१३ औं दीक्षान्तमा ८ हजार १ सय ५० विद्यार्थी दीक्षित
गोठगाउँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वाञ्चल विश्वविद्यालयले छोटो अवधिमा धेरै प्रगति गरेको भन्दै चाँडै ब्यवस्थित मेडिकल कलेज सञ्चालन हुने बताएका छन् ।
पूर्वाञ्चल विश्वविद्यालयको १३ औं दीक्षान्त समारोहलाई सम्बोधन गर्न मोरङको सुन्दरहरैंचा स्थित गोठगाउँ पुगेका ओलीले कोशी प्रदेशमा रहेको पूर्वाञ्चल विश्वविद्यालय भनेको ज्ञानको केन्द्र र गौरवको रहेको उल्लेख गरे ।
कृषि स्कुल अफ एग्रिकल्चर र हेल्थ एन्ड साइन्सको नया भवन समेत उद्घाटन गरेका ओलीले अब विश्वविद्यालयले छिट्टै मेडिकल कलेज सञ्चालन गरेर थप प्रगति हासिल गर्दै जाने दावी गरे ।
हिजोको गोठगाउँ आज विश्वविद्यालय बनेको बताउँदै उनले यो विकास नभएर के भएको हो त ?’, भन्दै प्रश्न गरे । उनले आफू सरकारको प्रमुख पनि भएका कारणले विश्वविद्यालयको उन्नति प्रगतिको लागि सधैं साथ र सहयोग रहने प्रतिबद्धता जनाए ।
विद्यार्थीलाई पाठमा मात्रै केन्द्रित नभई ज्ञानको ब्यवहारिक सीप हासिल गर्नमा लाग्नु पर्नेमा जोड प्रभानमन्त्री ओलीले दिए । विद्यार्थीलाई पलायन नहुन आग्रह गर्दै यो काम म गर्न सक्छु, देश बनाउन सक्छु, पलायन हुने हैन भन्ने भावनाका साथ लाग्न आग्रह गरे ।
दीक्षान्त समारोहमा विभिन्न संकायका ८ हजार १ सय ५० विद्यार्थी दीक्षित भएका छन् । जसमा कला संकायका २ सय ४, कानुनका संकायबाट ४ सय ७, शिक्षाशास्त्र संकायका ९ सय ६, व्यवस्थापन संकायका दुई हजार २ सय ४९ विद्यार्थी दीक्षित भएका छन् ।
चिकित्साशास्त्र संकायका दुई हजार १ सय ९८, विज्ञान तथा प्रविधि संकायका ६ सय ५४ तथा इञ्जिनियरिङ संकायका एक हजार ४ सय ४२ विद्यार्थीसमेत दीक्षित भएका छन् ।
View : 230
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved