो पानीमा तिनताली चोबलेर पठाएछ । अन्धकार रातमा दुई घण्टाको बाटो घिमिरेबा लड्दै पढ्दै उकालो लागे छन् । 

बीच बाटोमा रहेको जिम्बलबाको धन्सारमा रात बिताएर बिहानी पख चिसापानी गाउँ पुगेछन् । घिमिरे बाको गल्ती भएको के रहेछ  भने बेलुका कोदाको पिठो मुछेको भाँडो सफा नगरी राखेको कारण आधा रातमा उठेर त्यो भाँडाको पानी पनि फ्याक्नु पर्यो भनेर भाँडो हातमै लिएर बाहिर के निस्किएका थिए, च्याप्पै  हात समाएर गुटुुटु कुदाएछ त्यो वनमान्छे हो वा केहीले कोशीमा पुर्याएर नुहाएर पठाएको भन्ने बाको कथाबाट बुझिन्छ । सुन्नेलाई सुनको माला भन्नेलाई फुलको माला यो कथा भन्ने बेलामा मेरो मुखमा आइजाला । 

मलाई पछि मात्र यस कथाको अर्थ के लाग्यो भने बेलुका सुत्नुअघि घर भित्र जुठा भाँडाहरू राख्नु हुँदैन । भान्छाको काम सकेर चुलोमा सफा भाँडोमा शुद्ध जल राख्नु पर्छ भन्ने एउटा पाठ यो कथाले सिकाएको छ । त्यस्तै भाग्यको कुरा पनि असल कर्म नियमित गरिरहनुपर्छ भाग्य त लेखिएर आएकै छ । कर्म गर्न छोड्नु हुँदैन । मलाई मेरा बा सबैभन्दा जान्ने लाग्थ्यो । बालाई नआउने केही छैन जस्तो लाग्थ्यो । बासँग हामीले राखेका सबै जिज्ञासाको उत्तर थियो । 

हाम्रो घरबाट पारीपट्टि एउटा ठूलो बढेमाको हिमाल देखिन्थ्यो अनि बाले त्यो हिमाल हामीलाई देखाएर भन्नुभएको थियो गौरा पार्वता भनेर । एउटा बढेमाको हिमाल अगाडि ठिङ्ग उभिएको जस्तो अनि छेउमै घुम्टो मारेझै अर्को अलि सानो देखिन्थ्यो । त्यो किन त्यस्तो भनेर भन्दा हामीलाई फुपू  दिदीले भन्नुहुन्थ्यो ‘त्यो घुम्टो मारेकी बुहारी हो, त्यसको अगाडि ठिङ्ग उभिएको जेठाजु हो । एक दिन घर गर्न नसकेर माइत भागेकी बुहारी फर्काउन जेठाजु गएछन्, बाटोमा बुहारीलाई भेटेपछि बुहारीको अगाडि गएर जेठाजु उभिएपछि बुहारीले घुम्टो हालिछन् । त्यसैले यो हिमाललाई जेठाजु बुहारी हिमाल भनिएको हो’ भनेर हामीलाई सानोमा बताइएको थियो ।

पछि ठूलो भएपछि बुझियो फुपूले भनेको जेठाजु बुहारी हिमालको नाम गौरीशंकर रहेछ । यो हिमाल ७,१३४ मिटर अग्लो दोलखा जिल्लामा पर्दछ । त्यसैले त्यतिबेला जेठाजु आएपछि बुहारीले ओड्नेले वा फरियाको सप्कोले भए पनि कपाल ढाक्ने चलन थियो । 

View : 93

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved