सांकेतिक तस्वीर ।
विराटनगर । फूलैफूलले ढाकिएको घरआँगनमा जब दियो र बिजुली बत्तीको उज्यालो थपिन्छ त्यसले तिहार सुरु भएको संकेत दिन्छ । जब घरआँगनमा देउसीभैलीको सुमधुर भाका गुञ्जिन्छ, त्यसले यो उज्यालो पर्वको मर्ममा छुट्टै प्राण भर्छ ।
उज्यालो पर्व तिहार देउसीभैलोको भाकामा युगौंदेखि गुञ्जिरहेको छ ।
संस्कृतिविद्हरुका अनुसार देउसीभैलोको भाकाकै कारण तिहार मिठो सांगीतिक चाड पनि बन्दै आएको छ । मोरङका संस्कृतिकर्मी खेम नेपाली तिहारको सबैभन्दा ठूलो उमङ्गको पक्ष चेलीमाइतीको मिलन हुने भए पनि देउसीभैलोले आपसी प्रेम, सद्भाव र स्नेह बाँड्ने काम गर्ने बताउँछन् ।
उनका विचारमा तिहारको बहुआयामिक महत्व छ । ‘चेलीमाइतीको मिलन, यसको उज्यालो अनि देउसीभैलोको भाका’ ले तिहारको महत्व बढाएको उनको अनुभव छ ।
भर्खरै तोतेबोली बोल्दै गरेकाहरुदेखि पाकाहरुसम्मले सहजै गाउन सक्ने देउसीभैलोको भाका नेपालमा कहिलेदेखि सुरु भयो ? इतिहासकार तथा संस्कृतिकर्मीहरुको यसमा फरक मत छ ।
यद्यपि ऐतिहासिक तथ्य जे–जस्तो भए पनि नेपाली समाजको तिहारलाई देउसीभैलोले सधैं आकर्षित गर्दै आएको छ । युगौंसम्म यसैगरी तरंगित पारिरहने छ ।
इतिहासकार ज्ञानमणि नेपालले आफ्नो पुस्तकमा उल्लेख गरे अनुसार देउसीभैलोको परम्परा पुराणकालीन बलि राजाका पालादेखिसुरु भएको हो ।
‘जात्रा मात्र यो दिनदेखि सुरु भयो भन्ने हुन्छ । पर्वहरु कहिलेदेखि सुरु भयो भन्ने हुँदैन’, नेपालले लेखेका छन् ‘जुम्लाका बलि राजाले देउसीलाई कर उठाउने माध्यमको रुपमा उपयोग गरे होलान् तर उनकै पालादेखि देउसी सुरु भएको भन्ने प्रष्ट आधारचाहिं भेटिएको छैन ।’ संस्कृतिविद् डा जगमान गुरुङ भने बलि राजालाई पौराणिक कालको नभइ लिच्छविकाल पछिको राजा मान्छन् ।
उनले भनेका छन् ‘ती बलि राजा पौराणिक नभएर नेपालका राजा नै हुन् । एक हजार बर्षअघि, पूर्व मध्यकालमा यो चलन आएको हो ।
लिच्छवीकाल सकिएपछि पश्चिम नेपालमा बलि राजा आए । त्यसबेला ‘सहपाद्य लक्ष स्वदेश’ भनिन्थ्यो । यो भनेको सवा लाख मान्छे भएको देश । त्यो खस राज्य अवसान भएपछि जुम्लामा बलि राजा आए ।’
लक्ष्मीपूजाको साँझबाट सुरु हुने ‘भैलिनी आइन् आँगन’को धुन गोरुतिहारको बिहान पुग्दा ‘आहै झिलिमिली, झिलिमिली देउसिरे’ मा परिणत भइसकेको हुन्छ । लक्ष्मीपूजादेखि भाइटीकासम्म देउसी खेलिने चलन रहे पनि कतैकतै एकादशीसम्मै तिहारको नाच जारी रहेको पाइन्छ । कति दिन देउसी खेल्ने भन्नेमा पनि लोकसंस्कृति क्षेत्रका अध्येताहरु एकमत छैनन् ।
लोकभाकाका अध्येता सुबि शाहले आफ्नो पुस्तक ‘नेपाली लोकगीतको झलक’ मा चाहिँ देउसी भाइटीकाको दिन सामुहिक रुपमा खेलिने गाथा हो भनेका छन् ।
पुस्तकको पृष्ठ नम्बर ६७ मा उनले लेखेका छन् ‘ठाउँठाउँको चलनअनुसार भाइटीकाको दिन नखेलेर अघिल्लै दिन खेलेको पाइन्छ । तर देउसिरेको मुख्य कहानी हेर्दा भाइटीकाकै दिन खेल्नु पर्ने देखिन्छ ।’
त्यसो त इतिहास कहिले पनि इतिहासकार र पुरातत्वविदहरूको तथ्यमा मात्रै सीमित हुँदैन । दुनियाँमा यस्ता कैयन घटना हुन्छन्, जसलाई इतिहासकारहरूले बुझ्न र दुनियाँलाई बुझाउन किम्बदन्तीको सहारा लिन्छन् ।
किम्बदन्ती भनेको प्रमाणित इतिहास होइन तर यो त्यसै बन्दा पनि बन्दैन । किम्बदन्तीका पछाडि पुस्तौंपुस्तादेखि श्रुति परम्पराका आधारमा हस्तान्तरण हुँदै आएको संस्मरण जोडिएको हुन्छ । त्यो संस्मरणका पछाडि कुनै समयकालको वास्तविक घटना लुकेको हुनसक्छ ।
जसरी कुनै वास्तविक घटना एकले अर्कोलाई सुनाउँदा फूलबट्टा भरेर बढाइचढाइँ प्रस्तुत गरिन्छ, त्यसरी नै इतिहासको कुनै कालखण्डमा भएका घटना पुस्तान्तर हुँदै आउँदा फूलबुट्टा भरेर अलौकिक ढंगमा प्रस्तुत गरिएको हुनसक्छ । देउसीबारे पनि यस्ता केही किंवदन्तीहरु छन् ।
एउटा किंवदन्ती अनुसार ‘देउसिरे’ देवश्री रामबाट अपभ्रंश भएर आएको मानिन्छ । अयोध्यावासीले आफ्ना राजा रामको आगमनमा खुसीयालीमा दियो बालेका थिए । त्यो कालो रात दियोको उज्यालोले धर्ती जगमगाएको थियो ।
त्यसबेला भगवान रामको नाम पुकार्दै मानिसहरु घर, टोल घुमेका थिए । यही प्रचलन अहिले देउसिरेको रुपमा विकास भएको भन्ने कथन पनि पाइन्छ । अहिले पनि देउसी खेल्ने कतिपयले देउसिरेराम भन्ने गरेको पाइन्छ ।
देउसीबारे अर्को कथा पनि छ । बलि नामका एकजना राजा थिए, उनी अति नै दानी थिए । प्रत्येक दिन दान गरेर मात्र उनी आफु भोजन गर्थे ।
उनको यो पुण्यको कामले ठूलो ख्याति पायो । उनको प्रतापले स्वर्गलोक हल्लिन थाले । त्यसपछि देवताहरु भगवान्न् विष्णुलाई गुहार्न पुगे, बलीलाई दमन गर्नका लागि । विष्णुले वामनको रुप धारण गरे बलीलाई छल्न पुगे । र, तीन पाउ जमिन दानको याचना गरे ।
बलीले सोचे, ‘यो ब्राह्मण सानो छ र यसको पाउ पनि साना छन् । उनले थोरै जमिन माग्यो , दिउँ न त !’ उनले दान दिने संकल्प गरे । लगत्तै वामनको रुप विराट भयो । एउटै पाउले समस्त पृथ्वी ढाकिदियो । अर्को पाउले आकाश र तेस्रो पाउ पर्नसाथ बलि भासिएर पाताल पुगे । उनले अन्त्यमा विष्णुसँग प्रार्थना गरे कि बर्षमा एक पटक तिहारको बेला पृथ्वी घुम्न पाइयोस् । यसलाई स्वीकार्दै विष्णुले बलिलाई बर्षमा एक पटक पृथ्वीमा घुम्ने अनुमति दिए ।
अतः उनै बलि राजा तिहारको दिन घुम्न आउने धार्मिक विश्वाससहित दीप प्रज्वलन गर्ने, देउसी भैलो खेल्ने गरिन्छ । देउसेहरु बलि राजा आउन नभ्याएको र आफूहरु बली राजाको हुकुम अनुसार आएको भन्दै देउसी भट्याउने गर्छन् ।
संस्कृति विषयका अध्येता सागर पुडासैनीले लेखेका छन् ‘तथ्यहरुबारे एकमत कोही नभए पनि देउसीभैलो पुस्तौपुस्तादेखि चलेको संस्कृतिको एउटा मुख्य पाटो हो, जसले तिहारलाई रमाइलो र आकर्षक पर्वका रुपमा स्थापित गरेको छ ।’
View : 238
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved